काठमाडौं—१४ जेठबाट अनिवार्य अवकास पाएका स्वास्थ्यको प्रशासनतर्फका सहसचिव जयबहादुर भण्डारीलाई घर पुर्याएर स्वास्थ्य मन्त्रालय आइपुगेको गाडी खोसेर स्वास्थ्यमन्त्रीको सचिवालयले लिएको छ । मन्त्रालयले सचिवालयलाई दिएको गाडी पुरानो भएको भन्दैं मन्त्री प्रदीप यादवको सचिवालयले भण्डारी चढ्दैं गरेको गाडी कर्मचारीबाट खोसेको हो ।
मन्त्रालयले भण्डारीले चढ्ने बीएभी ३१४६ नं. प्राडो नयाँ सहसचिव मदन कोइरालाका लागि दिने तयारी गरेको थियो । एक साताअघि वीर अस्पतालबाट मन्त्रालय सरुवा भएका उनी भण्डारीको अनिवार्य अवकास पर्खेर बसेका थिए ।
जसका कारण कोइराला वीर अस्पतालले नै उपलब्ध गराएको गाडी प्रयोग गरिरहेका थिए । तर, कार्यभार सम्हाल्नु अगाडि नै भण्डारीलाई प्रतिस्थापन गरेका कोइरालाले उक्त गाडी चढ्न पाएनन् ।
सहसचिव भण्डारीले चढ्दैं आएको गाडी मन्त्रीको सचिवालयले कब्जाको शैलीमा तानेपछि मन्त्रालयमा सोमबार हल्लीखल्ली भएको थियो । सचिवालय स्रोतकाअनुसार सो गाडी मन्त्रीका स्वकीय सचिव निखिल वर्णवालका लागि तानिएको हो ।
यसअघि मन्त्रालयले वर्णवाललाई प्राडो नै उपलब्ध गराएको थियो । तर, उनले गाडी पुरानो भएको भन्दैं सहसचिव भण्डारीले प्रयोग गरिरहेको नयाँ गाडी लिएर पुरानो सहसचिव कोइरालालाई दिन कर्मचारीलाई अह्राएका छन् ।