कोलोन भनेको ठूलो आन्द्रा हो । ठूलो आन्द्रामा हुने क्यान्सरलाई नै कोलोन क्यान्सर भनिन्छ । दिसामा रगत आउने यसको मुख्य लक्षण हो । कतिपय अवस्थामा दिसामा रगत आउँदा पाइल्स भयो भनेर पाइल्सको उपचारतर्फ लागिन्छ । यसो गर्दा क्यान्सरको पहिचान नभएर झनै जटिल अवस्था आउन सक्छ ।
रक्तअल्पता भइरहेको छ तर दिसा जाँच गर्दा आँखाले नदेखिने ‘अकुल ब्लड’हरु गइरहेको देखियो भनेपनि क्यान्सरको जाँच गराउनुपर्ने हुन्छ । लक्षणअगावै सुरुको पोलिव अवस्थामै जाँच गर्न सकियो भने हामीले कोलोन क्यान्सर हुनबाट बचाउन सक्छौं । क्यान्सरको सुरुको अवस्थामै पहिचान भयो भने यसलाई समयमै उपचार गर्न सकिन्छ ।
त्यसकारण कोलोन क्यान्सरको नियमित स्कीनिङ गरिरहनु आवश्यक । क्यान्सर हुनुअघि नै गरिने जाँचलाई स्क्रिनिङ जाँच भनिन्छ । ४५ वर्षभन्दा माथिका व्यक्तिहरुले एकपटक यो स्क्रिनिङ जाँच गर्नुपर्छ । यो जाँच गराएपछि यदि बिरामीलाई वा उक्त उमेरका व्यक्तिहरुलाई क्यान्सर हुने सम्भावना रहेछ भनेपनि त्यसलाई टार्न सकिन्छ । क्यान्सर सुरुको अवस्था छ रहेछ भनेपनि त्यसलाई निको पार्न सकिन्छ ।
कोलोनोस्कोपी जाँच
स्क्रिनिङका लागि कोलनोस्कोपी गर्न सकिन्छ । यो जाँच यदि ४५ वर्षमा गरियोे र यदि कुनै लक्षण देखिएन् भने १० वर्षपछि मात्र गराउँदा पनि हुन्छ । यसमा ठूलो आन्द्रामा पाइप हालेर हेरिन्छ ।
कोलोनोस्कोपी गर्न असहज लाग्छ भने सहज जाँचहरु जस्तैः दिसा जाँच पनि गर्न सकिन्छ । यसमा अकुल ब्लड र फिकल ब्लड हेरिन्छ । यो वर्षैपिच्छे गराउँदा राम्रो हुन्छ । यदि यो जाँच गर्दा केही क्यान्सरसँग मिल्दो अवस्था देखियो भने कोलनोस्कोपी नै गराउनुपर्ने हुन्छ ।
त्यस्तै, कोलोनोस्कोपी गर्दा यदि कुनै गीर्खा वा पोलिवहरु देखियो भने कोलनोस्कोपी गर्दागर्दै हामीले त्यसलाई काटेर निकाल्न सक्छौँ । त्यसपछि त्यसलाई बायोप्सी जाँचका लागि पठाउने गरिन्छ । जाँचमा यो कस्तो टयुमर हो र यो पछि गएर क्यान्सरमा परिणत हुन्छ कि हुँदैन् भन्ने थाहा हुन्छ । यसको आधारमा नै के गर्ने भन्ने कुरा पत्ता लगाउन सकिन्छ ।
यसरी कोलोन क्यान्सर हुनुबाट हामीले जोगाउन सक्छौं । त्यस्तै क्यान्सरको सुरुको अवस्थामा रहेछ भने पनि यो जाँच गर्दा नै काटेर फाल्न सकिन्छ ।
परिवारमा आफ्नो कसैलाई कोलोन क्यान्सर भएको थियो वा छ भनेपनि समयमै यो जाँच गराउनुपर्ने हुन्छ । यदि आफ्नो परिवारको कसैलाई कोलोन क्यान्सर भएको छ र फेमिली हिस्ट्री छ भने उक्त व्यक्तिलाई क्यान्सर लागेको भन्दा १० वर्ष अगावै अर्को व्यक्तिले पनि जाँच गराउनुपर्ने हुन्छ ।
दिसामा रगत देखिनेबाहेक डायरिया भइराख्ने, कब्जियत भइरहने, पेट दुखिरहने जस्ता स्वास्थ्य समस्या देखिँदा पनि कोलोन क्यान्सरको परीक्षण गराउनुपर्छ । यी मध्ये कुनै लक्षण छन् भने कोलोनोस्कोपी गरेर हेर्नुपर्ने हुन्छ ।
होलबडी चेकअपबाट पत्ता नलाग्न सक्छ कोलोन क्यान्सर
अहिले नेपालमा होलबडी चेकअप प्याकेजहरु एकदमै लोकप्रिय छन् । धेरैले वर्षमा एक पटक होलबडी चेकअप गरिसकेपछि त्यसको रिपोर्टअनुसार आफ्नो स्वास्थ्य अवस्थाका बारेमा ढुक्क हुन्छन् । तर, होडबडी चेकअपमा त्यसमा सबै कुरा सामान्य आयो तर पछि माथि उल्लेख गरेका लक्षणहरु देखिइरहेका छन् भनेपनि कोलोन क्यान्सर भएको हुन सक्छ । त्यसकारण यसको छुट्टै जाँच गर्नुपर्छ ।
किनभने, होलबडी चेकअपका प्याकेजमा कोलोन क्यान्सर पत्ता लगाउने जाँचहरु राम्रोसँग गरिँदैनन् । पछि क्यान्सर भइसकेपछि मात्र थाहा हुने अवस्था सिर्जना हुनसक्छ । यो जत्ति ढिला जाँच गरिन्छ त्यति नै जटिलता बढ्दै जान्छ । होलबडी प्याकेजले शरीरमा भएका सम्पूर्ण रोग तथा शारीरिक अवस्थाको बारेमा पत्ता लगाउन सक्दैन् । ४५, ४८ वर्षकै उमेरमा पनि यो क्यान्सर हुन सक्छ । त्यसैले लक्षण देखिनासाथ सम्बन्धित ठाउँमा गएर उपचार गराइहाल्नुपर्छ ।
कोलोन क्यान्सरका कारण र बच्ने उपाय
कोलोन क्यान्सर हुने एउटा कारण जेनेटिक हुन्छ । त्यसबाहेक जीवनशैलीले पनि कोलोन क्यान्सरमा महत्वपूर्ण भूमिका खेल्दछ । माइक्रो कम्पोनेन्टहरु जस्तैः धुम्रपान, मद्यपान, खानपानमा प्रोसेस्ड मिटको सेवनले शरीरमा क्यान्सरको म्युटेसन गराइदिन सक्छन् । त्यस्तै पोलेर तथा सेकाएर खाइने खानेकुराहरुको नियमित सेवन, रंग हालेका खानेकुराहरुको नियमित सेवन आदिले पनि यसको जोखिम बढाउँछ ।
हाम्रो जीवनशैलीको म्याक्रो कम्पोनेन्टमा, व्यस्त जीवनशैली, बढ्दो मोटोपना, तनावयुक्त वातावरण आदिले पनि यसलाई बढाइरहेको हुन्छ । त्यसकारण नियमित व्यायाम गर्ने, स्वस्थ खानेकुराको सेवन गर्ने र तौललाई व्यवस्थित गर्ने गर्दा यो क्यान्सरबाट बच्न सकिन्छ र क्यान्सर हुने सम्भावना पनि कम गर्न सकिन्छ ।
माइक्रो कम्पोनेन्टअन्तर्गतका पोलेर खाने, सेकाएर खाने र प्रोसेस्ड खानेकुराहरुको सेवन कम गर्दा यसको सम्भावना घटेर जान्छ । जीवनशैलीमा पनि परिवर्तन ल्याउँदै स्वस्थ जीवनशैली अपनाउनुपर्छ ।