२०८१ पुस २३, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १४०० करोड लगानीमा १०० शैय्याको विराट क्यान्सर इन्स्टिच्युट

४०० करोड लगानीमा १०० शैय्याको विराट क्यान्सर इन्स्टिच्युट

इन्स्टिच्युटको डा. शेखर कोइरालाद्वारा आइतबार उद्घाटन


विराटनगर—मोरङको बुढीगंगा गाउँपालिका–२ टंकीसिनवारीमा रहेको विराट मेडिकल कलेज शिक्षण अस्पतालले बनाएको १ सय शैय्याको विराट क्यान्सर इन्स्टिच्युटको औपचारिक रुपमा उद्घाटन भएको छ । आइतबार विश्व क्यान्सर दिवसको अवसर पारेर नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उक्त क्यान्सर इन्स्टिच्युटको उद्घाटन गरेका हुन् ।

उक्त क्यान्सर इन्स्टिच्युट संचालनमा आएको ८ महिनापछि उद्घाटन गरिएको हो । २५ बिगाहा क्षेत्रफलमा फैलिएको विराट मेडिकल कलेज १ हजार २ सय शैय्याको हो । आईसीयू मात्र १ सय ५० शैय्याको रहेको छ । १२ सय शैय्या मध्ये १ सय शैय्या क्यान्सर अस्पतालका लागि छुटयाइएको विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले जानकारी दिए ।

उनकाअनुसार चार सय करोड लगानीमा मेडिकल कलेजभित्र क्यान्सर रोगको उपचारका लागि विराट क्यान्सर इन्स्टिच्युट संचालनमा ल्याइएको हो । रेवन्त रूक्मणी फाउन्डेसनबाट संचालित विराट क्यान्सर इन्स्टिच्युटमा क्यान्सर सम्बन्धि सम्पूर्ण उपचार सेवा सस्तो, भरपर्दो गुणस्तरीय रुपमा दिने उनले बताए । ‘कम खर्चमा क्यान्सरको सम्पूर्ण उपचार यहाँ हुनेछ,’ डा. कार्कीले भने, ‘अहिले १०० शैय्याको रहेको छ । यसलाई अवश्यकताअनुसार थप विस्तार गर्दै अगाडि बढाउनेछौं ।’

क्यान्सरको उपचार तथा शल्यक्रियामा सहयोग पु¥याउने उद्देश्यका साथ आधुनिक प्रविधिको रेडिएसन पद्धतिद्वारा क्यान्सर रोगको उपचार विधी सुरु भएको हो । विराट क्यान्सर इन्स्टिच्युट कोशी प्रदेशसहित अन्य प्रदेश, भारतको विहारदेखि पश्चिम बंगालसम्मका बिरामीलाई लक्षित गरेर सञ्चालनमा ल्याइएको बताइएको छ । ‘क्यान्सरका बिरामी चितवन र विदेश जाने गरेका थिए । स्थानीयस्तरमै क्यान्सरका रोगका बिरामीको उपचार विराटमा हुने भएपछि बाहिर जानुपर्ने समस्याको अन्त्य भएको छ,’ डा. कार्कीले भने ।

क्यान्सर इन्स्टिच्युटले दक्ष चिकित्सक साथमा अन्तर्राष्ट्रियस्तरको प्रविधी र विशेषज्ञको टिमसहित सबै किसिमका क्यान्सरको उपचार सेवा दिँदै आइरहेको छ । इन्स्टिच्युटले क्यान्सर रोग सम्बन्धि सबै उपचार एउटै छानामुनि दिदैं आइरहेको छ । जसमा रेडिएसन थेरापी, मेडिकल अंकोलोजी, किमोथेरापी, टार्गेट थेरापी, इम्युनो थेरापी, हर्मोनल थेरापी, सर्जिकल अंकोलोजी (महिला, पुरुष तथा बालबालिका), रेडियो–डाइग्नोसिस, इन्टरभेनसनल रेडियोलोजी, स्टेरियोट्याक्टीक म्यामोग्राफी, प्रिभेन्टीभ अंकोलोजी सेवा छन् । यसैगरी, प्रिभेन्टीभ अंकोलोजी, प्यालिएटीभ केयर, प्याथोलोजी विभाग, आहार तथा पोषणविदद्वारा परामर्श, मनोविदद्वारा परामर्शलगागयतका सेवा रहेका छन् । क्यान्सर उपचारका लागि नेपाल सरकारद्वारा उपलब्ध उपचार सुविधाबाट पनि अस्पतालमा उपचार हुनेछ । अस्पतालले क्यान्सरको उपचारको लागि एक सय करोड बढीको लेटेष्ट उपकरणमात्रै ल्याएको छ ।

अस्पतालमा डा. कार्की, डा. मोना प्रियादर्शीनी, मेडिकल अंकोलोजिष्ट डा. सुलभ सापकोटा, क्यान्सर शल्यचिकित्सक (अंको सर्जन) डा. शिवराम शर्मा, डा. धुव्रनारायण साह, डा. नरेन्द्र पण्डित, पेडियाट्रिक अंकोलोजिष्ट डा. सुवास मेहेता, पेडियाट्रिक अंको सर्जन डा. हिरामणि पाठक, क्लिनिकल अंकोलोजिष्टद्वय डा. अस्मिता रायमाझी, डा. विवेक घोष, अंको रेडियोलोजिष्ट डा. भानुप्रताप शाहलगायतका चिकित्सकका टिमले सेवा प्रदान गर्दै आइरहेको छ । क्यान्सर विभागमा एक दर्जन दक्ष चिकित्सक रहेका छन्, टिममा सुपरस्पेसियालिटी हासिल गरेका चिकित्सकसमेत छन् । क्यान्सरको उपचार चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीमात्र १ सय जना कार्यरत रहने अस्पतालले जनाएको छ ।

विराट मेडिकल कलेज शिक्षण अस्पतालमा सुपरस्पेसियालिटी सेवाहरु मिर्गौला डायलाइसिस, मुटु रोग, मुत्र रोग, न्यूरो सर्जरी, न्यूरोलोजी, पल्मोनोलोजी, इन्डोक्राइनोलोजी रहेको छ । अस्पतालमा हालसम्म १५ लाख ४४ हजार ४ सय ७१ जनाले ओपीडी सेवा लिएको अस्पतालले जानकारी दिएको छ । यस्तै, अन्तरंग भर्ना (आइपिडी) सेवा २ लाख ७१ हजार ७२३ जनाले लिएको अस्पतालले जनाएको छ । हालसम्म मेडिकल कलेजमा जम्मा १ हजार २ सय ४३ जना कर्मचारी रहेका छन् ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ