२०८१ कात्तिक २, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशबागमती प्रदेश सरकारले संस्थागत स्वास्थ्य बीमामा आवद्ध गराउने नीति ल्यायो तर कार्यन्वयनमा गएन

बागमती प्रदेश सरकारले संस्थागत स्वास्थ्य बीमामा आवद्ध गराउने नीति ल्यायो तर कार्यन्वयनमा गएन


काठमाडौं–बातमती प्रदेश सरकारले प्रदेश मातहतका कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्धता गराएर संस्थागत बीमा आवद्धताको सुरुवात गर्ने तयारी रोकिएको पाइएको छ । प्रदेश सरकारले नीति तथा कार्यक्रमको २५ औं बुँदामा प्रदेश मातहतका पदाधिकारी तथा सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आवद्ध हुन अभिप्रेरित गर्ने उल्लेख गरेको छ ।

प्रदेश सरकारको नीति तथा कार्यक्रममा नै परेको सो कार्यक्रम सरकार परिवर्तनसँगै सेलाएको पाइएको छ । निवर्तमान स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले १८ असार २०८१ मा काठमाडौंमा भएको पत्रकार सम्मेलनमा नीति तथा कार्यक्रममा प्रदेश सरकारले संगठित क्षेत्र (सरकारी कर्मचारी)लाई बीमामा अनिवार्य गराउने नीतिगत निर्णय गरेको र १ साउनबाट लागु हुने बताएका थिए ।

उनले पहिलो चरणमा स्वास्थ्य मन्त्रालयअन्तर्गतका १ हजार ५ सय ७१ कर्मचारीको संस्थागत बीमा अनिवार्य लागु गर्न निर्णय गरिने बताएका थिए । ‘हामी बागमती प्रदेशबाट संस्थागत बीमा अनिवार्य गराउने तयारीमा छौं । नीति तथा कार्यक्रममा नै भएको कुरा हो,’ उनले भने, ‘सुरुमा स्वास्थ्य मन्त्रालयका कर्मचारीबाटै सुरु गर्छौ ।’

१ साउनबाट संस्थागत बीमालाई अगाडि बढाउने तयारी थालेको प्रदेश स्वास्थ्य मन्त्रालय मन्त्रीले राजीनामा दिएपछि पछाडि फर्किएको छ । संस्थागत बीमा गराउन लागेको मन्त्रालय हाललाई ऐच्छिक गराउने र अनौपचारिक रुपमा आग्रह गर्ने अवस्थामा मात्र पुगेको देखिन्छ ।

मन्त्रालयका योजना तथा जनस्वास्थ्य महाशाखा प्रमुख सागरप्रसाद घिमिरे सरकारको नीति तथा कार्यक्रममा सरकारी कर्मचारीलाई बीमामा आवद्ध हुन प्रोत्साहन गर्ने भनिएको हुँदा मन्त्रालयले ऐच्छिक रुपमा मातहतका निकायलाई अनुरोध गरिरहेको बताउँछन् । ‘सरकारको प्रोत्साहन गर्ने नीति हो । ऐच्छिक रुपमा अगाडि बढाउन हामीहरु अनुरोध गरिरहेका छौं,’ उनी भन्छन्, ‘निर्णय नै भएर परिपत्र भने गरिएको छैन ।’

स्वास्थ्य बीमा ऐन र नियमावलीले सरकारी संगठित क्षेत्रलाई अनिवार्य स्वास्थ्य बीमामा आवद्ध हुनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ । नियमावलीले संगठित क्षेत्र स्वास्थ्य बीमामा आवद्ध हुँदा एक वर्षको लागि सरकारी तलवको १ महिनाको १ प्रतिशत बराबर काटिने व्यवस्था छ ।
तर, तीन वटै सरकारले ऐनमा भएको अनिवार्य व्यवस्थालाई वेवास्था गर्दै आएका छन् । बागमती सरकारले नीतिगत रुपमा सुरु गरेतापनि कार्यन्वयनमा लैजानपछि हटेको पाइएको छ ।


क्याटेगोरी : बाग्मती प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ