२०८१ पुस ६, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारमिर्गौला लिएको बदला, एक गोठालो यात्रा

मिर्गौला लिएको बदला, एक गोठालो यात्रा


मनुष्य जीवनको सार उद्देश्य बाँच्नु मात्रै हो वा कर्तव्य निर्वाह गर्नु हो ? सन्तुष्टिको मुल स्रोत कहाँ हुन्छ ? व्यक्तिको कुन अहम् पूरा भए पश्चात भागिरहने मन चंगा हुने हो ? त्यसैले त भनिन्छ, ‘सन्तुष्टिको सिमा रेखा हुँदैन्, त्यो रेखा मनले कोर्ने रेखा हो ।’

लुम्बिनी प्रादेशिक अस्पतालको गेटमा एकजना अधबैंसे महिला थिलथिलिएको व्हिल चियरमा बसेका आफ्ना थलिएका श्रीमानलाई हतार—हतार गर्दै भित्र प्रवेश गर्दै छिन् । त्यो दृश्यमा मेरा आँखा उनको च्यातिन लागेको चप्पल, रौनक हराएको चेहरा र उमेर नहुँदै जीर्ण भएका श्रीमानमा पर्छ । उनको शरीर भर्खरै अगेनाको खारानीले धोइसिएको जस्तो देखिन्छ । ती दम्पतीको यात्रा डायलाइसिस भवनतिर हुनुपर्छ भनेर अनुमान लगाउन सकिन्छ ।

स्पष्ट हुनका लागि सोध्छु, ‘आमा, कता जान लाग्नुभएको ?’

उनले भन्छिन्, ‘डैलाइसिस गर्ने पालो हो । समय कटेपछि पाइन्न । अबेर भयो ।’

उनको पछि—पछि हिँड्दै गर्दा मान्छेको बाँच्ने इच्छा र सम्भावित मृत्युुमा हुने संघर्ष पनि साथमा हिँडेको आभास हुन्छ । मैले सोध्छु, ‘कहिलेबाट हो ?’

‘एक वर्ष हुन लाग्यो । बुढाको ड्युटी गरेर बसेको । खेत जमिन पनि सकियो । डाक्टर भन्छन्, उहिले बुढाले सुगर, प्रेसरको औषधि नखाएर यस्तो भाको रे ।’

डायलाइसिसको पालो कुर्दाकुर्दै र भौतारिँदै बल्ल नियमित डायलाइसिसको समय प्राप्त गरेका रहेछन् । उनको गोठालो यात्रा प्रारम्भ भएको करिब एक वर्ष हुन लागेको रहेछ । हप्तामा दुई पटक डाइलाइसिस नगरे उनको श्रीमानको इहलिला समाप्त हुने निश्चित नै छ ।

बाँच्ने आशाका लागि उनकी श्रीमतीले यसैगरी अस्पताल ल्याउने लैजाने क्रम चलिरहन्छ । खानुपर्ने ७–८ थरीका औषधि, हप्तामा दुई पटक डाइलाइसिसले गर्दा उनको जीवन नै श्रीमानको रेखदेख गर्नका लागि गोठालो बसेको देखिन्छ ।

एउटा अमिलो समयको बन्धनमा बाँधिन पुगेको छ—उनको जीवन । उनका लागि स्वस्थ भएर अस्पतालको घनचक्कर खान नपरे हुन्थ्यो भन्ने मात्रै आशा छ । भने एउटा स्वस्थ व्यक्तिका लागि अनेकौं महत्वकांक्षाहरु जेलिएका हुन्छन् । उनको घर सम्पत्ति जे जति छ, सबै प्युठानमा छ ।
तर, श्रीमानको डाइलाइसिस गर्नका लागि मात्रै नजिकै भाडामा बस्न परेको छ । कमाइ रोकियो, रोजगारी हरायो, खर्च चुलियो, स्वास्थ्य जीर्ण भयो । यो भोगाइको पीडा बुझ्न सक्नुहुन्छ त ?

डाइलाइसिस मिर्गौला फेल भएका व्यक्तिलाई गरिन्छ । मिर्गौलाको कृत्रिम कार्य गर्नका लागि विकास भएको प्रविधि नै डाइलाइसिस हो । जुन सुन्दा पढ्दा सामान्य लाग्छ । तर, भोग्ने व्यक्तिले मात्रै त्यसको पीडा अनुभव गर्न सक्छ । हरेक वर्ष मिर्गौला फेल हुने बिरामीहरु थपिँदै गएका छन् ।

सोही अनुपातमा डाइलाइसिस सेवा पु¥याउन भने निकै हम्मे—हम्मे परेको छ । नियमित डाइलाइसिस सेवा प्राप्त गर्नका निमित्त पालो कुर्नुपर्ने अवस्था छ । त्यो पालो कसैको इहलिला समाप्त भएपछि आउँछ अथवा मिर्गौला प्रत्यारोपण गरेपछि आउँछ । मिर्गौला फेल हुने कारक तत्वमा अनियन्त्रित मधुमेह अर्थात् सुगरको समस्या र रक्तचाप रहेका छन् ।

ती आमालाई एक महिनापछि फेरि एक पटक डिस्चार्ज काउन्टरमा भेटियो । यसपटक भने उनको श्रीमान भर्ना भएर डिस्चार्ज हुन लागेका रहेछन् । डिस्चार्ज काउन्टरका कर्मचारीले भन्छन्, ‘५०००० रुपैयाँ पुगेन, आमा ।’

आमाले भन्छिन्, ‘बिमा छ के हाम्रो । त्यही बिमाको बाट मिलाउनु ।’

काउन्टरबाट सम्झाउन खोज्छन्, ‘बिमाले १ लाखसम्म थेग्छ । तपाईंको त्यो सकिएर पनि ५०००० बाँकी छ ।’

उनले त्यो बुझ्न र काउन्टरबाट त्यो बुझाउन हम्मे—हम्मे भइरहेको थियो ।

मलाई मनमा लाग्यो—बिमाले पनि नपुग्ने कस्तो समस्या परेछ बरै ।’

उनीसँग पैसा जम्मा ३००० रहेछ । उनी अस्पतालबाट पनि डिस्चार्ज हुन सकेनन् । मेरो मानसपटलबाट पनि डिस्चार्ज हुन सकेनन् । मलाई पहिलो भेटमा मनमनै लागेको थियो । मिर्गौला प्रत्यारोपणको सल्लाह दिन्छु । तर, म यसपटक भने रोकिएँ ।

अध्ययनअनुसार नेपालमा मिर्गौला रोगका बिरामीहरु १२–२० प्रतिशतसम्म रहेको तथ्यांक छ । जुन भयावह मान्नपर्छ । यथार्थ र एकिन तथ्यांकका लागि राष्ट्रियस्तरको अध्ययन गर्नु निकै खाँचो छ । आधिकांश मिर्गौला रोग बिरामीहरुमा मधुमेह, रक्तचाप रहेको पाइन्छ ।

त्यो मिर्गौला रोगले ग्रस्त भएपछिको गोठालो यात्रा गर्न व्यक्ति, परिवार सबैलाई निकै कष्टप्रद छ । यदि कोही व्यक्ति स्वस्थ छ र नियमित औषधि खानुपर्ने अवस्था छैन भने सो जीवन निकै गुणस्तरीय जीवन मान्नुपर्छ । स्वास्थ जीवन सबैभन्दा श्रेष्ठ जीवन हो । स्वस्थ रहनु नै सन्तुष्टिको सबैभन्दा ठूलो कुरा हुनुपर्छ जस्तो लाग्छ ।

हरेक व्यक्तिमा हठ हुन्छ । केवल हठको मात्रामा फरक पर्ने हो । व्यक्ति जन्मने समयमा पनि कोही अलि जिद्दी नै हुन्छन् । व्यथा लामो लाग्छ । आमालाई पीडा बढी हुन्छ । कोही सरल तरिकाले अवतरण हुन्छन्, रुन्छन् । बच्चा रोएको आवाज नै मातृ हृदयलाई शितलता प्रदान गर्ने अमृत हो । हठ जन्मसिद्ध नै हुन्छ सायद । तर, स्वस्थ जीवनको लागि हठ कतिपय व्यक्तिमा देखिँदैन् ।

उनीहरुको हठ केवल औषधि खान नपरोस्, मदिरा सेवन गरिरहन पाइयोस्, खानपिन आदिमा कुनै बन्देज नहोस् भन्ने मात्रै हुन्छ । स्वस्थ जीवनलाई नै एउटा सन्तुष्टिको सिमा रेखांकन मनबाट कोरेर बाँकी सबै भौतिक र समाजिक प्रगतिहरु गर्नका लागि जीवनबाट आशा राख्न सके जीवन मधुवन हुन्छ । इच्छाहरुको पोको फुकाउँदा अप्राप्तिमा नैराश्यता हुँदा ती आमाको गोठालो यात्रा सम्झिँदा जीवन ज्ञान मिल्न सक्छ ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ