विराटनगर—मोरङको उर्लावारी नगरपालिका—३ मंगलबारेमा रहेको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका दुई जना स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ ।
अस्पतालमा कार्यरत मेडिकल अधिकृत मोरङ पथरी शनिश्चरे नगरपालिका—१ का २५ वर्षीय डा. ब्रोमिस बुढाथोकी र डा. अनिलकुमार यादवलाई स्थानीय युवाहरुले कुटपिट गरेका हुन् ।
३ जेठमा दिउँसो खाजा खाएर फर्किने क्रममा डा. बुढाथोकीमाथि मंलबारेका सुमन श्रेष्ठ, पिपलराज गिरी र सानु रोक्काको समूहले आक्रमण गरेको आरोप छ । उनीहरुले डा. बुढाथोकीमाथि पूरानो रिसिइबीलाई लिएर आक्रमण गरेको उनले बताए ।
हस्पिटलमा उपचारको विवाद भएपछि डा. बुढाथोकीमाथि आक्रमण भएको बुझिएको छ । ‘केही दिन अगाडि डा. बुढाथोकीलाई हामी लोकल मान्छे हो । हामीलाई छिटो लाइनमा नबसी उपचार हुनुपर्छ भन्दै आएका थिए,’ अस्पतालका एक चिकित्सकले भने ।
‘उनीहरुमध्ये पिपलराज गिरी चिकित्सक बस्ने कुर्सीमा आएर बसे । मैले यो डाक्टर बस्ने कुर्सी हो । यहाँ नबसिदिनुहोला भन्दै बाहिर आउनु म देखाइदिन्छु भन्दै गए । पछि खाजा खाएर फर्किन क्रममा ममाथि आक्रमण भयो,’ डा. बुढाथोकीले सुनाए । ट्रमा सेन्टरमा उनी वि.सं. २०८० असोज २९ गते नियुक्त भएका हुन् ।
त्यसैगरी, ७ जेठमा आकस्मिक कक्षमा सेवा दिइरहेको अवस्थामा डा. यादवलाई आक्रमण गरेको बताएका छन् ।
इलका प्रहरी कार्यालय उर्लावारीका प्रमुख प्रहरी निरीक्षक देवेन्द्र दासले अभद्र व्यवहारमा जाहेरी दर्ता भएको बताए । जिल्ला प्रशासन कार्यलयबाट पक्राउ अनुमति पत्र पनि आइसकेकाले आक्रमणमा संलग्नको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । आक्रमण गर्नेहरु फरार रहेका छन् । खोजी कार्य तीव्र बनाएको मोरङ प्रहरीले जनाएको छ ।
बुधबारदेखि ओपीडी सेवा बन्द
चिकित्सक र स्वास्थ्यकर्मीहरूमाथि निरन्तरण आक्रमण भएपछि अस्पताल प्रशासनले ओपीडी सेवा एक घण्टा बन्द गर्ने भएको छ । बुधबार अस्पतालको ओपीडी सेवा बन्द गर्ने अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरुले निर्णय नै गरेका छन् ।
अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र चिकित्सकहरु असुरक्षित भएको र शान्ति सुरक्षाको माग गर्दै स्वास्थ्यकर्मीहरुले ओपीडी बन्द गर्ने निर्णय गरेका हुन् ।
उनीहरुले चिकित्सकमाथि आक्रमण गर्नेलाई पक्राउ गरी कारवाही नगरेपछि ओपीडी सेवा बन्द गर्दै थप आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने चेतवनी दिएका छन् । पहिलो दिन एक घण्टा १० बजेदेखि ११ बजेसम्म ओपीडी सेवा बन्द हुनेछ ।
त्यसपछि हातमा कालो पटी बाँधेर विरोध स्वरुप काम गर्ने उनीहरुले गरेको निर्णयमा उल्लेख छ । अस्पतालमा ओपीडीमा दैनिक ५ देखि ७ सय जना बिरामीले सेवा लिने गरेका छन् ।