बजेट सक्नुपर्ने भएपछि कास्कीका स्वास्थ्य संस्थामा औषधी पर्याप्त
विपत् तथा महामारी प्रतिकार्य सुस्त

पोखरा—कास्कीका स्वास्थ्य संस्थाहरुमा औषधी स्टक पर्याप्त रहेको सम्बन्धित अधिकारीले बताएका छन् । ४ गाउँपालिका र १ महानगरपालिका रहेको कास्कीका स्वास्थ्य संस्थामा औषधी स्टक रहेको छ । सरकारी स्वास्थ्य संस्थामा आर्थिक वर्षको अन्त्यमा बजेट सक्नुपर्ने भएकाले पनि संघीय सरकारले नै पर्याप्त औषधी पठाउने गरेको एक जनप्रतिनिधिले बताए ।
‘आर्थिक वर्षको अन्त्यमा औषधी अभाव भन्ने कुरै हुँदैन । आर्थिक वर्ष मध्यसम्म टेन्डरलगायत कारणले अभाव हुने भए पनि आवको अन्त्यमा बजेट सक्नुपर्ने भएपछि संघीय सरकारले नै घुइँघुइँ पठाइदिन्छ,’ उनले भने ।
औपचारिक रुपमा गठन भएका समितिबाहेक महामारी प्रतिकार्य तयारी खासै भएको देखिँदैन् । पालिकास्तरीय समितिले जिल्लासँग समन्वय गरेर काम गर्ने बताउँछन् ।
रुपा गाउँपालिका अध्यक्ष नवराज ओझा गाउँपालिका आफैंले अस्पताल सञ्चालन गरिरहेकाले औषधी अभाव हुन नदिने गरी काम गरिरहेको बताउँछन् । विपत् तथा महामारीमा पालिकास्तरीय टिम बनाएर तयारी गरिएको उनी बताउँछन् । ‘विद्यालय र विद्यार्थीमार्फत् समुदायमा सचेतना कार्यक्रम चलिरहेको छ, क्लब आमा समूह पनि परिचालन गर्न सकिन्छ, महामारी तथा विपत्मा उद्धार तथा नियन्त्रणका लागि टिम तयारी अवस्थामा रहेको छ ।’
माछापुच्छे गाउँपालिकामा पूर्व तयारीस्वरुप सदस्यीय औषधी व्यवस्थापन तथा आपूर्ति समिति गठन स्वास्थ्य शाखा संयोजक डिल्लीराम दाहाल बताउँछन् । स्वास्थ्य स्वयंसेविकामार्फत् सूचना संकलन हुने गरेको छ । ‘पालिकामा विपद् व्यवस्थापन समिति छ, डाटाबेसमा काम हुन्छ, मागका आधारमा औषधी स्वास्थ्य संस्थामा पठाउँछौं । यथेस्ट औषधी छ,’ उनले भने ।
सचेतना तथा विपद्मा उद्धार सामग्री पालिकाले प्रदान गरेको माछापुच्छे गापाका प्रवक्ता तथा वडा नम्बर २ का अध्यक्ष गणेश आचार्यले बताए ।
अन्नपूर्ण गाउँपालिकामा स्वास्थ्यकर्मीहरुको समूह छ, समस्या आयो भने सूचना पाएलगत्तै खटिने र बिदा नबसी नहुने अवस्थाबाहेक कार्यालय नछोड्ने गरी निर्देशन भएको स्वास्थ्य शाखा प्रमुख ऋषिराम पौडेल बताउँछन् । कम्युनिटी रेस्पोन्स टिम (सिआरटी) र ¥यापिड रेस्पोन्स टिम (आरआरटी) टोली सक्रिय हुने उनको भनाइ छ ।
मादी गाउँपालिकामा पनि अन्य पालिकाको जस्तै टिम त तयार छ, तर तत्काल कसरी अघि बढ्ने भन्ने निर्णय गर्न छलफलकै तयारीमा रहेको मादी गाउँपालिका प्रवक्ता तथा मादी २ का अध्यक्ष भोजबहादुर गुरुङ बताउँछन् ।
सरुवा तथा संक्रामक रोग महामारी प्रतिकार्यस्वरुप प्रदेशस्तरीय समिति बनेको छ । संक्रामक तथा सरुवा रोग अस्तालका निर्देशक डा. विकास गौचन डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीका लागि पहिलो चरणको तालिम प्रदान गरिएको बताउँछन् । स्थानीय पालिकासँगको समन्वयमा डेंगीका लार्भा नष्ट गर्ने गरी काम गर्ने तयारी छ । उनका अनुसार डेंगीको संक्रमण बढ्ने समय भएको तर सामान्य अवस्था रहेको छ ।
धेरै पढिएका
- १ रौतहटको गजेन्द्रनारायण स्मृति अस्पतालमा फार्मेसी अध्ययनरत १८ वर्षीया छात्रा मृत फेला
- २ गंगालाल बालबालिकाको मुटु उपचारमा अपुग रकम व्यवस्थापनबारे अध्ययन गर्न उपसमिति बनाउने
- ३ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न
- ४ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो
- ५ ‘मस्कुलर डिष्ट्रोफी’को उपचार तथा रोकथाममा सुझाव दिन प्रा.डा. अग्रवालको नेतृत्वमा समिति
- ६ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक संसदीय समितिबाट पारित
- ७ गेटा अस्पतालमा सञ्चालनमा रहेका सेवाहरु सुदृढीकरण गरिनेछ : डा. यादव
तपाईको प्रतिक्रिया दिनुहोस