वीरेन्द्रनगर—सुर्खेतको वीरेन्द्रनगरमा रहेको नगर अस्पतालमा ५५ वर्षभन्दा माथिको उमेर समूहका नागरिकहरुको स्वास्थ्य परीक्षण सेवा सुरु गरिएको छ । मंगलबारदेखि स्वास्थ्य सेवा निर्देशनालयमार्फत कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर— ६ बाट यो कार्यक्रम सुरु गरिएको हो ।
यसअघि सुर्खेतकै पश्चिमको दुर्गम चौकुने गाउँपालिका र रुकुम पश्चिममा कार्यक्रम सुरु भइसकेको छ । अस्वस्थकर जीवनशैली, शारीरिक व्यायाममा कमी, आहार विहारमा ध्यान नदिँदा नसर्ने रोगको जोखिम बढ्दै गएको निर्देशनालयका जनस्वास्थ्य निरीक्षक किरण शर्माले बताए ।
‘यो कार्यक्रमले ५५ वर्षभन्दा माथिको उमेर समूहका मानिसहरुको उच्च रक्तचाप, मधुमेह र मिर्गौलाको जाँच गरिनेछ,’ उनले भने, ‘नगर अस्पताल रहेको वडा भएका भएकोले वीरेन्द्रनगरमा सर्वप्रथम वडा नं. ६ बाट यो कार्यक्रम थालिनेछ ।’
सुरुमा नसर्ने रोगका बिरामीको तथ्यांक संकलन गरिने र त्यसपछि रोकथाम र उपचारको काम गरिने शर्माले बताए ।
वीरेन्द्रनगरको ६ नम्बर वडाबाट सुरु हुने यो कार्यक्रम नमूना भएकोले यसको उपलब्धिका आधारमा पछि नगरपालिकाभर विस्तार गर्ने लक्ष्य रहेको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रविन खड्काले बताए । ‘कर्णालीमा २१ प्रतिशत नसर्ने रोगका बिरामी भएको तथ्यांक रहेपनि करिब ५० प्रतिशत रहेको अनुमान गरेका छौं,’ उनले भने ।
कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री खड्कप्रसाद पोखरेलले ५५ वर्ष माथिका उमेर समूहलाई लक्षित कार्यक्रम निकै प्रभावकारी भएकोले यसको पूर्ण लाभ लिन आव्हान गरेका छन् । ‘लक्षित उमेर समूहका मानिसहरुका लागि यो कार्यक्रम निकै उपयोगी हुनेछ,’ उनले भने, ‘यो कार्यक्रम नमूनाका रुपमा केही पालिका सुरु गरेको भएपनि यो प्रदेशभर लागु हुनेछ ।’
पहिलो दिन केही नागरिकको स्वास्थ्य परीक्षण गरिएको जनाइएको छ ।