काठमाडौं—उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । सोमबार विहान प्रधानमन्त्री पुष्पकमल दाहाललाई आफूले राजीनामा बुझाएको यादवले हेल्थआवाजलाई जानकारी दिए ।
‘मैले प्रधानमन्त्रीलाई राजीनामा बुझाए,’ उनले भने, ‘अहिलेको बदलिएको परिस्थितीअनुसार हामीले सरकार छाड्यौं ।’ यादवसँगै वन तथा वातावरण राज्यमन्त्री दिपक कार्कीले पनि राजीनामा दिएका छन् ।
बालुवाटार स्रोतले उपप्रधानमन्त्री यादवले प्रधानमन्त्री समक्ष राजीनामा बुझाएको पुष्टि गरेको छ । ‘उहाँले प्रधानमन्त्रीलाई नै नै राजीनामा बुझाउनुभएको हो,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘तर, प्रधानमन्त्री चितवनमा हुनुभएकाले अहिले बालुवाटारमा बुझाउनु भएको छ।’
प्रधानमन्त्री दाहाल चिवतनबाट दिउँसो तीन बजे काठमाडौं फर्कने कार्यक्रम छ ।
यादव दुई महिनाअघि नयाँ गठबन्धन सरकार बनेपछि उपप्रधान तथा स्वास्थ्यमन्त्री बनेका थिए । उनी अहिलेको एमाले, माओवादी, रास्वपा, जसपा, नेपालको गठबन्धनमा सुरुदेखि नै रहँदैं आएका थिए ।
यादवका सहयोगी महेश चौरासियाले पनि यादवले प्रधानमन्त्री दाहाललाई लेखेको राजीनामा पत्र सार्वजनिक गरेका छन् ।