२०८१ असोज १९, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशमणिपालको १९ करोड ८१ लाख रुपैयाँ कर छुट गरेको उजुरीपछि महानगरमा अख्तियारको छापा

मणिपालको १९ करोड ८१ लाख रुपैयाँ कर छुट गरेको उजुरीपछि महानगरमा अख्तियारको छापा

नगरसभाबाट निर्णय बदर, सर्वाेच्चमा मणिपाल


पोखरा—भारतीय लगानीकर्ताबाट दुई वर्षअघि नेपाली लगानीकर्ताले खरिद गरेपछि बिक्री गर्न नमिल्ने भन्दै मणिपाल विवादमा तानिएको थियो । ५० वर्षपछि राज्यलाई बुझाउनुपर्ने शर्तमा खोलिएको मणिपाल शिक्षण कलेज व्यक्तिलाई बिक्री भएकोमा विरोध भएको थियो ।

मणिपाल शिक्षण अस्पताल व्यवसायी आनन्दराज बतास, नारायण पौडेल समूहले खरिद गरेको थियो । झण्डै दुई वर्षपछि यतिबेला फेरि मणिपालले तिर्नुपर्ने झण्डै २० करोड रुपैयाँ राजस्व पोखरा महानगरपालिकाले छुट दिएपछि अर्को विवादमा परेको छ ।

महानगरपालिकाको २०७९ चैत १० गते बसेको कार्यपालिका बैठकले १९ करोड ८१ लख रुपैयाँ कर छुट दिने निर्णय गरेको थियो । आफूले गरेको निर्णय विवादित बनेपछि सुरक्षित अवतरणको बाटो समात्दै महानगरले छानविन समिति बनाएको थियो । १५ औं नगरसभाले नक्सा पासको राजस्व छुटको निर्णय बदर गरेको छ । महानगरपालिकाले ७ असारमा पत्र लेखेर बेरुजु लेखिएको बाँकी रकम भुक्तानीका लागि निर्देशन दिएको छ ।

महालेखा प्रतिवेदनले मणिपाललाई राजस्स्व छुट दिँदा महानगरको राजस्वमा नोक्सान भएको र छुट दिएको रकमसमेत असुल गर्न भनेको छ । महालेखाले असुल गर्न भनेकोमा महानगरले छुट दिने र सरोकारवालाहरुले विरोधको आवाज निकालिरहँदा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयको टोलीले मंगलबार महानगर कार्यपालिका बैठकको निर्णय, राजस्वसम्बन्धी निर्णय, राजस्व परामर्श समितिको निर्णय, नक्सा पासलगायत कागजात नियन्त्रणमा लिएको छ ।

अख्तियार पोखराका सूचना अधिकारी जगदीशचन्द्र शिवाकोटीले राजस्व छुटसम्बन्धी उजुरी परेपछि कागजात नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको बताए । पोखरा महानगरका मेयर धनराज आचार्यले मणिपालका सेयरधनीसँगका निकटताका कारण राजस्व छुट दिएको आरोप लागेको छ ।

एमाले पोखरा महानगर कमिटीले मणिपाल भवनको नक्सा पासमा राजस्व छुट दिएर महानगर भ्रष्टाचारको दलदलमा फसेको आरोप लगाएको छ । यतिमात्रै होइन, राजस्व छुटको निर्णय कार्यपालिका बैठकमा छलफल नै नगराई कीर्ते निर्णय गरेको गम्भीर आरोप लगाएको छ ।

पोखरा महानगरपालिका लेखा समिति संयोजक झपट रानाभाट लेखा समितिले निर्देशन र खबरदारी गरिरहेको बताउँछन् । उनले भने, ‘हाम्रा प्रतिवेदन र बैठकका निर्णयहरु छन्, हामी ३४/३५ वटा बैठक बसेको छौं, सबै बैठकमा यस्ता कुरा गरिरहेका छौं ।’

यता, मणिपाल शिक्षण अस्पताल मलेपको प्रतिवेदन गलत भएको भन्दै सर्वोच्च अदालत पुगेको छ । मलेपले गलत आधार लिएर प्रतिवेदनमा बेरुजु देखाएको मणिपालको दाबी छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ