२०८१ मंसीर १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसुर्खेतमा वर्षेनी थपिदैंछन् क्यान्सरका बिरामी

सुर्खेतमा वर्षेनी थपिदैंछन् क्यान्सरका बिरामी


वीरेन्द्रनगर—सुर्खेतमा क्यान्सर रोगका बिरामी वर्षेनी थपिँदै गएका छन् । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका अनुसार पछिल्लो समय नसर्ने रोगका बिरामी बढ्न थालेका छन् ।

त्यसमध्ये पनि क्यान्सर रोगका बिरामीको संख्या धेरै रहेको कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्ष २०८०/८१ मा सुर्खेत जिल्लामा ११० जना क्यान्सर रोगका बिरामी फेला परेका छन् । यो संख्या उपचारमा सहुलियत लिनका लागि आएकाको मात्रै हो ।

गत वर्ष जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतबाट क्यान्सर रोग लागेका ५० जनाले प्रतिव्यक्ति २० हजार रुपैयाँका दरले सहुलियत यातायात खर्च लिएका छन् । अन्य ६० जनाले सहुलियत लिनका लागि निवेदन पेस गरेको कार्यालयले जनाएको छ ।

सहुलियतका लागि गत वर्ष प्रदेश सरकारले कार्यालयलाई दश लाख रुपैयाँ बजेट पठाएको छ । यसैगरी, स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले समेत क्यान्सरका बिरामीलाई उपचार सहुलियत दिने गरेको छ । विपन्न नागरिक यातायात सहायता कार्यक्रममार्फत रकम दिने गरिएको निर्देशनालयले जनाएको छ ।

गत वर्ष १३० जना क्यान्सरका बिरामीलाई सहायता रकम दिइएको निर्देशनालयका सूचना अधिकारी नवराज कँडेलले बताए । गत वर्ष प्रदेश सरकारले ‘विपन्न नागरिक यातायात सहायता कार्यक्रम’ का लागि ५० लाख रुपैयाँ बजेट निर्देशनालयमा पठाएको थियो । उक्त रकमबाट १३० जना क्यान्सरका बिरामीले सहुलियत यातायात खर्च लिएका छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ