काठमाडौं–सरकारले फागुन १३ गतेदेखि ७ चैत्रसम्म दादुरा–रुबेला विरुद्धको खोप राष्ट्रिय अभियान सञ्चालन गर्ने भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार दादुरा–रुबेलाको जोखिम रहेको ५१ वटा जिल्लामा खोप अभियान सञ्चालन गरिने भएको हो ।
खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार खोप अभियानमा ९ महिनादेखि १५ वर्षमुनिका ५७ लाख बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाउने लक्ष्य रहेको राखिएको छ । बढी प्रभावित काठमाडौंसहित २१ वटा जिल्लामा ९ महिनादेखि १५ वर्षमुनिका बालकालिकालाई खोप लगाइनेछ । अन्य जिल्लामा भने ८ महिनादेखि ५ वर्षमुनिका बालबालिकामा यो खोप लगाउन लागिएको हो ।
डा. गौतमकाअनुसार काठमाडौं उपत्यकाका तीन जिल्लासहित तराईंका भारतसँग सीमा जोडिएका दादुरा–रुबेलाको अति सङ्क्रमित २१ जिल्लामा ९ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइनेछ । काठमाडौं दादुरा–रुबेलाको अतिसङ्क्रमित जिल्ला हो । गत वर्ष काठमाडौं जिल्लामा दादुरा–रुबेला फैलिँदा दुई सय २५ जना सङ्क्रमित र एक जनाको मृत्यु भएको थियो ।
यसअघि नियमित खोपअन्तर्गत दादुरा–रुबेलाको खोप लगाएकाहरुले पनि यो खोप लगाउनुपर्ने उनको भनाइ छ । सरकारले सन् २०२६ सम्म दादुरा—रुबेला निवारण गर्ने लक्ष्यका साथ खोप अभियान सञ्चालन गर्न थालेको हो ।
दादुरा–रुबेलाको खोप अभियानको लागि सरकारले देशभर ५० हजार स्वयंसेवक, ३० हजार स्वास्थ्यकर्मी र ४० हजार खोप केन्द्र तोकिएको समेत खोप शाखा अभियान डा. गौतमले बताए ।
उक्त खोप अभियानको लागि खोपको अन्तर्राष्ट्रिय सहायता संस्था गाभीको सहयोगमा झन्डै एक अर्ब ३५ करोड रुपैयाँको सरकारले ६३ लाख मात्रा खोप नेपाल ल्याएर सबै प्रदेशहरुबाट वितरण गरिसकेको छ ।