काठमाडौं—नर्भिक अन्तर्राष्टिय अस्पतालमा विशेषज्ञ चिकित्सकको मासिक बेसिक तलब २५ हजार ९८४ रुपैयाँ रहेको पाइएको छ । नर्भिकका १० औं तहका कन्सल्ट्यान्ट चिकित्सकको मासिक बेसिक तलब २५ हजार ९८४ रुपैयाँ तोकिएको नियुक्ति पत्र हेल्थआवाजलाई प्राप्त भएको छ ।
नेपालकै एकमात्र डलर अर्बपति विनोद चौधरीका भाइ बसन्त चौधरी संचालक रहेको उक्त अस्पतालले कन्सल्ट्यान्टहरुलाई भत्ता भने राम्रै दिइरहेको देखिन्छ । हेल्थआवाजलाई प्राप्त नियुक्ति पत्रअनुसार कन्सल्ट्यान्टहरुलाई हैसियतअनुसार भत्ता २ लाखदेखि ४ लाख रुपैयाँसम्म दिने गरेको पाइएको छ ।
एउटै तहका कन्सल्ट्यान्ट चिकित्सकको तलब २५ हजार ९८४ रुपैयाँ र महंगी भत्ता ६ हजार ४८० तोकिएको छ । अन्य भत्ता भने डाक्टरहरुको हैसियत, वरिष्ठता र अनुभवका आधारमा तलमाथि छ ।
अन्य भत्ता चिकित्सकहरुलाई २ लाखदेखि ४ लाख रुपैयाँसम्म रहेको छ । जसका कारण कन्सल्ट्यान्ट चिकित्सकको पूर्ण तलब भने २ लाखदेखि ५ लाखसम्म हुने गर्छ । तर, नर्भिकले नाम चलेका अधिकांश ठूला चिकित्सकहरुलाई भने प्रतिशतका आधारमा पेमेन्ट गर्दै आएको छ । ‘प्रतिशतका आधारमा लिने केही चिकित्सकले मासिक ३० लाख रुपैयाँसम्म तलब भत्ता बुझ्नुहुन्छ,’ नर्भिक स्रोतले भन्यो ।
कन्सल्ट्यान्ट चिकित्सकलाई १० औं तह भनेर मानेको अस्पतालले नेपाल आधारभूत तलबसम्म पनि बराबर गरेको छैन् । नेपाल सरकारको १० औं तह कन्सल्ट्यान्ट चिकित्सकको आधारभूत तलब ५६ हजार हजार ७८७ रुपैयाँ छ । रोचक त के भने सरकारी १० औं तहको स्केल ५६ हजार ७८७ तलब दिँदा नर्भिकजस्तो प्रतिष्ठित संस्थाले आधारभूत २५ हजार ९८४ रुपैयाँमात्रै तबल दिएको छ ।
‘सामाजिक सुरक्षा कोष, दशैं भत्तालगायतमा संस्थालाई कम मार परोस भनेर यस्तो गरिएको हो,’ जानकार स्रोतले भन्यो, ‘आधारभूत तलब कम दियो भने सामाजिक सुरक्षा कार्यक्रम र दशैंलगायतका अलाउन्समा संस्थाले कम तिर्नुपर्छ ।’ ती जानकारकाअनुसार व्यापारिक उद्देश्यले खोलिएका संस्थाहरुले आफ्नो हित हेर्नु स्वभाविक भएपछि यति थोरै आधारभूत तलब राख्दा भने संस्थाको प्रतिष्ठाको पनि ख्याल गर्नुपर्छ ।