२०८१ पुस २१, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १स्वास्थ्यमन्त्रीले भने, ‘चिनजानको भरमा अस्पताललाई भर्ति केन्द्र नबनाउ’

स्वास्थ्यमन्त्रीले भने, ‘चिनजानको भरमा अस्पताललाई भर्ति केन्द्र नबनाउ’


विराटनगर–स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नियमभन्दा बाहिर गएर चिनजानको भरमा अस्पतालमा चिकित्सक र कर्मचारी नियुक्ति गरेर भर्ति केन्द्र नबनाउन निर्देशन दिएका छन् । बिहीबार कोशी अस्पतालमा आयोजित एक कार्यक्रममा बोल्दैं मन्त्री पौडेलले प्रतिस्पर्धा गराएर मात्रै कर्मचारी भर्ति गर्न आग्रह गरेका हुन् ।

कोशी अस्पताल विकास समिति अध्यक्ष डा. फरवार्ड सिलवाल र मेसु डा. रविराज सिंहलाई साथमा राखेर मन्त्री पौडेलले कोशी अस्पतालमा चिनजानको आधारमा जथाभावी कर्मचार नियुक्ति गरेर भर्ति केन्द्र बनाउने काम बन्द गरिनुपर्ने बताएका हुन् ।

‘अध्यक्ष र मेसु साब पनि यही हुनुहुन्छ । दुवै जनालाई म भन्छु । जो सँग चिनजान छ, त्यसैलाई भर्ति गर्ने काम आजैबाट बन्द गर्नुहोस् । विज्ञापन गरेर मात्रै खुल्ला प्रतिस्पर्धाबाट चिकित्सक नियुक्ति गर्नुहोस्,’ मन्त्री पौडेलले भने, ‘यस्तै स्वास्थ्य संस्थामा कुनै पनि नियम रहेन भने यो देशमा कहीँ पनि नियम रहँदैन् । त्यसैले न्यूनतम नियमको पालना गरेर काम गर्नुहोस् । नियमभन्दा बाहिर गएको कुरा स्वास्थ्यमन्त्री (मैले) भनेको कुरा पनि नमान्नुहोस् । म यस कुराको अनुरोध गर्न चाहन्छु ।’

मन्त्री पौडेलले विकास समितिको आम्दानी पारदर्शी रुपमा जनतालाई देखाउनुपर्ने बताए । ‘विकास समितिमा के—के मा खर्च हुन्छ ? त्यो पनि बनाउनुहोस् । यी बसै कुरा प्रष्ट ढंगबाट आउनुप¥यो । अस्पतालको आम्दानी र खर्च कसरी भयो जनताले देख्ने र सुन्ने गरी प्रष्ट ढंगले राख्नुहोस्,’ उनले भने, ‘कुन शीर्षकमा कति पैसा लिनुभएको छ । त्यो कुरा पनि प्रष्ट ढंगले राख्नुहोस् । यो निजी स्वास्थ्य संस्था होइन्, यो सरकारी स्वास्थ्य संस्था हो ।’

सरकारको सम्पूर्ण स्रोत नागरिकको भएको उल्लेख गर्दै मन्त्री पौडेलले यसको प्रयोग कसरी भइरहेको भन्ने कुरा प्रष्ट ढंगले समाजलाई भन्न सक्नुपर्ने बताए । अस्पतालको निरीक्षण गर्दै उनले भिडभाडको व्यवस्थापन गरी गुणस्तरीय स्वास्थ्य सेवा छिटो र छरितो दिनुपर्ने बताए । ‘कोशी अस्पतालको ओपीडीको रजिष्ट्रेशन गर्ने ठाउँमा पनि छिरे एकदमै भिड छ । अस्पताल निरीक्षण गर्ने क्रममा सेवाग्रहीको गुनासो पनि सुने । माथि गएर सुधार गर्नुहोस न किन फोटो खिच्न आउनुभएको ?,’ उनले भने, ‘यो नेता हो फोटो खिचेर जान्छ । माथि बसेर पोलिसी बनाउनुहोस् अनि सुधार गर्नुहोस् । सेवाग्राहीले यस्तो भनिरहँदा मैले भने म हजुरहरुसँगै कुरा गर्न आएको हो । मेरो फोटो खिच्ने इच्छा छैन भनेर फर्किए ।’

बिना प्रतिस्पर्धा गरिएको थियो चिकित्सक भर्ना

२ भदौमा परीक्षा लिएर खुला प्रतिस्पर्धामार्फत योग्य चिकित्सक छनोट गर्ने बाटो छलेर अस्पताल विकास समितिले आफू खुसी ९ जना चिकित्सक नियुक्त गरेको थियो । अस्पताल विकास समितिका अध्यक्ष डा. फरवार्ड सिलवालको अध्यक्षतामा बसेको बैठकले ६ जना विशेषज्ञ र तीन जना मेडिकल अधिकृत नियुक्त गरेको थियो ।

प्रतिस्पर्धा बेगर नै नियुक्त हुनेहरूमा नाक, कान, घाँटी रोग विशेषज्ञ डा. रौनक दाहाल, छाला रोग विशेषज्ञ डा. ज्योति कार्की, मनोचिकित्सक डा.सविता खड्का, पेट रोग विशेषज्ञ डा. रोहित यादव, एनेस्थेसिया डा. प्रविन झा र डा. राजन राई छन् । यसैगरी, मेडिकल अधिकृतहरुमा डेन्टल विभागमा कार्यरत रहने गरी डा. निमिसा दास, आकस्मिक कक्षको लागि डा. मनोज मनिष साह र आईसीयुका लागि डा. विशका गुरुङलाई नियुक्त गरिएका थियो । उनीहरुलाई सुरूमा अस्पताल विकास समितिले एक महिना करार अवधि दिएर नियुक्त गरेको छ । तर, उनीहरुको करार थप गर्ने आन्तरिक सहमति रहेका छन् ।

अस्पतालमा नेपाल सरकारको दरबन्दीमा करारमा ९ तहमा कार्यरत चिकित्सकलाई तह घटुवा गरेर ८ तहमा नियुक्त गरिएको छ । डा. रौनक, डा. ज्योति र डा. रोहित नेपाल सरकारको रिक्त दरबन्दीमा ९ औं तहमा करारमा कोशीमै काम गर्दै आएका थिए । सरकारी दरबन्दीमा सरकारले अर्को स्थायी चिकित्सक पठाउँदा जागिर जाने भएपछि उनीहरुलाई नियमित जागिर खुवाउन विकास समितिको दरबन्दीमा नियुक्ति गरिएको छ । अस्पताल विकास समितिबाट एक पटक नियुक्त भएका चिकित्सकलाई हटाउन नसकिने भएकोले कारणले उनीहरुले पहुँचको भरमा बिना प्रतिस्पर्धा नियुक्ति पाएका हुन् । बिना प्रतिस्पर्धा चिकित्सक नियुक्ति गर्दा अस्पतालका कर्मचारी र अन्य चिकित्सकले भने लेनदेन गरेको आरोप अस्पतालका पदाधिकारीमाथि लागेको छ ।

कोशी अस्पतालका चिकित्सक नियुक्तिको भएको बेथिती बारेमा गत बिहीबार हेल्थआवाजले समाचार प्रकाशित गरेको थियो । सोही समाचारलाई आधार बनाएर कोशी अस्पतालमा क्यान्सर रोगको सेवा विस्तार सम्बन्धी सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा बिहीबार बोल्दै मन्त्री पौडेलले विज्ञापन गरेर खुल्ला प्रतिस्पर्धाबाट मात्रै चिकित्सक र स्वास्थ्यकर्मीहरु नियुक्त गरिनुपर्ने बताए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ