२०८१ पुस २३, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १प्रदेशमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउछौं : मुख्यमन्त्री कार्की

प्रदेशमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउछौं : मुख्यमन्त्री कार्की

जनताको घर–घरमा स्वास्थ्य सेवा पुर्‍याउनका लागि छिट्टै कार्यदन गठन गर्ने भनाइ


विराटनगर—कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा दिगो एवं गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन प्रदेश सरकार क्रियाशील रहेको बताएका छन् । बुधबार साँझ विराटनगरमा नेपाल चिकित्सक संघ कोशी शाखाको नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुको पदभार ग्रहण समारोहमा बोल्दै उनले सरकार स्वास्थ क्षेत्रप्रति संवेदनशील रहेको बताए।

ग्रामीण तथा दुर्गम क्षेत्रका जनतालाई जनमुखी स्वास्थ्य सेवा सहज रुपमा प्रदान गर्ने उद्देश्यले यसपालिको नीति तथा कार्यक्रममा ब्यवस्था गरिएको मुख्यमन्त्री कार्कीले बताए । सरकारले जनताको घर–घरमा स्वास्थ्य सेवा पुर्‍याउनका लागि के कस्तो नीति आवश्यक पर्छ भन्ने उद्देश्यले चाँडै कार्यदल गठन गर्ने जानकारी उनले दिए । यसका लागि आवश्यक सुझाव दिन चिकित्सकलाई मुख्यमन्त्री कार्कीले आग्रह गरे ।

सरकारी स्वास्थ्य संस्थाको जीर्ण रहेको भौतिक संरचनालाई बलियो बनाउने कार्य सुरु गरेको जानकारी दिँदै कार्कीले यसै क्रममा विराटनगरमा सुविधासम्पन्न आधुनिक प्रविधियुक्त प्रदेशस्तरीय प्रयोगशाला निर्माण गरी सञ्चालनमा ल्याइएको बताए । उनले सरकारले स्वास्थ्यकर्मीहरुको सुरक्षाको जिम्मा लिने बताउँदै समयमा नै जानकारी प्राप्त भएमा दोषीलाई कारवाही गरी समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विचार राखे ।

चिकित्सकहरुले भौतिक र आर्थिक सुरक्षाको कुरा उठाएपछि उनले स्रोत र साधन हेरेर सरकार अघि बढ्ने जानकारी दिदैं भौतिक सुरक्षामा भने कुनै कसर नराखी काम गर्ने प्रतिबद्धता मुख्यमन्त्री कार्कीले जनाए। चिकित्सक सघ नेपालको पुरानो संस्था भएकाले यो सँग सहकार्य गर्न प्रदेश सरकार तयार रहेकोे बताउँदै उनले कोशी प्रदेशलाई स्वास्थको हब बनाउन सकिने बताए ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले चिकित्सक विदेश पलायन रोक्न आवश्यक सेवा सुविधा स्वदेशमा उपलब्ध गराउनुपर्ने सुझाए ।

संघका केन्द्रीय अध्यक्ष अनिल विक्रम कार्कीले व्यवस्था परिवर्तन भएपनि चिकित्सकको अवस्था परिवर्तन नभएको गुनासो व्यक्त गरे ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ