काठमाडौं—राप्ती नदीको किनारामा बैकुण्ठधाम सिधनियाघाट निर्माण अभियान सुरु भएको छ । नेपालगन्ज र यस वरपरका हिन्दुधर्माबलम्बीहरुको दाह संस्कार हुने प्रमुख घाट राप्ती नदी किनाराको सिधनिया घाट व्यवस्थित घाट निर्माण सुरु गरिएको हो ।
सिधनिया घाटको अवस्था अत्यन्तै नाजुक र अस्तब्यस्त छ । गर्मीमा ४०/४२ डिग्री तापक्रम र जाडोमा सितलहर र कठ्याङग्रिने जाडो हुने नेपालगन्जको सिधनिया घाटमा मलामीहरुलाई ओत लाग्ने सम्म ठाउँ छैन । घाट वरीपरी प्लाष्टिकका बोतल, जथाभावी फ्याकिएका कपडा, काठ, वर्षातमा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकका कारण मलामी र शोकाकुल परिवारका सदस्यहरुले अनेकौ सास्ती खेप्दै आएका छन् ।
आफ्नो मृत्यु सहज र दाहसंस्कार पनि सम्मानजनक होस् भन्ने चाहना गर्नेहरुका बीचमा घाटको अवस्थामा सुधार गर्नुपर्छ भनेर वर्षाैदेखि चर्चा हुँदै आएको थियो । सिधनिया घाटको यस्तो नाजुक र अस्तब्यस्त अवस्था सुर्धानका लागि नेपालगन्जका नागरिक समाजका अगुवाहरुले बैकुण्ठधाम सिधनिया घाट निर्माणका लागि सामूहिक पहल सुरु गरेका छन् ।
त्यसका लागि नदी किनारको करिब १४ कठ्ठा जग्गा किनेर बैकुण्ठधाम सिधनिया घाट निर्माणका लागि जनस्तरबाटै सहयोग जुटाएर नयाँ र ब्यवस्थित घाट निर्माणदेखि पार्क निर्माणसम्मको योजना बनाएका छन् ।
नेपालगन्जका वरिष्ठ चिकित्सक एवं नेपालगन्ज मेडिकल कलेजका संचालक डा. सुरेशकुमार कनोडियाको अध्यक्षतामा बैकुण्ठधाम सिधनिया घाट निर्माण समिति गठन भएको छ ।
जनस्तरबाटै रकम संकलन गरेर घाट निर्माणका लागि राप्ती नदीको किनारामा जग्गा खरिद गरी त्यही जग्गामा घाट निर्माण गर्ने उद्देश्यले १४ कठठा जग्गा खरिदको प्रक्रिया सुरु गरिएको अध्यक्ष कनोडियाले बताए । ब्यवस्थित घाट निर्माणका लागि स्रोत जुटाएर थप जग्गा खरिद गर्ने लक्ष्यका राखिएको छ ।
बैकुण्ठधाम सिधनियाघाट निर्माणका लागि वाचन शिरोमणि पण्डित दिनबन्धु पोखरेललाई मूल वाचकका रूपमा राखेर कार्तिकको २२ देखि ३० गतेसम्म महायज्ञ गरिने योजना बनाइएको छ ।
बैकुण्ठधाम सिधनियाघाट निर्माणको अभियानका बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा सहभागी भएका वाचन शिरोमणि पण्डित दिनबन्धु पोखरेलले घाट निर्माणको अभियानलाई सफल पार्न आफूले ब्राण्ड एम्बास्डरको रुपमा काम गर्ने घोषणा गर्दै घाटसँगै विशाल आध्यामिक केन्द्र निर्माण गर्ने गरी अगाडि बढ्न आयोजकहरुलाई सुझाव दिएका छन् ।
बैकुण्ठधाम सिधनियाघाटलाई एक सुव्यवस्थित तथा सुविधायुक्त शवदाह गृहस्थलको रुपमा विकास गरी पार्क, मन्दिर तथा अन्य पर्यटकीय महत्वका संरचनासमेत निर्माण गरेर पितृको मृत्यु कर्म, सोह्र श्राद्ध कर्म, आत्म शान्तिका कर्मकाण्ड सम्पन्न गर्ने आध्यात्मिकस्थल साथै ध्यान तथा योग केन्द्र विकास गरी आन्तरिक तथा वाह्य पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्य राखिएको अभियानका सदस्य डा. बद्री चापागाइले बताए ।