२०८१ कात्तिक २, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २मधेश प्रदेशका ९० प्रतिशत नागरिक स्वास्थ्य बीमाको पहुँच बाहिर

मधेश प्रदेशका ९० प्रतिशत नागरिक स्वास्थ्य बीमाको पहुँच बाहिर


जनकपुरधाम—मधेश प्रदेशमा स्वास्थ्य बीमामा १० प्रतिशत नागरिकमात्रै आवद्ध रहेको पाइएको छ । स्वास्थ्य बीमा बोर्ड मधेश प्रदेश कार्यलयको तथ्यांकअनुसार मधेशमा ९० जनसंख्या स्वास्थ्य बीमामा पहुँचबाहिर पाइएको छ ।

राष्ट्रिय जनगणना, २०७८ अनुसार मधेश प्रदेशको जनसंख्या ६१ लाख १४ हजार ६०० रहेको छ । तर, मधेशमा स्वास्थ्य बीमा गर्नेको संख्या ५ लाख ९६ हजार १७५ छ । जुन कुल जनसंख्याको झण्डै १० प्रतिशतमात्रै हुन आउँछ ।

मधेशमा सबैभन्दा बढी बिमित भएको जिल्ला सिरहामा १६.२९ प्रतिशत स्वास्थ्य बीमा आवद्ध छन् भने सबैभन्दा कम बिमित भएको जिल्ला सर्लाहीमा ४.६१ प्रतिशत जनसंख्यामा मात्रै बीमामा आवद्ध छ । यस्तै, पर्सामा १३.९३, सप्तरीमा १३.१२, रौतहटमा १०.२१, बारामा ८.८४, महोत्तरीमा ६.७८, धनुषामा ६.१५ प्रतिशत जनसंख्या स्वास्थ्य बीमामा आवद्ध छन् ।

मधेशमा स्वास्थ्य बीमा नवीकरण गर्नेको प्रतिशत पनि ५६.४८ प्रतिशत रहेको छ । विज्ञहरुले स्वास्थ्य बीमाबारे पर्याप्त जानकारी नहुनु, सहज रुपमा स्वास्थ्य बीमाबाट उपचार पाउन नसक्नु, बीमा सेवाबाट उपचार गर्ने संस्थाहरुको अभावजस्ता कारण मधेशमा नागरिकलाई स्वास्थ्य बीमामा अपेक्षाकृत रुपमा आवद्ध गर्न नसकेको जनाएको छन् ।

मधेशमा बिमित परिवार संख्या २ लाख ४७ हजार ६८५ रहेको छ । ५ लाख ९६ हजार १७१ बिमितमध्ये २ लाख ९१ हजार २९० महिला र ३ लाख ४ हजार ७९३ पुरुष रहेका छन् । मधेशमा सामान्य बिमित परिवार ८३ हजार ४९३ रहेका छन् ।

यस्तै, अति गरिब परिवार २ हजार १५९, महिला स्वयंसेविका परिवार १ हजार ३६० बीमामा आवद्ध छन् । जेष्ठ नागरिक १ लाख ५३ हजार ४९९, एचआईभी २ हजार ५२६, कुष्ठरोगी ४४, पूर्ण अपांग ४ हजार ३४९ र एमडिआर १ सय ५५ जना छन् ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ