काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कान्ति बाल अस्पतालको बालबालिका तथा किशोर—किशोरी मानसिक स्वास्थ्य इकाईको अन्तरंग सेवाको उद्घाटन गरेका छन् । बुधबार मन्त्री पौडेलले एक कार्यक्रमबीच १६ शैय्याको अन्तरंग सेवाको उद्घाटन गरेका हुन् ।
मन्त्री पौडेलले अन्तरंग सेवा विभागको अवलोकन गरी इकाईबाट दिइदैं आएको टेलिमेडिसिन सेवाको जानकारी समेत लिएका थिए ।
यसअघि यही वर्षको सुरुवातमा लगनखेलस्थित मानसिक अस्पतालले किशोर—किशोरी मानसिक स्वास्थ्य इकाईको संचालन गरिसकेको छ । तर, बालबालिकाको मानसिक स्वास्थ्योपचारलाई लक्षित गरेर अन्तरंग सेवा संचालनमा आएको भने यो पहिलो अवसर हो ।
सन् २०१५ को महाभूकम्पपछि सिविन नेपालले फोरुट नर्वेसँगको साझेदारी र कान्ति बाल अस्पतालको सहयोगमा अस्पताल प्रांगणमै नेपालमा सबैभन्दा पहिलो बालबालिका तथा किशोर—किशोरी मानसिक स्वास्थ्य इकाई संचालनमा ल्याएको थियो । पछि फोरुट नर्वे र अरु साझेदार संघसंस्थासँगको सहकार्यमा सिविन नेपालले अस्पताल प्रांगणमै छुट्टै भवनको निर्माण गरेर सन् २०२१ को जनवरीदेखि बालबालिका तथा किशोर—किशोरीलाई मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ ।
यही क्रममा बुधबार अन्तरंग सेवाको पनि औपचारिक थालनी भएपछि पनि बालबालिकाको मानसिक स्वास्थ्य उपचारमा थप सहज बन्ने भएको छ ।