२०८१ भदौ २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य बिमाको निमित्त कार्यकारी प्रमुखको जिम्मा डा. मुक्तिलाई

स्वास्थ्य बिमाको निमित्त कार्यकारी प्रमुखको जिम्मा डा. मुक्तिलाई


काठमाडौं–स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मा बोर्डका सदस्य डा. मुक्तिराम श्रेष्ठलाई दिइएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै उनलाई थप जिम्मेवारी दिएका हुन् ।

सरकारले ९ माघको मन्त्रिपरिषदबाट बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई हटाउने निर्णय गरेको थियो । सरकारले डा. बसौलालाई हटाउने निर्णय गरेसँगै खाली रहेको सो पदमा अर्को निर्णय नहुञ्जेलसम्मका लागि निमित्तको जिम्मेवारी डा. श्रेष्ठलाई दिइएको हो ।

श्रेष्ठले आफूलाई सरकारले थप जिम्मेवारी दिएको र सो को पत्र बुझिसकेको बताए । ‘मलाई मन्त्रीस्तरीय निर्णयबाट थप जिम्मेवारी प्राप्त भएको छ,’ डा. श्रेष्ठले भने, ‘आजैबाट काम सुरु हुन्छ ।’

नेपाल सरकारले गत २४ कात्तिकको मन्त्रिपरिषद बैठकबाट डा. बसौलालाई तीन महिनाका लागि कार्यकारी निर्देशकबाट निलम्बन गरेको थियो । सो विरुद्धमा सर्वोच्च अदालत गएका डा. बसौलाको पक्षमा जारी अन्तरिम आदेशमा तत्काल काम गर्न दिन सरकारका नाममा आदेश दिएको थियो ।

उनलाई काम गर्न नरोक्नु भनेर अदालतले अन्तरिम आदेश दिएतापनि स्वास्थ्यमन्त्री बस्नेतको जोडबलमा उनलाई मन्त्रिपरिषदले हटाएको हो । अन्तरिम आदेशपछि पुनः कार्यभार सम्हालेका डा. बसौलालाई स्वास्थ्य मन्त्री मोहन बस्नेतको सिफारिसमा मन्त्रिपरिषदले हटाउने निर्णय गरेको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ