२०८१ मंसीर ३, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशहिल्साका नागरिक पाउँदैनन् स्वास्थ्य सेवा

हिल्साका नागरिक पाउँदैनन् स्वास्थ्य सेवा

बिरामी भएपछि ३० किलोमिटर टाढा रहेको चीनको ताक्लाकोट जानुपर्ने बाध्यता


जुम्ला—हुम्लाको नाम्खा गाउँपालिका–५ स्थित हिल्साका नागरिक स्वास्थ्य सेवाबाट बञ्चित भएका छन् । हिल्सामा स्वास्थ्य चौकी नहुँदा नागरिक स्वास्थ्य सेवाबाट बञ्चित भएका हुन् ।

हिल्सामा स्वास्थ्य चौकी नभएपछि बिरामीलाई उपचार गर्न समस्या भएको भन्दै हिल्साका स्थानीय नागरिकले पटक—पटक उपचारको व्यवस्था गर्न माग गरेका छन् ।

हिल्साका स्थानीय नागरिक बिरामी भएपछि ३० किलोमिटर टाढा रहेको चीनको ताक्लाकोट जानुपर्ने भएपछि गाउँपालिका र स्वास्थ्य सेवा कार्यालयसँग स्वास्थ्य चौकी स्थापना गरेर नियमित उपचारको व्यवस्था गर्न माग गरेका हुन् ।

हिल्साका व्यवसायी मुकामबहादुर तामाङले बिरामीका लागि उपचार गर्ने निकाय हिल्सामा नभएका कारण स्वास्थ्य चौकी स्थापना गर्न आवश्यक रहेको बताए । उनले भने, ‘हिल्सामा कोही बिरामी भए चीनको ताक्लाकोटमा गएर उपचार गर्नुपर्ने बाध्यता छ ।’

गाउँपालिका र स्वास्थ्य सेवा कार्यालयसँग सामान्य उपचारको व्यवस्था गर्न समेत उनले आग्रह गरेका छन् । ताक्लाकोट लगिने बिरामीहरू सीमा पास प्राप्त गरेकाले मात्र जान पाउँछन् भने सीमा पास नभएका बिरामीहरूलाई भने दुई दिन लगाएर जिल्ला अस्पताल लगिने गरिएको उनले बताए ।

सशस्त्र प्रहरीले प्राथमिक उपचार गर्नुपर्ने बिरामी भए औषधी उपलब्ध गराउने जनाएको छ । सशस्त्र प्रहरी, नेपाल प्रहरीबाहेक हाल हिल्सामा ६० घरधुरीका ५ सय ५० स्थानीय बस्दै आएका छन् ।

कोभिड—१९ पछि चीनले हिल्सा नाका दुईतर्फी सञ्चालन गर्दा नाम्खा गाउँपालिकाले अस्थायी स्वास्थ्य चौकी र कोभिड—१९ परीक्षण डेस्क स्थापना गरिएको भएपनि हाल बन्द भइसकेको छ ।

हिल्साका स्थानीयको उपचारलाई मध्यनजर गर्दै कर्णाली प्रदेश सरकारको ५० लाख रुपैयाँ आर्थिक सहयोगमा स्वास्थ्य चौकी स्थापना गरिएको भएपनि हाल सो बन्द छ ।

नाम्खा गाउँपालिका स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले भने, ‘हिल्सामा पहिलेदेखि नै स्वास्थ्य संस्थाका लागि भवन निर्माण गरेको भएपनि अस्पताल, स्वास्थ्य चौकी र स्वास्थ्य इकाई के हो भन्ने जानकारी नै भएन् ।’

स्वास्थ्य चौकी नभएपनि गाउँपालिका स्वास्थ्य शाखाले समय मिलाएर गाउँघर क्लिनिकमार्फत उपचार गर्ने गरेको संयोजक लामाको भनाइ छ । उनले स्वास्थ्य सेवा कार्यालय हुम्लासँग समन्वय गरेर प्रदेश सरकारसँग दरबन्दी माग गरेको बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ