काठमाडौं—अस्पताल विकास समितिको सल्लाह बिना नै दुई महिनाअघि नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. मो. एनामुल हकले एकैपटक ४६ कर्मचारी निकालेपछि अस्पतालका सेवा नै अस्तव्यस्त भएका छन् । २१ जेठमा निमित्त मेसु हकले सूचना निकालेर एकैपटक ११ जना मेडिकल अधिकृत, १ जना दृष्टि विशेषज्ञ, १२ स्टाफ नर्स, ३ जना हेल्थ असिस्टेन्ट, १ जना बायोमेडिकल टेक्निसियन, ५ जना रेडियोग्राफर, १ जना फर्मेसी सहायक, ३ जना अहेब, ७ जना कार्यालय सहयोगी, २ जना स्वीपरलाई बर्खास्त गरेका थिए ।
निकालिएका कर्मचारीहरुको लिष्टमा ४६ जनाको नाम भएपनि ६० जना हाराहारीमा कर्मचारीहरु निकालिएको अस्पताल निकट स्रोत बताउँछ ।कर्मचारी अभाव भएपछि १८ शैय्याको अति संवेदनशील सघन उपचार कक्ष १० शैय्यामा झारिएको छ । ८ शैय्याको मुटु सघन उपचार कक्ष नै ताला बन्द अवस्थामा छ । मुटुजस्तो संवेदनशील अंगको उपचार हुने सो कक्ष बन्द हुँदा वीरगञ्जका निजी अस्पताललाई फाइदा पुगेको छ ।
२५ शैय्याको आकस्मिक कक्षको १० शैय्यामा मात्रै पूर्ण रुपमा संचालनमा छ । १५ शैय्या अव्जरभेसन राम्रोसँग संचालनमा छैन । दैनिक १ सयदेखि १५० बिरामी आउने आकस्मिक कक्ष एक जना चिकित्सक र २ जना हेल्थ असिस्टेन्टको भरमा संचालन भइरहेको छ । यसअघि ३ जना चिकित्सक र ४ जना हेल्थ असिस्टेन्ट रहेका थिए ।
केही समयअघि सुरु भएको २० शैय्याको पिएनसी सेवा बन्दकै अवस्थामा रहेको अस्पताल विकास समितिका अध्यक्ष धिरज गुप्ता बताउँछन् । निमित्त मेसुले आफूखुसी कर्मचारी निकालेसँगै एनआईसीयु १३ शैय्याबाट घटेर ८ शैय्याबाट मात्र सेवा दिने अवस्थामा पुगेको छ । पोष्टअपमा नर्सिङ स्टाफ कम भएका कारण दैनिक २० देखि २५ वटा शल्यक्रियामार्फत बच्चा जन्मने गरेकोमा अहिले घटेर ८ देखि १० वटामा झरेको छ ।
अस्पतालले संचालन गरेको ओपीडी फार्मेसी सेवा पनि बन्द भएको छ । अस्पतालको ओपीडी फार्मेसी बन्द हुँदा बिरामीहरु बाहिरका फार्मेसीमा महंगो मुल्यमा औषधि किन्न बाध्य छन् ।
एकातिर स्वास्थ्यमन्त्री प्रदीप पौडेल अस्पतालको लाइन घटाउने भाषणमा मस्त छन् भने अर्कोतिर नारायणीका मेसु भएका कर्मचारी हटाएर अस्पतालको सेवा नै अस्तव्यस्त पारीरहेका छन् ।
२१ जेठमा निमित्त मेसु हकले एकैपटक निकालेका कर्मचारीहरुको सूचनामा अस्पतालको दरबन्दी बिना नै दैनिक ज्यालादारी करारमा काम गरिरहेको हुँदा २२ जेठबाट काममा नआउन भनिएको छ ।
सेवा प्रवाहमा समस्या भएको विषयमा निमित्त मेसु डा. हकसँग जिज्ञासा राख्दा शतप्रतिशत वेड अकुपेन्सी भएको तर स्वास्थ्यकर्मी कम भएका कारण केही समस्या आएको बताए । ‘१०० प्रतिशत अकुपेन्सी छ,’ उनले भने, ‘कर्मचारी कम छन्, बाहिर आएजस्तो होइन, केही समस्या भएको हो ।’ उनी स्टाफ नर्स कमी भएको र त्यसका लागि सूचना प्रकाशित गरेको तर केही नमिलेर मन्त्रालयले तत्काल स्थगित गरेकाले त्यो बाटो खुल्नासाथ समस्या समाधान हुने बताउँछन् ।
डा. हकले निकालिएका कर्मचारीहरु दरबन्दी बाहिरका स्वास्थ्यकर्मीभन्दा पनि प्रशासन र कार्यालय सहयोगीस्तरका बढी भएको हुँदा तिनले सेवा प्रवाहमा समस्या पारेको भन्नेमा सहमत देखिएनन् । उनी ती कर्मचारीको ९ महिनादेखि तलबमा समस्या भएको बताउँछन् । ‘निकालिएका अधिकांश प्रशासन र कार्यलय सहयोगीस्तरका कर्मचारी हुन्,’ उनले भने ‘त्यहाँ स्वास्थ्यकर्मी कम छन् । तिनका कारण समस्या भएको होइन् ।’ तर, हेल्थआवाजलाई प्राप्त निकालिएका कर्मचारीहरुको सूचीमा भने प्रशासन तर्फका कर्मचारी छैनन् । त्यसैगरी, ४६ जनामा ७ जना मात्र कार्यालय सहयोगी रहेका छन् ।
नारायणीका मेसुले विकास समितिले करार ज्यालादारीमा राखेका यति धेरै स्वास्थ्यकर्मी एकैपटक एकलौटी रुपमा निकालेपछि अस्पतालको सेवा अस्तव्यस्त परेको भन्दै अस्पताल विकास समितिले विज्ञप्ति निकालेर ध्यानाकर्षण पनि गरेको थियो । अस्पताल विकास समितिका अध्यक्ष गुप्ता प्रक्रियागत रुपमा नमिलेको भएपनि सरसल्लाह गरेर निकालेको भए समस्या नहुने बताउँछन् ।
‘नेपाल सरकारको १५० शैय्याको अस्पताल स्वीकृत छ, अहिले ४५० शैय्या संचालनमा छ,’ उनले भने, ‘सरकारको दरबन्दीमा रहेको जनशक्तिले मात्र त कहाँ पुग्छ र विकास समितिको अस्थायी दरबन्दी स्वीकृत गरेर प्रक्रियामा लैजान पनि त सकिन्थ्यो । एकै पटक कर्मचारी निकालेपछि सेवा प्रवाहमा समस्या त हुने भइहाल्यो नि ।’