काठमाडौं—नेकपा एमालेका सांसद पदम गिरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निगरानीमा रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत पदमा बहाल रहन नमिल्ने बताएका छन् । आइतबार संसदमा बोल्दैं सांसद गिरीले स्वास्थ्यमन्त्रीलाई तत्काल बर्खास्त गर्न माग गरेका छन् ।
‘अख्तियारको निगरानीमा रहेका स्वास्थ्यमन्त्री नैतिकताका आधारमा पदमा बहाल रहन मिल्दैन्,’ उनले भने, ‘त्यसका कारण तत्काल स्वास्थ्यमन्त्रीलाई बर्खास्त गरियोस भनेर पनि हामीले निरन्तर माग गरिरहेका छौं ।’
सांसद गिरीले निरन्तर प्रतिपक्ष दलले संसदमा आवाज उठाउँदा पनि प्रधानमन्त्री पुष्पकमल दाहाल जवाफ दिन नआएको भन्दैं गम्भीर आपत्ति जनाए ।
एमालेले पर्यटमन्त्री सुदन किराँती र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको पनि राजीनामा माग गरिरहेको छ । सांसद गिरीले बदनियत भएका, छानविन रहेका र दोषी भएका मन्त्रीहरुलाई तत्काल बर्खास्त गर्न माग गरे ।
गिरीले मिटरब्याजी पीडितहरु २४—२५ दिनदेखि हिडेर काठमाडौं आएको र उनीहरु चिसोका कारण बिरामी परेको उल्लेख गर्दै उनीहरुका जायज मागहरु तत्काल पूरा गर्नसमेत माग गरे ।