काठमाडौं—नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ७५३ वटै स्थानीय तहमा साधन स्रोतसहितका अस्पताल बनाएर उपचारको व्यवस्था गर्न माग गरेका छन् । मंगलबार प्रतिनिधीसभाको बैठकमा बोल्दैं उनले यस्तो माग गरेका हुन् ।
उनले स्थानीय तहमा एकै पटक उद्घाटन गरेका ६५७ अस्पताल अझै बन्न नसकेको भन्दैं असन्तुष्टि व्यक्त गरे । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ साल मंसिरमा ६५७ स्थानीय तहमा निर्माण हुने ५, १० र १५ शैय्याका आधारभूत अस्पतालहरुको उद्घाटन गरेका थिए ।
‘२०७७ साल मंसिर १५ गते जस्तो लाग्छ देशका ७५३ स्थानीय तहहरुमध्ये ६५७ मा अस्पतालहरुको शिलान्यास भयो । आज धेरै अस्पतालहरु बनेका छैनन्,’ सांसद खतिवडाले भने, ‘शिलान्यास भएका ठाउँमा मूर्ति स्थापना भएको छ, अस्पताल बनेका छैनन् ।’
उनले बनेको ठाउँमा भवन बनेको भएपनि इक्वीपमेन्ट र दक्ष जनशक्ति नभएको बताए । ‘जनतामा एउटा आशाको दियो पलाएको थियो, त्यो निभेर गएको छ,’ खतिवडाले भने ।
सांसद खतिवडाले दुर्गम ठाउँबाट बिरामी ल्याउनुप¥यो भने हेलिकप्टरको व्यवस्था गर्नुपर्ने अवस्था रहेको उल्लेख गरे । ‘यो अवस्थामा सम्पूर्ण देशका ७५३ वटा अस्पताल इक्वीपमेन्टसहितको उपचार गर्ने व्यवस्था सरकारसँग होस् भनेर अनुरोध गर्न चाहन्छु सभामुख महोदय,’ उनले भने ।