नेपालमा नाक, कान, घाँटी रोगमा सन् २०१३ देखि काम गर्न थालेको हो । १० वर्षको अवधिमा हेर्दा नाक, कान, घाँटी रोगका बिरामी बढेको पाएको छु । पहिले जनमानसमा जनचेतनाको अभाव देखिन्थ्यो, अहिले जनचेतना बढेको छ ।
मैले नाक, कान, घाँटी (ईएनटी)मा प्रायक्टिस गर्दा यसका डाक्टरहरु निकै कम थिए । डाक्टर पाउनै गाह्रो थियो भने मेडिकल कलेजहरुलाई फ्याकल्टी पु¥याउनै हम्मे पर्ने अवस्था थियो । त्यो बेला बिरामीहरुले पनि विशेष सेवा नपाउने अवस्था थियो ।
अहिले चिकित्सकहरुको संख्या राम्रै छ । बिरामीहरुमा जनचेतना बढेका कारण बिरामीको संख्या पहिलेको तुलनामा बढेको छ । त्यही भएर नाक, कान, घाँटीका विविध किसिमका बिरामीहरु भेटिइरहेका छन् । त्यसमा कान, नाक, घाँटी सबैको समस्या लगभग कमन प्रकारको छ । जीवनशैली परिवर्तन भइरहेका कारण क्यान्सरको समस्या पनि एकदमै बढिरहेको छ ।
बिरामीहरुले पनि समयमै परामर्श गर्ने क्रम बढेको छ । म वीरगन्जमा काम गर्दा मेरो एक जना सिनियर भन्नुहुन्थ्यो, ‘कतिपय बिरामीहरु मेरो छोरा वा छोरीको कान नै बगेन भनेर आउँछन्’ । कान बग्नु समस्या हो । तर, वीरगन्जजस्तो जनघत्व एकदमै बढी भएको ठाउँमा त्यहाँको कानको समस्या भएका बिरामीहरु पनि धेरै छन् । त्यहाँ धेरै जनाको कान पाक्ने रहेछ । कान नपाक्नुलाई असामान्य रुपमा लिने गरेको देखियो ।
यसले के देखाउँछ भने कमन खालको समस्यामा पनि जनचेतना अभाव छ । तर, अहिले आएर यो परिस्थितीमा परिवर्तन भएको छ । मान्छेहरु समयमै उपचार गर्न आउन थालेका छन्, जसका कारण निदान र उपचार समयमै हुँदा बिरामी निको हुने क्रम पनि बढिरहेको छ ।
नाक, कान, घाँटीका समस्या
अहिले नाकमा मासु पलाउने, गन्ध थाहा नहुने र पिनासको समस्या पनि धेरैलाई छ । काठमाडौंमा धुँलो धुँवाका कारण घाँटीमा एलर्जी हुने र टन्सिलको समस्या पनि एकदमै धेरै छ । त्यसबाहेक मुखमा गिर्खा र डल्लाडुल्ली आउने समस्या पनि छ । यो क्यान्सर पनि हुन सक्छ भनेर सचेत रहन जरुरी छ । कानमा प्वाँल हुने, आवाज आउने श्वरयन्त्रमा मासु पलाउनेलगायतका विविध समस्याहरु देखिन्छन् ।
के हो कान बग्ने समस्या ?
नाक, कान, घाँटी सानो ठाउँ भएपछि समस्याहरु धेरै हुन्छन् । यसमा एकदमै कमन समस्या भनेको कान बग्ने समस्या हो । कान बग्ने समस्या विभिन्न किसिमका हुन्छन् । कानको जाली फुटेर कानमा पानी गयो वा फोहोर गयो भने त्यसले कान पाक्छ । कान पाकेपछि कान बग्ने गर्छ ।
कानमा कहिलेकाही बाहिरबाट हालिने तत्वहरु (जस्तैः बच्चाले मकैको गेडा वा केही अड्काइदिन्छ) त्यो कुहिन थाल्छ । त्यसले पनि संक्रमण गराउँछ । त्यही संक्रमणका कारण पनि कान बग्ने हुन्छ । तर, हामीले कान बग्ने समस्यालाई सामान्य रुपमा लिनु हुँदैन् ।
एउटा कानको जालीमा प्वाँल परेर कान बग्ने हुन्छ । अर्को कानको हड्डी खिइदैं कान बग्ने हुन्छ । तर, जुनसुकै कारण भएपछि कान बग्ने समस्या खतरापूर्ण नै हो । किनभने, कानबाट ब्रेन र टाउकोका महत्वपूर्ण अंगहरु नजिक हुन्छन् । त्यसले अरु ठाउँमा गएर असर पार्न सक्छ ।
हड्डी खिइने रोगमा पनि कान बग्छ । यसलाई मान्छेले सामान्य रुपमा लिइरहेका हुन्छन् । तर, हड्डी खिइदैं गएर ब्रेनमा मेनिनजाइटिस हुने, ब्रेनएप्सीस हुनेजस्ता समस्याहरु हुन सक्छन् । त्यही कारण हामीले काम बग्ने समस्यालाई चाँडै नै ईएनटी डाक्टर कहाँ गएर उपचारतर्फ लाग्नुपर्छ ।
कान बग्ने समस्याका लक्षण
- कानबाट पानीजस्तो पदार्थ निस्कने
- कानबाट पीप निस्कने
- कानबाट बगेको पीप र पानीले सिरानी भिज्ने
- ज्वरो आउन सक्छ
- सुनाइ कम हुन सक्छ
कान महत्वपूर्ण अंग भएकाले यसलाई बचाउन जरुरी छ । अहिले बच्चा जन्मिसकेपछि वा त्यो ठूलो भइसकेपछि पनि कानमा तेल हालिदिने गरिन्छ । त्यो गर्नु हुँदैन् । कानमा तेल हाल्दा ढुसी पलाउनेलगायतका समस्या निम्त्याउन सक्छ ।
कानको फोहोर निकाल्न कान कोट्याउने वा कोट्यादिने पनि गर्नु हुँदैन् । कानको जाली एकदमै नजिक हुने र त्यो प्लास्टिकको पातलो पोलिथिन जतिकै हुने भएकाले कान कोट्याउँदा त्यसमा प्वाँल पर्न सक्छ । त्यसकारण हामीले कान कोट्याउनु हुँदैन् । कानमा प्वाँल परेपछि फेरि कान बग्न थाल्छ, शल्यक्रिया नै गर्नुपर्ने हुन्छ ।
त्यसबाहेक हामीले धेरै सीसी पनि गर्नु हुँदैन् । किनभने, नाक र कान कनेक्टेड हुन्छन् । धेरै सीसी गर्दा कानमा समेत असर गर्छ ।
पछिल्लो एक दुई महिनामा स्कुलमा चोटपटक लागेर कानको जाली फुटेका बिरामीहरु पनि मैले दुई÷तीन जना हेरिसकेको छु । कहिलेकाही थप्पड कानको नजिक हिर्दाउँदा पनि कानको जाली पनि फुट्न सक्छ ।
कानको जाली फुटेपछि सुनाइमा कमी हुन्छ । त्यसमा धेरै हदसम्म शल्यक्रिया नै गर्नुपर्ने हुन्छ । कसै—कसैमा नयाँ आलो घाउ भएमा त्यो आफै पनि टालिन सक्छ नत्र सित्तिमित्ती नटालिन सक्छ । त्यही कारण कानलाई हामीले एकदमै जोगाउनुपर्छ ।
त्यसबाहेक ध्वनी प्रदुषणले पनि हाम्रो कानलाई असर गरिरहेको हुन्छ । फ्याक्टीमा काम गर्ने मान्छे, ट्राफिक प्रहरीलाई एक दुई वर्षमा केही नभएपनि लामो समयपछि त्यसको असर देखिन सक्छ । यसले कानको सुन्ने क्षमतामा ह्रास ल्याउँछ ।
हेडफोन सुन्दा पनि हाइ भोलयुममा सुन्नु हुँदैन् । त्यसलाई आधा गरेर सुन्नुपर्छ । एयर फोन र हेडफोन लो भोलयुममा सुन्नुपर्छ । सकेसम्म प्रयोग नगर्दा राम्रो हो । तर, प्रयोग गर्नैपरेमा पनि एकदमै लो भोलयुममा प्रयोग गर्नुपर्छ । कानमा आएर कराइदिने गर्नाले पनि कान ड्यामेज हुन सक्छ । लाउड साउण्ड एक्स्पोजरबाट बच्नुपर्छ ।
कान पाँच वटा सेन्स अग्र्यानमध्ये एक महत्वपूर्ण सेन्स अग्र्यान भएकाले क्वालिटी अफ लाइफका लागि एकदमै महत्वपूर्ण हुन्छ । कानले नसुन्दा इफिसेन्सी घट्ने, कमाइ घट्ने र समग्रमा जीवनको गुणस्तरीयता नै घट्ने भएकाले यसलाई हामीले विशेष ख्याल गर्नुपर्छ ।
- कान नकोट्याउने
- कानमा तेल, पानी नहाल्ने
- चोटपटक लाग्नबाट बचाउने
- कानको समस्या भएमा तुरुन्त चिकित्सक कहाँ जाने
- लाउण्ड साउण्ड एक्स्पोजरबाट बच्ने
कान बग्ने समस्याको उपचार
कान बग्ने समस्या के कारणले भएको हो भन्ने आधारमा यसको उपचार गरिन्छ । कहिलेकाही मासु पलाएर काम बग्ने समस्या भएको हुन सक्छ । साधारण मासु पलाएको छ भने औषधिले पनि ठीक हुन सक्छ ।
कानमा कहिलेकाही फोहोर भएर पनि बग्ने समस्या हुन्छ । त्यो फोहोर सफा गरेर औषधि चलाइदिएपछि कान सुख्खा हुन्छ र बग्ने समस्या ठीक हुन्छ । कान बग्ने समस्या कहिलेकाही नलीको समस्या भएर पनि हुन्छ । कहिलेकाही कानको नलीमा घाउँ बन्न सक्छ । त्यस्ता कुराहरु प्रायः औषधिले नै ठीक हुन्छ ।
कानको नलीमा ढुसी हुँदा पनि कान बग्ने समस्या हुन्छ । त्यो पनि औषधिले नै ठीक हुन्छ ।
तर, जालीमा वा जालीको भित्र असर परेर कान बग्ने समस्या भएको हो भने औषधिले सित्तिमिती ठिक हुँदैंन् । औषधिले बगेको कान सुकाइदिन्छ र शल्यक्रियाका लागि तयार बनाइदिन्छ । तर, त्यो दीर्घकालीन उपचार हुँदैन्, छोटो समयका लागि मात्रै हुन्छ । त्यसकारण हामीले सर्जरीका माध्यमबाट प्वाँल टाल्ने वा हड्डी खिई रहेको छ भने त्यसलाई क्लियर गर्ने गर्छौ ।