२०८१ भदौ २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशच्यार्सापा गाउँः जहाँ गर्भवती नभेटिएको वर्षौ भइसक्यो

च्यार्सापा गाउँः जहाँ गर्भवती नभेटिएको वर्षौ भइसक्यो


चरिकोट—दोलखाको विगु गाउँपालिका–५ चिलंखाको च्यार्सापामा गर्भवती महिला नै भेटिदैनन् । गाउँमा कुनै रोजगारी नपाएपछि यहाँका युवाहरु विदेसिने गर्छन् ।

विहे गरेपछि श्रीमान विदेशिने र श्रीमती पनि सँगै सिक्किमलगायतका ठाउँमा लिएर जाने भएकाले गाउँमा गर्भवती महिला भेटिदैनन् । गाउँका सबै घरका युवाहरु विदेसिएका कारण एक जना युवा गाउँमा भेट्नै गाह्रो छ ।
गाउँमा खेतीपाती गर्ने जमिन पर्याप्त छैन । उच्च शिक्षा हासिल गरेका व्यक्तिहरु पनि कोही छैनन् । जीविकोपार्जनकै लागि छिमेकी देश भारतलगायत अन्य मुलुकमा युवाहरु विदेसिने र श्रीमती पनि सँगै लैजाने भएकाले गर्भवती महिला भेट्ने कुरै भएन सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक जय सार्कीले बताइन् ।
यस गाउँमा ३५ घरधुरी रहेकोमा लगभग ५०/६० जना जेष्ठ नागरिकहरु मात्र गाउँमा बस्छन् । तामाङ समुदायको मात्रै बसोबास रहेको च्यार्सापामा आफू आएको २ वर्षको अवधिमा एक जना गर्भवती महिला जाँचका लागि नआएको चिलंखा स्वास्थ्य चौकीका इन्चार्ज प्रमोद नगरकोटीले बताए । जेष्ठ नागरिकहरु बेला—बेला उपचार गर्न र औषधि लिन आउने गरेको तर गर्भवती जाँचको लागि एक जना महिला नआएको इन्चार्ज नगरकोटीले बताए । यस गाउँबाट स्वास्थ्य चौकी पुग्न १ घण्टा लाग्छ ।
आफू विहे गरेर यस गाउँमा आएको ६,७ वर्षसम्म एक जना पनि गाउँमा सुत्केरी भाको नदेखिएको महिला स्वयंसेविका बुनु तामाङले बताइन् । विहे गरेपछि आफू पनि सिक्किमतिरै श्रीमानसँग गएको र उत्तै बच्चा जन्माएको २ वर्ष भएको महिला स्वयंसेविका तामाङले जानकारी दिइन् । अहिले उनी गाउँ फर्केर महिला स्वयंसेविकाको भूमिका निर्वाह गर्दै आएकी छन् ।

गाउँमा अहिलेसम्म सरकारी जागिर खाने एक जना व्यक्ति पनि छैनन् । उच्च शिक्षा हासिल गरेका पनि कोही छैनन् । संघीय संरचनापछि वडा सदस्य समेत यस गाउँबाट कोही चुनिएनन् । ‘नेताहरु चुनावको बेलामा मात्र भोट माग्न आउँछन्, त्यत्ति बेला विकास गर्ने आश्वासन मात्र दिन्छन् जितेपछि अनुहारसमेत देख्न पाइदैंन्,’ स्थानीय यमबहादुर तामाङले भने ।

गाउँमा उत्पादन हुने अन्नपातले ६ देखि ७ महिनामात्र धान्ने भएकाले पनि विदेसिनु बाध्य रहेको तामाङले बताए । पछिल्लो समय अलिअलि फल्ने अन्नपातमा पनि बाँदर, दुम्सी, मृग, बँदेलले खान थालेपछि स्थानीयले खेती गर्न छाडेर बारी बाझै रहेको पनि तामाङले जानकारी दिए ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ