२०८१ पुस २६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारराप्ती र पोखरामा एमबीबीएस कार्यक्रम संचालनका लागि बाटो खुला

राप्ती र पोखरामा एमबीबीएस कार्यक्रम संचालनका लागि बाटो खुला

अर्थ मन्त्रालयले स्रोत सुनिश्चितताको पत्र स्वास्थ्य मन्त्रालयलाई पठायो


काठमाडौं—पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा अब चिकित्सा शिक्षा अध्ययनअन्तर्गत एमबीबीएस कार्यक्रम सुरु गर्न बाटो खुलेको छ । नेपाल सरकारअन्तर्गतका दुवै प्रतिष्ठानमा एमबीबीएस पढाइ सञ्चालनका लागि अर्थ मन्त्रालयले स्रोत सुनिश्चिता गरेको छ ।

अर्थले यससम्बन्धी पत्र हालै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पठाएको छ । २७ साउनमा आफ्नो प्राथमिकता तथा योजना सार्वजनिक गर्दा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले दुवै प्रतिष्ठानमा यसै वर्ष चिकित्सा शिक्षाको एमबीबीएस कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए ।

मन्त्रालयले ५ करोड रुपैयाँ विनियोजन गरेपनि थप स्रोत सुनिश्चित नहुँदा एमबीबीएसको अध्यापन अन्योलमा थियो । तर, स्वास्थ्य मन्त्रालयलगायतका पहलले अर्थसँग समन्वय भएपछि हालै रकम सुनिश्चित बनेको हो । दुवै प्रतिष्ठानले ५ वर्षअघि पूर्वाधार विकास गरेर बसेका थिए । तर, मन्त्रालयगत बजेट नै नआउँदा एमबीबीएस अध्यापन अघि बढ्न सकेको थिएन ।

अब चिकित्सा आयोगले पूर्वाधारका आधारमा दुवै प्रतिष्ठानका लागि एमबीबीएस पठनपाठनका लागि सिट निर्धारण गर्नेछ । जसमा ७५ प्रतिशत विद्यार्थीले सरकारी छात्रवृत्ति प्राप्त गर्नेछन् । सोही आधारमा पठनपाठन अघि बढाउने गरी मन्त्रालयले तयारी थालेको छ । यसले विपन्न, जेहेन्दार तथा आरक्षण प्राप्त विद्यार्थीले छात्रवृत्तिमा एमबीबीएस अध्ययन गर्न बजेट सुनिश्चित गरेको छ ।

‘देशमा चिकित्सक अभाव रोक्न दक्ष जनशक्ति उत्पादन बढाउने हाम्रो लक्ष्य हो,’ मन्त्री पौडेलले भने, ‘प्रतिष्ठानमा चिकित्सा शिक्षा अध्ययनसँगै थप चिकित्सक अध्ययन गर्ने मार्ग खोल्न हामी लाग्नेछौं ।’

मन्त्री पौडेलको प्राथमिकता तथा योजनामा एक सय बेडभन्दा माथिका सरकारी अस्पतालमा नर्सिङ र ३ सय बेडभन्दा माथिका सरकारी अस्पतालमा स्नातक र स्नातकोत्तर तहका विषय अध्यापन गर्न विगतमा भएका अध्ययन पुनरावलोकन गरी चिकित्सा शिक्षा आयोगको परामर्शका आधारमा कार्यान्वयन गरिने पनि उल्लेख छ ।

एमबीबीएस अध्यापनका लागि स्वास्थ्य मन्त्रालयले  आवश्यक तयारीका लागि काम अघि बढाएको जनाएको छ । यसअघि अर्थमन्त्री विष्णु पौडेलसँग एमाले महासचिव शंकर पोखरेलले पनि राप्तीमा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययनका लागि बजेट सुनिश्चिताका लागि लबिइङ गरेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ