काठमाडौं—नेकपा एमालेका सांसद महेश बर्तौलाले भ्रष्टाचारको आशंका गरिएको व्यक्तिलाई मन्त्री रुपमा राखिएको भन्दैं संसदमा आक्रोश व्यक्त गरेका छन् । आइतबार प्रतिनिधीसभाको बैठकमा बोल्दै उनले भ्रष्टाचारको आशंका गरिएको व्यक्तिलाई अगाडि राखेर रोष्टमबाट सुसशानको सुगा रटाइ भाषण सुन्न तयार नभएको बताए ।
‘हाम्रो छेउमै अख्तियारको निगरानीमा रहेको, अख्तियारले बयानमा बोलाएको अनियमितताको आशंका भएको भ्रष्टाचारको आशंका गरिएको व्यक्तिलाई देशको मन्त्रीको रुपमा राखेर अनि प्रधानमन्त्रीज्यूको यहाँ अगाडि रोस्टरबाट सुशासनको सुगारटाइ भाषण सुन्न हामी तयार छैनौं,’ उनले भने, ‘त्यो भाषण सक्कली हुन सक्दैन। नक्कली हुन सक्छ।’
उनले सभामुखमार्फत भ्रष्टाचार, आर्थिक अपचलन, अनियमिततामा जोडिएका मन्त्रीहरु, सरकारले बनाएको आयोगले दोषी भनेका व्यक्तिलाई मन्त्रीको जिम्मेवारीमा बहाल राखेर के विधीको शासन, सुशासनको कुरा अगााडि बढाउन सक्छौं भनेर प्रश्न समेत गरे । सांसद बर्तौलाले यस विषयमा गम्भीरताका संसदको ध्यानाकर्षण समेत गराएका छन् ।
टेरामक्स प्रविधीमा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत जोडिएको र उनले अख्तियारमा बयान दिएका समाचारहरु प्रकाशमा आएका थिए । सांसद बर्तौलाले आफूहरुले नाम नलिइकन मन्त्री बस्नेतमाथि छानविन भइरहेको कुरा मिडियामार्फत थाहा पाएको समेत उल्लेख गरे ।
‘सुशासनप्रति मेरो सरकार प्रतिवद्ध छ। यसका लागि काम गरिरहेका छौं भन्नुहुन्छ होला,’ प्रधानमन्त्रीप्रति लक्षित प्रश्न गर्दै उनले भने, ‘तर, उहाँलाई थाहा छ कि छैन ? भ्रष्टाचारको आरोप लागेर भ्रष्टाचारको आशंकामा आर्थिक अनियमितताको आशंकामा केही समय अगाडि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको बयान, छानविन, अनुसन्धानको प्रक्रियामा जोडिनु भएर उहाँ (स्वास्थ्यमन्त्री)ले बयान दिएर आएको कुरा हामीले सार्वजनिक मिडिया मार्फत थाहा पायौं।’
टेरामक्स प्रकरणमा स्वास्थ्यमन्त्री जोडिएको र त्यसमाथि अख्तियारले छानविन अन्तिम चरणमा पु¥याएका समाचारहरु पछिल्ला दिनहरुमा सार्वजनिक भइरहेका छन् । तर, यस विषयमा अख्तियारले कारवाही अगाडि बढाइसकेको छैन ।