२०८१ मंसीर १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारखोप कार्यक्रमले अपेक्षित सफलता नपाएकोमा स्वास्थ्यमन्त्रीको चर्को असन्तुष्टि

खोप कार्यक्रमले अपेक्षित सफलता नपाएकोमा स्वास्थ्यमन्त्रीको चर्को असन्तुष्टि

'स्वास्थ्यका अधिकारीको काम महिनामा दुई-दुई पटक विदेश जाने र आईएनजिओको काम गर्ने मात्र होइन्'


काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले खोप कार्यक्रममा मन्त्रालयले अपेक्षित सफलता पाउन नसकेको भन्दै चर्को असन्तुष्टि व्यक्त गरेका छन् । मंगलबार स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले आयोजना गरेको राष्ट्रिय दादुरा–रुबेला खोप अभियान २०८०/०८१ को उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले कर्मचारीको कार्यशैलीप्रति असन्तुष्टि पोख्दै क्षमताअनुसार काम नभएको बताएका हुन् ।

सरकारले सन् २०२६ सम्म दादुरा–रुबेला निवारण गर्ने लक्ष्य लिएको भएपनि यही गतिमा काम गर्ने हो भने त्यो सम्भव नभएकोले उनको भनाइ थियो । मन्त्री बस्नेतले स्वास्थ्यका हरेक कर्मचारीले आफ्नो काम गर्ने शैली परिवर्तन गर्नु आवश्यक रहेको बताए । देशभरिका ७२ वटा जिल्ला पूर्ण खोप जिल्लाका रुपमा घोषणा गरिसकिएको भएपनि देशभर पूर्ण खोप लिएका बालबालिकाको संख्या किन ५२ प्रतिशत मात्र भएको भन्दैं उनले प्रश्न गरे ।

‘एकातिर ५ जिल्लाबाहेक देशका ७२ जिल्ला पूर्ण खोप जिल्ला घोषणा गरिसकेका छौं भन्दै हुनुहुन्छ । अर्कोतिर देशभरमा ५२ प्रतिश्त बालबालिकाले मात्र पूर्ण खोप लिएका छन् भन्दै हुनुहुन्छ,’ उनले प्रश्न गरे, ‘यो कस्तो तथ्यांक हो ?’

अहिलेकै कार्यशैलीमा काम गर्ने हो भने सन् २०२६ सम्म पनि दादुरा–रुबेला निवारण हुनेमा आफू विश्वस्त हुन नसकेको मन्त्री बस्नेतले बताए । सन् २०२३ मै निवारण गरिसक्ने लक्ष्य लिएको भएपनि कर्मचारीकै ढिलासुस्ती र गैर जिम्मेवारीपनका कारण त्यो पूरा हुन नसकेर सन् २०२६ को लक्ष्य लिनुपरेको उनको भनाइ थियो । उनले जिम्मेवारीका साथ काम भई नरहेकोले फेरि अर्को मिति तोक्नुपर्ने अवस्था आउन नहुनेमा समेत जोड दिए ।

‘जागिर मात्र खाने मानसिकताले काम गर्दा तोकिएको लक्ष्य पूरा गर्न सकिदैंन् । आफूमा भएको क्षमता प्रदर्शन गर्न सक्नुपर्छ,’ उनले भने, ‘स्वास्थ्यका अधिकारीको काम महिनामा दुई—दुई पटक विदेश जाने र आईएनजिओको काम गर्ने मात्र होइन । सरकारी सेवामा प्रवेश गरेपछि जनताको पक्षमा काम गर्नुपर्छ ।’

स्वास्थ्यका कर्मचारीको अहिलेको काम गर्ने तौरतरिका परिवर्तन नभए स्वास्थ्यमा अपेक्षाकृत नतिजा हासिल गर्न कठिन हुने बताउँदै मन्त्री बस्नेतले सरकारले दिएको जिम्मेवारी गहन ढंगले बहन गर्न सबै कर्मचारीलाई निर्देशन दिए । आईएनजीओले आयोजना गर्ने कार्यक्रममा मन्त्रालय मातहतका विभाग र महाशाखाका ठूलो संख्यामा कर्मचारी पुग्ने गरेकोमा पनि मन्त्री बस्नेतले असन्तोष व्यक्त गरे । ‘मन्त्रालय, विभाग, महासाखा नै रित्तो बनाएर आईएनजीओको कार्यक्रममा हिडनु भएन । जनताको सेवा दिने कार्यालय सुनसान हुनु भएन,’ उनले थपे ।

अर्थ मन्त्रालयले वीर अस्पतालको नियमित बजेट शीर्षकमा बजेट नराखिदिएको दोषसमेत स्वास्थ्य मन्त्रीलाई दिइराखेकोमा रोष प्रकट गर्दै मन्त्री बस्नेतले काम राम्रो गर्दै गएपछि कसैको पनि डराउनु पर्ने अवस्था नरहेको दावी गरे ।

१०० शैय्यादेखि ३०० शैय्यासम्मका अस्पतालमा नर्स र प्यारामेडिक्सको पढाइ हुने गरी काम अगाडि बढिसकेको र निकट भविष्यमै ३०० शैय्याका अस्पतालमा एमबीबीएससम्मको अध्ययन गर्ने व्यवस्था गर्ने योजनाका साथ आफू अगाडि बढेको उनको दावी थियो । मन्त्री बस्नेतले निकट भविष्यमै नेपाल चिकित्सा शिक्षाको हब हुने बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ