भर्जिनिया—तीन हप्ताभन्दा बढी समयदेखि भर्जिनियाबाट बेपत्ता भएकी नर्स ममता काफ्ले भट्टका श्रीमान नरेश भट्टलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार विहान ११ बजे ३७ वर्षीय नरेशलाई ममता वेपत्ता घटनासँग सम्बन्धित रहेको ठहर गर्दै प्रहरीले पक्राउ गरेको हो ।
भर्जिनियाको द मनासस पार्क प्रहरी विभागले त्यसअघि रातभर उनको घरमा खान तलासी गरेको थियो । २८ वर्षीया ममता २४ दिनअघिबाट वेपत्ता छन् । मनासस प्रहरीकाअनुसार २७ जुलाईमा उनी अन्तिम पटक देखिएकी थिइन् ।
प्रहरीले भट्टलाई ममता वेपत्तामा सम्बन्धित भएको भन्दैं पक्राउ गरेको हो । उनी विरुद्ध प्रहरीले ममताको शव लुकाएको अभियोग लगाइएको छ । बिना धरौटी हिरासतमा राखिएका उनलाई शुक्रबार अदालतमा पेश गर्ने प्रहरीको तयारी छ ।
ममता र नरेशकी एक वर्षीया छोरी छन् । प्रहरीकाअनुसार उनलाई डिपार्टमेन्ट अफ सोसल सर्भिसको हेरचाहमा राखिएको छ ।
अहिले ममता वेपत्ताको घटनामा उनका श्रीमान नरेश पक्राउ परेसँगै अमेरिकाको नेपाली समाज तरंगित भएको छ । प्रहरीकाअनुसार जुलाई २७ मा ममता युभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा देखिएकी थिइन् । जुलाई २८ मा उनले साथीसँग कुरा गरेको र जुलाई ३१ मा उनका श्रीमानले अन्तिम पटक देखेको समाचारहरुमा जनाइएको छ । जुलाई ३१ बाट उनी वेपत्ता भएको केही संचारमाध्यमले लेखेका छन् ।
काभ्रेकी ममता अमेरिकाको भर्जिनियामा रजिष्टर्ड नर्सका रुपमा कार्यरत थिइन् । प्रहरीले ममता वेपत्ता प्रकरणमा गम्भीर रुपमा अनुसन्धान गरिरहेको जनाएको छ ।
—एजेन्सीहरुको सहयोगमा