काठमाडौं—सुर्खेतका कृष्णप्रसाद कँडेल पेशाले सरकारी शिक्षक हुन् । झण्डै ४०—४२ वर्षअघि नै उनलाई खाना निल्न गाह्रो पर्न थाल्यो । ‘मलाई यो समस्या भएको ४०—४२ वर्ष भयो । सुरुमा खाना खाँदा घाँटी लाग्थ्यो पछि बढ्दैं गयो,’ ५६ वर्षीय उनले भने । नेपालगन्ज पुगेर उनले चार पटक इण्डोस्कोपी गरे । तर, रोग पत्ता लागेन् । गत चैतमा उनका छोराले चेकजाँचका लागि काठमाडौं बोलाए ।
वीर अस्पतालमा लिएर गए । वीरका ग्यास्ट्रोइन्टेरोलोजिष्ट डा. दिवस खड्काले इण्डोस्कोपी गरे । इण्डोस्कोपीपछि उनले अर्को मेसिनले हेर्नुपर्ने भन्दैं तत्काल त्यो मेसिन नरहेको र ल्याएपछि खबर गर्ने भनेर पठाइदिए । मेसिन आएपछि ३ बैशाखमा उनलाई बोलाइयो । वीरको ग्यास्ट्रोइन्टेरोलोजी विभागका प्रमुख डा. मुकेश शर्मा पौडेल र डा. खड्काले मेसिनबाट उनको समस्या केलाए । ४२ वर्षपछि बल्ल उनको रोग पत्ता लाग्यो—‘एक्लेजिया कार्डिया’ ।
डाक्टरहरुले भने, ‘यो एक लाखमध्ये एक जनामा हुने रोग हो । हामी वीरमै उपचार गर्छौ । तर, पहिलो पटक भएकाले तयारीका लागि एक डेढ महिना लाग्न सक्छ, खबर गर्छौ ।’ सबै तयारी पूरा भएपछि १ साउनमा कृष्णलाई काठमाडौं बोलाइयो । उनको रगत, एक्स—रे, मुटुलगायतका जाँच ठीक आएपछि ९ साउनमा नेपालमै पहिलो पटक उनको एक्लेजिया कार्डियाको ‘पर ओरल इण्डोस्कोपीक मायाटोमी (पोयम)’ गरियो ।
सप्तरी डाक्नेश्वरी बनौलाका समीउल अन्सारी वैदेशिक रोजगारीका सिलसिलामा कतारमा थिए । ७ महिनाअघिदेखि खाना घाँटीमा अड्किने समस्या देखिन थाल्यो । हेल्थ कार्ड लिएर कतारी स्वास्थ्य संस्थामा उपचार गर्न गए । चिकित्सकहरुले औषधी दिए । त्यसले उनको समस्या सुधार भएन । त्यसपछि समीउल कतारमै प्राइभेट अस्पतालमा उपचारका लागि गए । चिकित्सकहरुले इण्डोस्कोपी गर्न सुझाए ।
‘इण्डोस्कोपीमा तीन हजार रियाल लाग्ने रहेछ,’ २४ वर्षीय समीउलले शुक्रबार हेल्थआवाजसँग भने, ‘त्यसपछि नेपाल फर्किए ।’ नेपाल फर्केर उनी विराटनगरस्थित न्यूरो अस्पताल गए । उनलाई वीर अस्पताल रेफर गरियो । डा. मुकेशले उनको इण्डोकोस्कोपीलगायतका रिपोर्ट हेरेपछि उनको ९ साउनमै ‘पर ओरल इण्डोस्कोपीक मायाटोमी (पोयम)’ गरियो ।
वीर अस्पतालमा एक्लेजिया कार्डिया (बिरामीलाई खाना निल्न गाह्रो हुने समस्या)को नेपालमै पहिलोपटक ‘पर ओरल इण्डोस्कोपीक मायाटोमी (पोयम)’ गरेका हुन् । ९ साउनमा एम्सका एशोसियट प्रोफेसर डा. आशिष अग्रवाल, डा. शर्मा पौडेल र डा. खड्काले सुर्खेतका ५६ वर्षीय कृष्ण र सप्तरीका २४ वर्षीय समिउलको एक्लेजिया कार्डियाको मिनिमल इनभिजिव प्रोसिडर मायाटोमी गरेका हुन् ।
डा. शर्माकाअनुसार वीरमा आवश्यक उपकरण भएपनि स्कील नभएका कारण यो विधीबाट यसअघि उपचार हुन सकेको थिएन । एम्सका एशोसियट प्रोफेसर डा. आशिष अग्रवालले सहयोग गरेपछि बुधबार एकै दिन दुई जनाको शल्यक्रिया गरिएको हो । चिकित्सकहरुलाई समिउलको शल्यक्रियामा डेढ घण्टा र कृष्णको शल्यक्रियामा दुई घण्टा समय लागेको थियो ।
सुरु हुने र लक्षणहरु बल्झिन लामो समय लाग्ने यो रोगको उपचारमा लागि नेपालमा यसअघि नेपालमा शल्यक्रिया र बेलुन हालेर फुकाउने दुई विधीबाट उपचार हुँदैं आएको थियो । ‘नेपालजस्तो देशमा बढी चलनमा रहेको बुलेन हालेर मासु मोटो भएको स्थान फुलाउने हो । मासु काटेर शल्यक्रिया गर्ने अर्को तरिकाबाट पनि उपचार हुन्थ्यो,’ डा. शर्मा पौडेल भन्छन्, ‘सन् २००८ पछि विश्वमा सबैभन्दा राम्रो र भरपर्दो टेक्नीकका रुपमा विकास भएको पोयम पद्धतिबाट भने नेपालमै पहिलोपटक वीरमा उपचार गरेका हौं ।’ यो उपचार पद्धतिमा इण्डोस्कोपीको माध्यमबाट मोटो भएको लेयरलाई काटेर उपचार गर्ने गरिन्छ ।
डा. शर्माकाअनुसार एक लाख जनामध्ये एकमा देखिने यो रोगका बिरामीको कमी र उपकरण अभाव कारण पनि नेपालमा अहिलेसम्म यो उपचार पद्धतिबाट उपचार हुन सकेको थिए । एक्लेजिया कार्डियाको उपचारमा पोयमलाई सबैभन्दा प्रभावकारी विधी मानिन्छ । किनभने, बेलुनले फुलाउँदा कतिपय बिरामीलाई स्थायी उपचार नहुने र बेला—बेला फुलाउने पर्ने हुन सक्छ भने शल्यक्रिया गर्दा घाउ बन्ने, चिर्नुपर्नेलगायतका कारण जटिलता हुन सक्छन् । तर, मिनिमल इनभिजिव पद्धतिबाट हुने मायाटोमी भने स्थायी उपचार भएको डा. शर्मा बताउँछन् । यो विधीबाट उपचार गर्दा बाहिर घाउ नहुने, नदुख्ने, निल्न सजिलो हुने र छोटो समयमै अस्पताल डिस्चार्ज हुनेलगायतका फाइदा छन् ।
एक लाखमा जनामा मात्रै देखिने भएकाले यस्ता रोगका बिरामीहरु थाहा नभएर लुकेर बसेको हुन सक्ने डा. शर्मा बताउँछन् । ‘हामीले वीरमा बिरामी भएमा दुई तीन महिनामा यस्ता शल्यक्रिया गर्ने योजना बनाएका छौं,’ उनी थप्छन् । वीर अस्पतालमा यो उपचार निकै सस्तो शुल्कमा उपलब्ध गराइने उनले जानकारी दिए । भारतमा भने यो विधीबाट उपचार गर्दा साढे दुई लाख रुपैयाँसम्म खर्च हुन्छ । तर, वीरमा पहिलो पटक भएकाले दुवै शल्यक्रिया निःशुल्क गरिएको हो ।
‘एक्लेजिया कार्डिया’ भएका बिरामीलाई सुरुमा झोल खाने कुरा निल्न गाह्रो हुने र त्यसपछि विस्तारैं ठोस कुरा पनि खान नसक्ने हुन्छ । ‘खाना निल्ने पाइप जहाँ भुँडीमा जोडिन्छ, त्यहीनेरका मांशपेशीहरु मोटो हुँदै जाने भएकाले यस्तो समस्या देखिन्छ,’ डा. शर्मा भन्छन्, ‘बिस्तारै हुने भएकाले यो सुरुमा बिरामीलाई थाहा हुँदैन् । एक वर्ष वा त्योभन्दा धेरै वर्षपछि मात्रै बिरामीलार्ई आफूलाई समस्या भएको थाहा हुन्छ ।’ जब यो मोटो हुँदैं जान्छ माथिल्लो खाना नली फूल्दै आउँछ भने खाएको कुरा पेट नगएर त्यही थिंग्रिन थाल्छ । त्यसपछि बिरामीलाई छातीमा जलन हुने, बोमिट आउने, दुब्लाउँदैं जानेजस्ता समस्याहरु देखिन थाल्छन् ।