मुगुको सोरु गाउँपालिकामा भाइरल ज्वरोका कारण गएको साता तीन जनाको मृत्यु भयो । घर—घरमा बिरामी छन् । अझै पनि रोग नियन्त्रणमा आएको छैन । रोग पत्ता लगाउन स्वाब संकलन गरी परीक्षणका लागि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको छ । रिपोर्ट आउने अझै समय लाग्ने देखिएको छ । मुगुको सोरु गाउँपालिकामा महामारीको रुपमा फैलिएको भाइरल ज्वरो रोकथाम तथा नियन्त्रणका विषयमा छिमेकी गाउँपालिका मुगुम कार्मारोङ गाउँपालिका मुगु स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक बलिबहादुर बुढासँग हेल्थआवाजका मानदत्त रावलले गरेको कुराकानी:
यो भाइरल ज्वरो कस्तो रोग हो ? यसको व्यवस्थापन कसरी गर्ने ?
भाइरल ज्वरो आउनुका थुप्रै कारणहरु छन् । भाइरल ज्वरो मूलतः भाइरसका कारण हुन्छ । भाइरस नै संक्रमणको मुख्य कारक तत्व हो । गर्मीयाम सुरु भएसँगै बालबालिकामा विभिन्न रोगहरुले सजिलै आक्रमण गर्छ । अझ वर्षायाममा मौसममा फेरवदल भइरहने हुँदा बालबालिकामा सरुवा रोगको प्रकोप झनै बढी हुन्छ । भाइरल एक प्रकारको सरुवा रोग हो । यो मौसममा यसको संक्रमण धेरै हुने गर्छ । मौसम परिवर्तनसँगै तापक्रममा पनि परिवर्तन आउँछ । यस्तो बेला भाइरलको संक्रमण पनि बढ्छ । यो सधैं भई रहने नियमित प्रक्रिया जस्तै भइसकेको छ । सन् १९२९ देखि नै भाइरल ज्वरो आइरहेको छ ।
हरेक ५–६ वर्षमा यसले ठाउँसमेत परिवर्तन गरिरहेको हुन्छ । वर्ड फ्लू, स्वाइन फ्लू पनि भाइरल नै हो । यो सबै इन्फ्लुएन्जासँग सम्बन्धित छ । भाइरल संक्रमण भएको बेला बिरामीलाई शरीर जिरिङ हुने, १०४ डिग्रीसम्म ज्वरो आउन सक्छ । रूघाखोकीसँगै नाकबाट पानी बगिराख्ने हुन सक्छ । शरीर धेरै थाक्ने, ढाड दुख्ने, जिउ गलेको महसुस हुने, टाउको र आँखा दुख्ने, बान्ता हुने र पखाला लाग्ने हुन्छ । बच्चाहरूलाई बान्ता र पखाला बढी हुन्छ । यसले श्वासनलीमा समेत संक्रमण गर्छ । भाइरल ज्वरोले शरीरका धेरै अंगलाई असर गरेको हुन्छ । यसको असर बुढाबुढी र बच्चालाई धेरै हुन्छ ।
नेपालमा विभिन्न जिल्लामा मौसम परिवर्तनसँगै भाइरसका कारण हुने बिरामी बढ्ने गरेका छन् । रूघाखोकीलगायत भाइरस र ब्याक्टेरियाका कारण हुने संक्रमणका बिरामीहरू ठूलो मात्रामा समयमै उपचार नहुँदा मृत्युसमेत हुने गरेको छ । मौसमी भाइरल ज्वरो र अन्य महामारी लक्षणहरू मिल्ने भएकाले रोग पहिचान गर्न सतर्क हुनुपर्ने चिकित्सकहरु बताउँछन् । भाइरल इन्फेक्सन भयो भने श्वासप्रश्वासमा एक्कासी समस्या आउने चिकित्सकहरुको भनाइ छ रोगसँग लड्न नसक्ने बिरामीहरूलाई भने झाडापखाला पनि लाग्न सक्छ । समयमै निको भएन भने निमोनियानै पनि हुन सक्छ । त्यसैले समयमै उपचार गराउन जरुरी छ ।
स्वास्थ्य संस्थामा र चिकित्सक कहाँ कहिले जाने ?
ज्वरो आएको केही दिनसम्म निको नभए चिकित्सकसँग जचाउन जानुपर्छ । सामान्य भाइरल ज्वरो आउँदा तातो र झोल भएको खाना खाँदा फाइदा गर्छ । आराम पनि गर्नुपर्छ । तर, केही दिनमा पनि निको नभए तुरुन्तै चिकित्सक कहाँ जानुपर्छ नत्र निमोनिया र छात्तीको संक्रमण हुने सम्भावना बढ्दै जान्छ ।
यसको उपचार कसरी गर्ने ?
रूघा लागेको छ भने यसकै औषधि खानु पर्छ । ज्वरो आयो भने सिटामोल खाने अनि बढी मात्रामा झोलिलो खाना खानुपर्छ । झोलले भाइरललाई हटाउँछ । खोक्दा, हाच्छ्यूँ गर्दा जोगिनुपर्छ, मास्क लगाउनुपर्छ । रूघा लागेका मान्छेसँग हात मिलाउनुको साटो नमस्कार गर्नु राम्रो हो ।
स्वाइन फ्लू भएको छ भने सकेसम्म भोजभतेरमा जानु हुँदैन् । घरमा एउटालाई भाइरल भएको छ भने अरूलाई सजिलै सर्न सक्छ । बिरामी र अरूले एउटै कपडा प्रयोग गर्नु हुँदैन । स्कुल र होस्टेलमा पनि भाइरल ज्वरो एउटालाई आएको छ भने अरूलाई पनि आउँछ ।
ज्वरो नियन्त्रणमा आएन, श्वास फेर्न गाह्रो हुन थाल्यो, खोकी लागिरह्यो, खकार पहेलो आउन थाल्यो, बिरामी बर्बराउन थाल्यो भने अस्पताल जानुपर्छ ।
लापरबाही गरे के हुन्छ ?
बच्चालाई भाइरल ज्वरो आउँदा बेवास्ता गरे निमोनिया भएर भेन्टिलेटरमा समेत राख्नुपर्ने हुन सक्छ । मुटुको र मस्तिष्कको संक्रमण हुन सक्छ । त्यसैले रूघाखोकी लागिरहन्छ भनेर चुपचाप बस्नु हुँदैन । धेरै दिनसम्म लागि रह्यो भने तुरून्तै डाक्टर कहाँ जानुपर्छ । ज्वरो आफैंमा रोग होइन्, यो धेरै प्रकारका रोगको लक्षण मात्रै हो ।
भाइरल इन्फेकस्नको एउटा कारण ज्वरो पनि हो । हुन त टाइफाइडमा पनि ज्वरो आउँछ । रूघाखोकी लाग्ने, जिउ दुख्ने भयो भने भाइरलका कारणले भन्न सकिन्छ । तर, लगातार ज्वरो आइरह्यो भने कारण खोज्नुपर्छ । भाइरल छोटो समयको हुन्छ भनिएपनि आजकाल अलि लामो समयसम्म समेत लाग्न थालेको छ । पहिला औषधि खाए पनि नखाए पनि बढीमा ७ दिन भनिन्थ्यो तर अहिले १० देखि १५ दिनसम्म पनि लाग्ने गरेको छ ।
भाइरल ज्वरोमा अपाउनुपर्ने सावधानी र बच्ने उपाय के हुन् ?
हिँड्दा मास्क लगाएर हिँड्नुपर्छ । खोप लगाएपछि रुघाखोकी नै लाग्न नदिने भन्ने होइन । तर, यसले पार्ने नकारात्मक असरलाई भने न्यूनीकरण गर्छ । यस्तै, सफा खानेकुरा खाने र सरसफाइमा विशेष ध्यान दिनु जरुरी छ । पिउने पानीको गुणस्तरमा विशेष ध्यान दिनुपर्ने पर्दछ । सफा उमालेको पानी खानु उचित हुन्छ ।
घरमै आराम गर्नुपर्छ । यसले शरीरमा ऊर्जा थपिदिने र रोग प्रतिरोधी क्षमता बढाउन मद्दत गर्छ । संक्रमितबाट अरुलाई सार्ने वा प्रकोप हुने सम्भावना कम हुन्छ । झोलिलो खानेकुरा खानुपर्छ । यसले शरीरलाई डिहाइड्रेसन हुनबाट जोगाउँछ । रोग प्रतिरोधी क्षमता पनि वृद्धि गराउँछ । पानी आवश्यकताअनुसार पिए पनि झोलिलो सुप लिँदा शरीरमा अझ स्फूर्ति बढ्ने र छिटो स्वास्थ्यमा सुधार आउनेछ ।
भाइरल ज्वरोको सिजनमा चाहिने अति आवश्यक सामान्य औषधिहरु आफूसँग राख्नुपर्छ । खासगरी भौगोलिक विकटता भएका, स्वास्थ्य चौकी टाढा हुने र स्वास्थ्यकर्मी पनि चाहेको समयमा पुग्न गाह्रो हुने भएकाले सामान्य औषधि आफूसँगै राख्नु आवश्यक छ । घरमै उपलब्ध खाने कुरा (लसुन, सुन्तला, मह, अदुवा आदि) मा भाइरस विरुद्धको गुण हुने भएको र यी खानेकुरा गाउँघरतिर पनि सहजै उपलब्ध हुने भएकाले यसको प्रयोग गर्दा छिटो स्वास्थ्य लाभ गर्न सकिन्छ ।
खासगरी ६५ वर्षमाथिका जेष्ठ नागरिक, ५ वर्षमुनिका बालबालिका, दीर्घ रोगका बिरामी (दम, अंग प्रत्यारोपण, मिर्गौलाको डायलाइसिस गरिरहेका)हरुको भाइरल ज्वरोअन्तर्गत पर्ने फ्लुका कारण मृत्यु हुने गरेकाले यस्ता वर्गका मानिसले फ्लू विरुद्धको खोप अनिवार्य लिनुपर्छ । विशेषगरी, विकट स्थानहरु जहाँ समयमा औषधि र चिकित्सकको अभाव हुन्छ, त्यहाँ नियमित रुपमा खोप दिँदा वर्षेनी हुने मानवीय क्षतिलाई कम गर्न सकिन्छ ।
भाइरल संक्रमणका बेला के गर्नु हुँदैन् ?
एन्टिबायोटिकको प्रयोग आफू खुसी नगरौं । संक्रमण भएको अवस्थामा सार्वजनिक स्थलहरुमा अति आवश्यक नभई नजाऊ । आफूले प्रयोग गर्ने सामानहरु अरुलाई प्रयोग गर्न नदिऊँ, हात नामिलाऊँ र आफू संक्रमित भएको भए अरुसँग एक मिटर दूरी कायम गरेर मात्र कुराकानी गरौं । शरीर कसिने गरी गह्रौ लुगा लगाउनु हुँदैंन् र कोठाका झ्यालढोका पूर्ण रुपमा बन्द गर्नु हुँदैन् । भाइरल ज्वरो संक्रमणका करणले हुने भएकाले धामी, झाँक्री वा झारफुकतिर नलागी सकेसम्म स्वास्थ्य संस्थामा पुग्ने कोसिस गरौ ं।