काठमाडौं—पछिल्लो समय महामारीको रुपमा फैलिएको लामखुट्टेबाट सर्ने डेंगी देशका ७४ जिल्लामा देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का अनुसार सोमबारसम्म देशभरमा ४ हजार ९७ जनामा डेंगी पुष्टि भएको छ ।
तीमध्ये २ जनाको मृत्यु भएको इडिसिडीले जनाएको छ । यस वर्ष सबैभन्दा बढी डेंगीका बिरामी तनहुँमा देखिएको छ । सोमबारसम्म तनहुँमा ७ सय ८१ जनामा डेंगी पुष्टि भएको छ ।
त्यसैगरी, दोस्रोमा काठमाडौंमा ३ सय ८० त्यसपछि क्रमसः कास्कीमा ३५१, पर्वतमा १ सय ७७ र चितवनमा १ सय ५७ जनामा डेंगी पुष्टि भएको छ ।
हुम्ला, जुम्ला र मनाङबाहेका देशका सबै जिल्लामा डेंगी देखिएको छ ।
५८ जनामा हैजाको जीवाणु पुष्टि
डेंगीसँगै यस वर्ष हैजाका बिरामी पनि देखा परेका छन् । विगतका वर्षमा कुनै एक निश्चित ठाउँमा मात्र देखिने बिरामी यस वर्ष फरक—फरक ठाउँमा देखिएको छ ।
इडिसिडीको पटिल्लो तथ्यांकअनुसार ५८ जनामा हैजाको जीवाणु पुष्टि भएको छ । तीमध्ये २ जना अस्पतालमा भर्ना भएका छन् ।
यस वर्ष अहिलेसम्म ललितपुरमा ४१ जना, कैलालीमा ८ जना, काठमाडौंमा ७ जना र प्युठानमा २ जनामा हैजाको जीवाणु पाइएको छ ।
सोमबार मात्र काठमाडौंमा थप तीन जनामा हैजाको जीवाणु पुष्टि भएको हो । हैजाका कारण हालसम्म कसैको मृत्यु भएको छैन ।