जुम्ला—विश्व प्रसिद्ध आँखा चिकित्सक डा. सन्दुक रुइतको उपस्थितिमा जुम्लामा आँखा शिविर सञ्चालन हुने भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आँखा विभाग र तिलगंगा आँखा अस्पतालको संयुक्त आयोजनामा निःशुल्क आँखा शिविर सञ्चालन हुन लागेको हो ।
१६ भदौंमा पातारासी गाउँपालिकाको डिल्लीचौर स्वास्थ्य चौकी, १७ भदौंमा गुठीचौर गाउँपालिकाको गोठीगाउँ आधारभूत स्वास्थ्य केन्द्र, १९ भदौंमा तातोपानी गउँपालिकाको ताम्ती स्वास्थ्य चौकी लामाबगर र २० भदौंमा सिंजा गाउँपालिकाको नराकोट स्वास्थ्य चौकीमा आँखा शिविर सञ्चालन हुने भएको छ ।
यस्तै, २२, २३ र २४ भदौंमा शिविरबाट छनोट भएका आँका बिरामीको मोतिविन्दुको शल्यक्रिया हुने प्रतिष्ठानका अस्पताल निर्देशक डा. पुजन रोकायाले बताए । ‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आँखा विभागको उद्घाटनसहित मोतिविन्दुको निःशुल्क शल्यक्रिया गरिनेछ,’ उनले भने ।
प्रतिष्ठानका आँखा विभाग प्रमुख डा. विश्व तिमिल्सिनाले आँखाका बिरामी र मोतिविन्दुका बिरामीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा सम्पर्क गर्न आग्रह गरे । ‘अबका आँखाको शल्यक्रिया नियमित हुनेछ,’ उनले भने ।