वीरेन्द्रनगर—मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिको संख्या तीन हजार ६०० नाघेको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले उपलब्ध गराएको विवरणमा प्रदेशभर तीन हजार ६८६ जनामा मानसिक समस्या रहेको उल्लेख छ ।
रुकुमपश्चिममा सबैभन्दा बढी अर्थात् १ हजार ३ सय ५३ जनामा मानसिक समस्या छ । सुर्खेतमा १ हजार २ सय ४१, सल्यानमा ५८९ जनामा मानसिक समस्या छ ।
यसैगरी, हुम्लामा १४९, कालीकोटमा १३४, दैलेखमा १२२, जाजरकोटमा ८४, मुगुमा ११ र जुम्लामा ३ जनामा मानसिक समस्या रहेको निर्देशनालयको विवरणमा उल्लेख छ । डोल्पामा भने मानसिक समस्या भएका बिरामी फेला नरहेको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका सूचना अधिकारी नवराज कँडेलले बताए ।
वयस्कका साथै बालबालिकामा पनि मानसिक स्वास्थ्यको समस्या रहेको पाइएको छ । कर्णालीको कुल जनसंख्याअनुसार १६ लाख ८८ हजारमध्ये ११.७ प्रतिशत जनसंख्या मानसिक स्वास्थ्य समस्याबाट ग्रसित छन् । यस्तै, चार प्रतिशत बालबालिका मानसिक स्वास्थ्यको समस्याबाट गुज्रिएको पाइएको कँडेलले बताए ।
सबैभन्दा बढी १ हजार ८११ जनामा एन्जाइटीको समस्या छ । त्यसपछि ६३५ जनामा डिप्रेसनको समस्या रहेको विवरणमा उल्लेख छ । छारेरोगका ४११ जना, मापसेबाट स्वास्थ्य समस्यामा परेका २३७ र गम्भीर मानसिक रोगका १९९ बिरामी छन् ।
यसैगरी, निर्देशनालयले विकृत तनाव, अन्य मानसिक समस्या, अन्य मादक पदार्थबाट स्वास्थ्य समस्या, द्विध्रुवीय मानसिक समस्या, बालबालिका तथा किशोर—किशोरीमा भावनात्मक तथा व्यवहारिक समस्या, आत्महत्या प्रयास र बिर्सने रोगका कारण मानसिक समस्यामा परेका व्यक्तिको विवरण संकलन गरेको छ ।
कर्णाली प्रदेश अस्पतालका मनोचिकित्सक डा. सुशील समदर्शीले कर्णालीका नागरिकमा मानसिक समस्या दिनप्रतिदिन बढिरहेको बताए । डिप्रेसनलगायत विभिन्न कारणले वयस्कका साथै बालबालिकामा मानसिक स्वास्थ्यको समस्या देखिएको हो । उनकाअनुसार प्रदेशका मानसिक समस्या भएकामध्ये १५ देखि ६० वर्षसम्मका व्यक्ति धेरै छन् । मानसिक स्वास्थ्यमा स्वास्थ्य बजेटको एक प्रतिशत पनि खर्च गर्न नसकिएको समदर्शी बताउँछन् ।
मानसिक रोगको उपचारका लागि ग्रामीण भेगमा स्वास्थ्य संस्था उपलब्ध छैनन् । केही गैरसरकारी संस्थाहरुको पहलमा सीमित स्वास्थ्य संस्थामा मात्र उपचार सेवा सञ्चालनमा आएका छन् । समुदायमा पत्ता लाग्ने मानसिक स्वास्थ्य समस्यामध्ये २८ प्रतिशत डिप्रेसन र ४० प्रतिशत एन्जाइटीसँग सम्बन्धित रहेको डा. समदर्शीले बताए । उनकाअनुसार नेपालमा ५.२ प्रतिशत १३ देखि १७ वर्षका किशोरकिशारी र १० प्रतिशत १८ वर्षमाथिका वयस्कमा मानसिक स्वास्थ्य समस्या छ । कर्णालीको कुल जनसंख्या अनुसार १६ लाख ८८ हजारमध्ये वयस्क ११.७ प्रतिशत जनसंख्या मानसिक स्वास्थ्यको समस्याबाट ग्रसित छन् । यस्तै, चार प्रतिशत बालबालिका पनि मानसिक स्वास्थ्य समस्याबाट गुज्रिएको उनले बताए ।
घर—घरमा मानसिक स्वास्थ्यको समस्या भोगेका व्यक्ति रहेको हुँदा यसको उपचार सेवा सहर केन्द्रित मात्रै नभएर जिल्ला तथा पालिकासम्म आवश्यक रहेको उनको भनाइ छ । मानसिक स्वास्थ्य समस्यामा परेका व्यक्तिहरूले सामाजिक भेदभाव तथा लाञ्छना र अन्धविश्वास बढी भोगेका छन् । डा. समदर्शीले भने, ‘जनचेतनाको अभावले अझै पनि झारफुक र धामीझाँक्रीको भरमा उपचार पर्नुपर्ने अवस्था छ ।’
कलिलो उमेरका बालबालिका पनि मानसिक स्वास्थ्यको समस्याबाट पीडित हुन थालेका छन् । त्यसका लागि राज्यलगायत सबै पक्ष जिम्मेवार बन्नुपर्ने, उच्च मनोबलका साथ मनोपरामर्श र उपचार गर्नुपर्ने सुझाव डा. समदर्शीको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०२० जारी गरेको अनुसन्धान प्रतिवेदनअनुसार १३ देखि १७ वर्षको उम उमेर समूहका व्यक्तिमा ५.२ प्रतिशत र सोभन्दा माथि उमेर समूहका व्यक्तिहरूको जनसंख्याको १० प्रतिशतमा मानसिक रोगका बिरामी छन् । नेपालमा ९० प्रतिशतभन्दा बढी मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरू उपचार सेवाबाट वञ्चित छन् । वर्षेनी आत्महत्याका घटना बढ्नुको मुख्य कारण मानसिक रोग रहेको परिषद्को प्रतिवेदनमा उल्लेख छ ।