जुम्ला—कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा नेत्र रोग विभाग स्थापना गरिएको छ । प्रतिष्ठान स्थापना भएको डेढ दशकपछि जुम्लामै ‘नेत्र रोग विभाग’ स्थापना गरिएको हो ।
आइतबार विश्व प्रसिद्ध आँखा चिकित्सक डा. सन्दुक रुइतले प्रतिष्ठानमा स्थापना भएको नेत्र रोग विभाग उद्घाटन गरेका हुन् । लामो समयदेखि निरन्तर प्रयास पश्चात आँखा विभाग सञ्चालनमा ल्याउने सकिएको प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले बताए ।
‘विश्व प्रसिद्ध आँखा चिकित्सक रुइत र तिलगंगा आँखा अस्पतालको सहकार्यमा वर्षौपछि डेढ करोेड रुपैयाँका उपकरणसहित जुम्लामै आँखा अस्पताल सञ्चालनमा ल्याउन सफल भएका छौं,’ उनले भने ।
तिलगंगा आँखा अस्पताल, फ्रेड हलोज अस्ट्रेलिज पार्टनरले केही सामाग्री सहयोग गरेपछि आँखाको उपचार जुम्लामा थालिएको हो । ‘समुदाय र स्कुलमा आँखा स्क्रिनिङ गर्ने छौं । माथिल्लो कर्णालीमा देखिने आँखाका समस्याको समाधान अब प्रतिष्ठानले नै गर्नेछ,’ डा. रावलले थपे ।
विश्व प्रसिद्ध आँखा चिकित्सक डा. रुइतले जुम्लामै आँखाको उपचार सुरु हुनु निकै सुखद् पक्ष भएको बताए । उनले भने, ‘जुम्ला हुम्ला पुगेर सयौलाई आँखाको ज्योती फिर्ता गर्न पाउँदा खुसी छु । नियमित सेवा प्रवाह भएको खण्डमा वर्षमा दुई हजारको आँखाको मोती विन्दु शल्यक्रिया हुनेछ ।’ डा. रुइतले दुर्गममा बढ्दो आँखाको समस्यालाई मध्यनजर गर्दै जुम्लामै आँखा अस्पताल सञ्चालनमा ल्याइएको बताए ।
आँखा विभागको संचालनसँगै अब जुम्लामा आँखाको उपचारका लागि शिविर कुरेर बस्नुपर्ने अवस्थाको समेत अन्त्य भएको प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतले बताए । ‘अब प्रतिष्ठानले अन्य स्वास्थ्य सेवासँगै नेत्ररोग सेवा पनि नियमित सेवा प्रवाह गर्नेछ,’ उनले भने ।
यसअघि जिल्लाको डिल्लीचौर, नराकोट, लामाबगर र गोठीगाउँमा संचालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ६ सय जना नागरिकको आँखा परीक्षण गरिएको थियो । शिविरमा आँखा परीक्षण गरेका ६ सय जनामध्ये रेफर भएर आएका ११७ जनाको २२–२४ भदौंमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान आँखा अस्पतालमा मोतिविन्दु शल्यक्रिया गरिएको थियो ।