२०८१ पुस २१, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशी अस्पतालमा दुई सिफ्ट ओपीडी सुरु, साढे ३ बजेसम्म चिकित्सक अस्पतालमा बस्नुपर्ने

कोशी अस्पतालमा दुई सिफ्ट ओपीडी सुरु, साढे ३ बजेसम्म चिकित्सक अस्पतालमा बस्नुपर्ने


विराटनगर—कोशी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल कोशीमा दुई सिफ्टमा बहिरंग (ओपीडी) सेवा सुरु भएको छ । मंगलबारदेखि कोशी अस्पतालमा दुई सिफ्टमा ओपीडी सेवा संचालनमा ल्याइएको हो ।

स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयको परिपत्रपछि दुई सिफ्टमा ओपीडी सेवा सुरु भएसँगै साढे ३ बजेसम्म चिकित्सक अनिवार्य अस्पतालमा बस्नुपर्ने नियम लागु भएको छ । यसअघि दुई बजेसम्म मात्र चिकित्सकले ओपीडीमा बिरामी हेर्ने गरेका थिए । जसले गर्दा ओपीडीमा आएका बिरामीले ल्याब रिपोर्ट देखाउने बेलामा चिकित्सक भेटन समस्या हुने गरेको थियो ।

रिपोर्ट देखाउन भोलिपल्ट आउनुपर्ने बाध्यता बिरामीमा रहनुका साथै ओपीडीमा पालो नआउने समस्या समेत रहने गरेको थियो। दोस्रो सिफ्ट पनि संचालन भएपछि बिरामीले ओपीडी चेकजाँच गराएकै दिन प्रयोगशाला रिपोर्ट देखाउन पाउने भएका छन् ।

मन्त्रालयको परिपत्र आएपछि दुई सिफ्टमा ओपीडी सेवा सुरु गरिएको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रविराज सिंहले बताए । ओपीडी टिकट काटनको लागि विहान ८ बजेदेखि दिउँसो १ बजेसम्म समय रहेको मेसु डा. सिंहले जानकारी दिए ।

‘पहिलो सिफ्टमा ओपीडीमा बिरामी जाँच्ने समय विहान ९ बजेदेखि दिउँसो १ बजेसम्म हुनेछ । दोस्रो सिफ्टमा ओपीडीमा बिरामी जाँच्ने समय दिउँसो १ बजेदेखि साढे ३ बजेसम्म हुनेछ,’ डा. सिंहले भने, ‘त्यहीअनुसार विभागीय प्रमुखहरुलाई जिम्मेवारी दिएर व्यवस्थापन पनि गरिएको छ ।’

कोशी अस्पतालमा एक दर्जन बढी विभाग रहेका छन् । कुनै विभागमा एक जना मात्रै चिकित्सक छन् । जसमा दुई सिफ्टमा ओपीडी संचालनमा समस्या हुने देखिएको छ ।

कोशी अस्पतालको क्यान्सर र न्यूरो सर्जरी विभागमा एक जना मात्रै विशेषज्ञ चिकित्सक रहेका छन् । उक्त विभागमा दुई सिफ्टमा ओपीडी संचालन गर्न समस्या हुने चिकित्सकहरु बताउँछन् ।

तर, मेसु डा. सिंह भने थप जनशक्तिको माग गरेर भएपछि केन्द्रको परिपत्रलाई कार्यन्वयनमा लैजाने पक्षमा रहेका छन् । ‘जनशक्ति अभाव भएको ठाउँमा केन्द्रसँग जनशक्ति माग गर्नेछौं,’ उनले भने, ‘सचालनमा आएको दुई सिफ्ट ओपीडीलाई थप व्यवस्थित गरेर लैजान्छौं ।’


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ