२०८१ पुस २३, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १मोरङमा ३०० सय शैय्याको सुविधासम्पन्न जीवन विकास सामुदायिक अस्पताल बन्दैं

मोरङमा ३०० सय शैय्याको सुविधासम्पन्न जीवन विकास सामुदायिक अस्पताल बन्दैं

४४ जना विशेषज्ञ चिकित्सक, ७२ जना मेडिकल अधिकृत, १२० जना नर्ससहित ५१६ जना कर्मचारी रहने आँकलन


काठमाडौं—मोरङमा ३०० शैय्याको सुविधासम्पन्न जीवन विकास सामुदायिक अस्पताल तथा टेक्नीकल एजुकेशन फाउण्डेसन बन्ने भएको छ । कटहरी गाउँपालिका—२, हल्दीवारी—रंगेली रोडमा उक्त अस्पताल तथा टेक्नीकल एजुकेशन फाउण्डेसन बन्न लागेको हो ।

अस्पताल निर्माणका लागि वन तथा वातावरण मन्त्रालयले वातावरणी प्रभाव मुल्यांकन प्रतिवेदन (ईआईए) सार्वजनिक गरेर गत असारमै ७ दिने सुझावका लागि सूचनासमेत जारी गरिसकेको छ ।

१ लाख ११ हजार १८१.६१५ वर्गमिटर क्षेत्रफलमा स्थापना हुन लागेको उक्त अस्पतालले सामान्य आधारभूत सेवा, विशेषज्ञ सेवाहरुका साथै ठाउँ विशेषका उपचार सेवा प्रदान गर्नेछ । अस्पताल संचालन आइसकेपछि एमबीबीएस, नर्सिङ, फार्मेसी, मेडिकल प्रयोगशाला, फिजियोथेरापी, रेडियोलोजीमा स्नातक र स्नातकोत्तर तहका शैक्षिक कार्यक्रम संचालनमा ल्याउने योजना समेत बनाएको छ ।

अस्पताल तथा टेक्नीकल एजुकेशन सेन्टरका लागि बन्ने आठौं तलाको अत्याधुनिक भवनमा तीन ब्लकमा रहनेछन् । भवन ब्लक ‘ए’, ‘बी’ र ‘सी’ गरी तीन ब्लकमा निर्माण गर्ने योजना व्यवस्थापनले बनाएको छ । ब्लक ‘ए’मा भुँइ, पहिलो, दोस्रो, तेस्रो, चौथो, पाँचौ, छैठौ, सातौ तलासँगै ट्रेसर रहनेछ । यो ब्लकको क्षमता १८१ शैय्याको हुनेछ । यसैगरी, ब्लक ‘बी’ मा भुइँ, पहिलो, दोस्रो, तेस्रो तला र छत रहनेछ भने यसमा रेडियोलोजी, प्याथोलोजी विभाग, ब्लड बैक, प्रशासनिक कार्यलयलगायतका संरचना रहनेछन् ।

आठौं तला रहने ब्लक ‘सी’ १७९ शैय्या क्षमताको हुनेछ । तीन वटै ब्लकलाई प्रत्येक तलासँगै ‘कनेक्टीङ करिडोर’ले जोड्ने योजना बनाइएको छ । अस्पतालका संरचना बाल, महिला, अपांग र अशक्तमैत्री हुने उल्लेख छ ।

अस्पताल संचालनका लागि ५१६ जना नियमित कर्मचारी आवश्यक पर्ने प्रक्षेपण गरिएको छ । ३ सय शैय्याको अस्पताल संचालनमा आउँदा ४४ जना विशेषज्ञ चिकित्सक, ७२ जना मेडिकल अधिकृत, १२० जना नर्स, ३६ जना पारामेडिकल, ३ जना वरिष्ठ औषधी व्यवस्थापक, ६ जना फार्मेसी अधिकृत, १५ जना फार्मेसी सहायक रहनेछन् ।

यसैगरी, मेडिकल ल्याब टेक्नोलोजिष्ट, ल्याब टेक्नीसियन, रेडियो इमेजिङ, एनेस्थेटिक सहायक, अप्टोमेट्री विज्ञलगायत अन्य विविध विधाका गरी ७६ जना अन्य स्वास्थ्यकर्मी रहनेछन् । अस्पतालको प्रशासनतर्फ भने मेसुसहित ३५ जना रहनेछन् भने अस्पतालको सहयोग सेवाका लागि ८२ जना कर्मचारी रहनेछन् ।

२ पुस २०७६ मा कम्पनी रजिष्ट्रारको कार्यलयमा दर्ता भएको जीवन विकास सामुदायिक अस्पताल तथा टेक्नीकल एजुकेशन फाउण्डेसनले उक्त अस्पताल संचालन गर्न लागेको हो । यो संस्था मुनाफारहित, गैरसरकारी र जनहितकारी सामाजिक संस्था हुने उल्लेख छ ।

संस्थाको जनशक्तिको व्यवस्थापन, भौतिक सामाग्रीको व्यवस्थापन, बजेट तथा आर्थिक व्यवस्थापनको कार्य फाउण्डेसनको संस्थापक सदस्य जीवन विकास पब्लिक हेल्थ सेन्टरबाट गरिने जनाइएको छ । सेन्टरको प्रमुख सेयर होल्डर संस्था जीवन विकास समाज हो ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ