काठमाडौं—नेपाली कांग्रेसका सांसद गगन थापाले विवादित मन्त्रीहरुलाई घर पठाउन माग गरेका छन् । सोमबार प्रतिनिधीसभाको बैठकमा बोल्दैं उनले अख्तियारले डामेका, आयोगले पोलेका र सरकारी जग्गामा आँखा गाडेका झण्डावालाको झण्डा छोपेर घर पठाउन माग गरेका हुन् ।
केही दिनयता संसदमा टेरामक्स प्रकरणमा अख्तियारको छानविनमा रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत, बालकुमारी घटनामा छानविनमा दोषी देखिएका भनिएका भौतिक योजनामन्त्री प्रकाश ज्वाला र रामग्राम प्रकरणमा पर्यटनमन्त्री सुदन किराँतीको राजीनामा माग गरिरहेका छन् ।
नाम नकिटेरै सांसद थापाले तीन मन्त्रीहरुलाई छानविनका लागि मन्त्री पदबाट हटाउनुपर्ने प्रतिपक्षीहरुको मागमा समर्थन जनाएका हुन् । ‘विगत केही दिनदेखि यताकोले उता बसेको दागी देखाउने, उता बसेकाले यता दागी देखाउने दोहोरी चलिरहेको छ । यही पाराले त न संसद राम्रोसँग चल्ने भयो मूल विषय पनि छायामा पर्ने भयो,’ सांसद थापाले भने, ‘अब यसो गर्न लगाउ आसनको दायाँ बस्ने होस् कि बायाँ बस्ने होस्, काखैको होस कि पाखैको होस अख्तियारले डामेको, आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाडेको झण्डावालाको झण्डा छोपेर घर पठाइदिऊ ।’
थापाले यसबाहेक सहरी ठग्ने र दुई चार नागरिकता राख्नेहरुमाथि पनि अनुसन्धान गर्न माग गरेका छन् । ‘सहकारी ठग्ने र दुई चार थान नागरिकता राख्नेलाई पनि यहाँ राखेर होइन् घरै पठाइदिएर अनुसन्धान गर्न लगाऊ । यति गर्न सकेदेखि के होला निर्दोष भए फर्केर आउनुहोला फुलमाला लगाएर स्वागत गरौंला ।। दोषी भए दण्ड व्यहोर्नुहोला,’ उनले भने, ‘अलिअलि सफा गर्न सकेदेखि यहाँ मिटरब्याजका बारेमा किसानले दुधको मुल्य नपाएको बारेमा, एनसेलको प्रतिवेदनका बारेमा जमेर सार्थक छलफल गर्न सकिन्थ्यो होला । होइन भने उताकाले यता देखाउने यताको उता देखाउने यो दोहोरी चलि नै राख्ने भयो ।’
यसअघि रास्वपाका सभापतिसमेत रहेका रवि लामिछानेले पनि विवादित मन्त्रीहरुलाई पदबाट हटाउन माग गरेका थिए । सबै प्रतिपक्षी दलहरुले एकस्वरमा विवादित मन्त्रीहरुको. राजीनामा माग गरिरहेका छन् ।