वीरेन्द्रनगर—कर्णाली प्रदेशमा पढेकाभन्दा नपढेका महिलामा मातृ मृत्युदर बढी हुने गरेको पाइएको छ । राष्ट्रिय जनसंख्या र आवास जनगणना, २०२१ का अनुसार कर्णाली प्रदेशमा मातृ तथा प्रसवकालीन मृत्युदरमा प्रति एक लाख जनसंख्यामा १७२ जना मृत्यु हुने गरेको छ ।
नेपालमा प्रति एक लाख जनसंख्यामा १५१ जनाको मृत्यु हुने गरेकोमा कर्णालीमा त्यो जनसंख्या अनुपातमा १७२ जना मृत्यु हुने गरेको कर्णालीमा किशोर–किशोरी यौन तथा प्रजन स्वास्थ्य विषयमा जानकारी आवश्यक रहेको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका वरिष्ठ नर्सिङ अधिकृत दिपा भट्टराईले बताइन् । ‘नेपालमा सबैभन्दा बढी मातृ मृत्युदर लुम्बिनी रहेको छ । जहाँ एक लाखमा २०७ जनाको मृत्यु हुने गरेको छ,’ उनले भनिन्, ‘त्यसभन्दा पछि कर्णालीमा हुने गरेको छ ।’
जनगणनाअनुसार कर्णालीमा हरेक वर्ष जीवित जन्म ३१ हजार ३२३ हुने गरेको भएपनि प्रजनन उमेर समूहका ६५७ जना महिलाको मृत्यु हुने गरेको मातृ मृत्यु अनुपात १७२ जना रहेका छन् ।
जिल्लागत तथ्यांकअनुसार कर्णाली प्रदेशका १० जिल्लामध्ये मातृ मृत्यु दर अनुपातमा सबैभन्दा बढी सुर्खेतमा १० जना हुने गरेको छ । सबैभन्दा कम जुम्ला जिल्लामा हुने गरेको त्यहाँ १ जनाको मृत्यु हुने गरेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
त्यस्तै, डोल्पामा तीन जना, मुगुमा दुई जना, हुम्लामा चार जना, कालीकोटमा छ जना, दैलेखमा छ जना, जाजरकोटमा आठ जना, रुकुमपश्चिममा छ जना र सल्यानमा आठ जनाको मृत्यु हुने गरेको छ ।
२० वर्षदेखि २४ वर्षका बढी मृत्यु
कर्णालीमा हुने मातृ मृत्युमा उमेर समूहअनुसार २० वर्षदेखि २४ वर्ष उमेरका बढी मृत्यु हुने गरेको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका वरिष्ठ नर्सिङ अधिकृत भट्टराईले बताइन् । ‘मातृ मृत्युअनुसार कर्णालीमा २० वर्षदेखि २४ वर्ष उमेर समूहका ३५ प्रतिशत मातृ मृत्यु दर रहेको छ,’ उनले भनिन्, ‘यो उमेर समूहको मातृ मृत्यु दर निकै डरलाग्दो अवस्था रहेको छ ।’
त्यस्तै, १५ वर्षदेखि १९ वर्ष उमेर समूहका मातृ मृत्युदर २४ प्रतिशत, २५ वर्षदेखि २९ वर्ष उमेर समूहको मातृ मृत्युदर २२ प्रतिशत, ३० वर्षदेखि ३४ वर्ष उमेर समूहको मातृ मृत्युदर १३ प्रतिशत र ३५ वर्षदेखि ३९ वर्ष उमेर समूहको मातृ मृत्युदर ६ प्रतिशत रहेको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका वरिष्ठ नर्सिङ अधिकृत भट्टराईले जानकारी दिइन् ।
शिक्षितभन्दा अशिक्षितमा बढी मातृ मृत्युदर
कर्णाली प्रदेशमा शिक्षितभन्दा कम शिक्षितमा बढी मातृ मृत्यु दर रहेको छ । कर्णाली प्रदेशमा कहिल्यै विद्यालय नगएको वा थाहा नभएकोहरुमा २८ प्रतिशत मातृ मृत्युदर रहेको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका वरिष्ठ नर्सिङ अधिकृत भट्टराईले बताइन् । ‘१ कक्षादेखि ८ कक्षासम्म पढेका २२ प्रतिशतमा मातृ मृत्युदर रहेको छ,’ उनले भनिन्, ‘कक्षा ९ देखि १२ कक्षासम्म पढेका ५० प्रतिशत मातृ मृत्यु दर रहेको छ ।’
स्नातक वा त्योभन्दा माथि पढेका महिलामा मातृ मृत्युदर शुन्य रहेको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका वरिष्ठ नर्सिङ अधिकृत भट्टराईले बताइन् ।
कर्णालीमा २० वर्षदेखि २४ वर्षका उमेरमा विवाह गर्ने ३० प्रतिशत, १८ वर्षको उमेरमा विवाह गर्ने २७ प्रतिशत र १५ वर्षको उमेरमा विवाह ६ प्रतिशत महिलाले गर्ने गरेका छन् ।
मातृ मृत्यु दर घटाउन के गर्दैछ प्रदेश सरकार
किशोर–किशोरी यौन तथा प्रजजन स्वास्थ्यका कर्णाली प्रदेश सरकारले विभिन्न नीति तथा रणनीति तयार पारेको छ । कर्णाली प्रदेश स्वास्थ्य सेवा ऐन, २०७८ को परिच्छेद ६ मा स्वस्थ्य सेवाको पहुँच विषयमा बुदाँ नं. २७ मा महिलाको सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्य अधिकारको सुनिश्चितत्ता गर्ने उल्लेख गरेको छ ।
त्यस्तै, प्रदेशमा बसोवास गर्ने महिलाहरुलाई प्रचलित कानुन बमोजिम प्राप्त सुरक्षित मातृत्व र प्रजनन, स्वास्थ्यको अधिकारको सुनिश्चितत्ता गरिनेछ भनेर उल्लेख गरेको छ । त्यसैको २. उपदफा १ बमोजिमको अधिकार कार्यान्वयनको लागि मन्त्रालयले नेपाल सरकार र स्थानीय तहसँग आवश्यक समन्वय गर्ने भनिएको छ ।
कर्णाली प्रदेश स्वास्थ्य नीति, २०७६ मा पनि बुदाँ नं. ६ नीति तथा कार्य रणनीतिहरुमा नीति ७.१२ सुरक्षित मातृत्व, बाल स्वास्थ्य, किशोरावस्थाको स्वास्थ्य, परिवार नियोजन तथा प्रजनन सेवामा विकास र विस्तार गरी पहुँचमा सहजता ल्याइनेछ भनेको छ । त्यसको ७.१२.७ प्रदेशका आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थालाई स्थानीय तहसँगको सहकार्यमा किशोर–किशोरी मैत्री सेवा प्रदान गर्न सक्षम बनाइनेछ भन्ने उल्लेख गरिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका प्रमुख वृषबहादुर शाहीले बताए ।
‘त्यसैको ७.१२.१२ सरोकारवालासँगको सहकार्यमा एक विद्यालय एक नर्सको अवधारणा, स्वस्थ विद्यालय वातावरण, स्क्रिनिङ्ग तथा स्वास्थ्य परीक्षण, किशोरावस्था स्वास्थ्य सेवा जस्ता विद्यालय स्वास्थ्य कार्यक्रमलाई प्रवद्धन गरिनेछ भनिएको छ,’ उनले भने, ‘स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका नागरिकलाई समेटने रणनीति २०७७, उद्देश्य १ भौगोलिक विकटका कारण पहुँच बाहिर रहेका समुदायमा स्वास्थ्य सेवाको पहुँच र उपभोग वृद्धि गर्ने रणनिति नं. ४ पहुँच नपुगेको समुदाय र वस्तीलाई प्राथमिकता दिई विद्यालय नर्स कार्यक्रममार्फत स्वास्थ्य सेवाको विस्तार गर्ने व्यवस्था गरिएको छ ।’