२०८१ पुस २३, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १२९ वर्षीया कविताले पाइन् नयाँ जीवन

२९ वर्षीया कविताले पाइन् नयाँ जीवन

रक्तअल्पता भएकी गर्भवतीको मोरङ सहकारीमा निःशुल्क उपचार


विराटनगर—भोजपुरको रामप्रसादराई गाउँपालिका–८ की २९ वर्षीया रक्तअल्पता भएकी गर्भवती कविता राईको मोरङ सहकारी अस्पतालमा निःशुल्क उपचार भएको छ । आर्थिक अवस्था नाजुक भएकी राईको उपचार मोरङ सहकारीमा निःशुल्क भएको हो ।

गर्भवती राईसँग रकम अभाव नभएपछि विराटनगरस्थित कोशी अस्पतालमा देखाएपछि घर फर्किदै थिइन् । सुनसरीको बराहक्षेत्रबाट जेटबोर्ड चढेर घर जाने तयारीमा रहेकी थिइन् । त्यही बीचमा स्थानीय संचारकर्मीले आर्थिक अवस्था अभावको कारणले उपचार नपाएको भिडियो सामाजिक संजालमा हालेका थिए । सो भिडियो भाइरल भयो ।

रकम अभावमा नभएर उपचार नपाएको भिडियो मोरङ सहकारीका स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा. बालकृष्ण साहले जानकारी पाएपछि उनको उपचार निःशुल्क गरिदिने बताए । त्यसपछि स्थानीयको सहयोगमा कविता २४ जेठमा मोरङ सहकारी अस्पताल आइन् । उनको स्वास्थ्य परीक्षण गर्दा ७ महिना पूरा भएको ३२ हप्ताको गर्भ थियो । ‘गर्भको बच्चा ३२ हप्ता मात्रै पूरा गरेको र आमाको जटिलता कम गर्न बच्चा निकाल्नु पर्ने थियो । हामीले अस्पताल आएको भोलिपल्ट २५ जेठमा शल्यक्रिया गरी बच्चा निकाल्यौं । जटिल अवस्थामा उपचार गर्दागर्दै पनि आमा र बच्चा दुवैको बचाउन सकियो,’ उपचारमा संलग्न चिकित्सक डा. साहले भने ।

गर्भवती कविताको स्वास्थ्य अवस्था जटिल रहेको डा. साहले बताए । उनीमा उच्च रक्तचापले शरीर सुन्निएको, मिर्गौला तथा कलेजोमा पनि असर गरिसकेको, कुपोषण र रक्तअल्पता भएको थियो । ‘रक्तअल्पता भएको कारणले शल्यक्रियापछि हामीले तीन पिन्ट रगत चढाएर विरामीको सफल उपचार गर्न सकिएका छौं,’ उनले भने, ‘आमा र नवजात शिशुको अवस्था अहिले राम्रो भएको छ । त्यसैले बुधबार बिरामीलाई डिस्चार्ज गरिएको छ ।’

मोरङ सहकारीका नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. प्रदीपकुमार झाले ३२ हप्तामा जन्मिएको नवजात शिशुको तौल १६ सय ग्राम रहेको बताए । ‘महिना नपुगेको र तौल कम भएको नवजात शिशुमा विभिन्न जटिलताहरू देखा पर्ने गर्दछ । यस्तो शिशुले तापक्रम मेन्टन गर्न सक्दैन । त्यसैले हामीले एनआईसीयुमा राखेर उपचार गरेका थियौं,’ डा. झाले भने, ‘यसरी उपचार गरेपछि अहिले नवजात शिशुको स्वास्थ्य अवस्था राम्रो रहेको छ ।’

अस्पतालका संचालक मिलन पौडेलले आर्थिक अवस्था नाजुक भएको परिवारको सामाजिक उत्तरदायित्वअन्तर्गत रहेर निःशुल्क उपचार गरेको बताए । ‘पैसा अभावको कारणले कसैले पनि मृत्युवरण गर्नु हुँदैन भन्ने हाम्रो मान्यता रहेको छ । त्यही भएर हामीले सामाजिक उत्तरदायित्वअन्तर्गत रहेर निःशुल्क उपचार गरेर आमा र बच्चालाई बचाउन सफल भएका छौं ।’

उपचारपछि कविताले नयाँ जीवन पाएको बताइन् । ‘बाँच्छु जस्तो लागेको थिएन् । असह्यै पीडा भएको थियो । उपचारपछि अहिले मज्जासँग हिडडुल गर्न सक्ने भएको छु,’ डिस्चार्ज भएपछि उनले भनिन्, ‘उपचारमा संलग्न चिकित्सकको टिम र अस्पतालप्रति कृतज्ञ रहेको छु ।’ कविताका श्रीमान भोजराज राईले पनि श्रीमतीलाई नयाँ जीवन दिने उपचारमा संलग्न चिकित्सक र हस्पिटल परिवारलाई धन्यवाद दिए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ