२०८१ पुस ७, आईतबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशकुष्ठरोग जितेपछि नर्स बनेकी यशोधा, जसले दोस्रो जीवन कुष्ठरोगका बिरामीको सेवामा समर्पित गरिन्

कुष्ठरोग जितेपछि नर्स बनेकी यशोधा, जसले दोस्रो जीवन कुष्ठरोगका बिरामीको सेवामा समर्पित गरिन्


पोखरा—यशोधा राजभण्डारीले जीवनको लामो समय कुष्ठरोगका बिरामीको सेवामा समर्पित गरिन् । कुष्ठरोग संक्रमित उनले रोगलाई जितेर दोस्रो जीवन पाएकी हुन् । उनलाई कुष्ठरोग जित्न आफ्नै घरको कोठामा सिमित हुनुपर्‍यो भने कहिले डिस्पेन्सरी सेन्टरको आश्रय लिनुपर्‍यो । कहिले पोखराको हरियोखर्क अस्पतालका छाप्रोमा कुष्ठरोगसँग पौंठेजोरी खेल्नुपर्‍यो ।

जसोतसो उनले कुष्ठरोगलाई त जितिन्, कुष्ठरोगबाट अरुलाई बचाउन ठूलै युद्ध लडेझैं संघर्ष गर्नुपर्‍यो । उनी सिनियर स्टाफ नर्स भएर हजारौं बिरामीलाई दोस्रो जीवन दिन सफल भइन् ।

यशोदाको जन्म वि.सं. २००९ सालमा बागलुङ बजारको सम्पन्न परिवारमा भएको थियो । उनी डम्बरबहादुर राजभण्डारीकी कान्छी छोरी हुन् । वि.सं. २०२५ सालमा एसएलसी पास गरेकी उनी बागलुङकै वीरेन्द्र क्याम्पसमा आइए अध्ययनरत थिइन् । उनमा कुष्ठरोगको लक्षण देखियो ।

यशोदाका दाजु सूर्यचन्द्र राजभण्डारीले उपचारका लागि काठमाडौं लगे । यातायातको सुविधा थिएन । बागलुङबाट कार्कीनेटा हुँदै पोखरा आइपुग्न २ देखि ३ दिन लाग्थ्यो । पोखराबाट भने जहाजमा काठमाडौं पुगे । डाक्टरले औषधी खान त भने औषधी खान थालेपछि अनुहार र शरीरका विभिन्न भागमा रियाक्सन देखापर्‍यो ।

यशोदा घरबाहिर निस्कन्न थिइन् । एक्लो महसुस हुन्थ्यो । अर्का दाजु कृष्णचन्द्र राजभण्डारीले वि.सं. २०२७ सालमा बागलुङकै मिसिनरी डिस्पेन्सरीमा लगेर औषधोपचार सहज बनाए । यशोधा डिस्पेन्सरीबाट औषधी लिएपछि घरभित्रै मात्र बसिरहन्थिन् । मिसिनरीका मानिसले उनलाई काममा व्यस्त बनाउने उद्देश्यले हस्तकला पनि सिकाउँथे ।

उनी कुष्ठरोगका कारण एक्लो महसुस गरी घरभित्रै रहन्थिन्, त्यसैमाथि उनकी आमाको क्षयरोगका कारण र काकीको झाडापखालाका कारण निधन भयो । यशोधाका बुबाले एकै घरका जेठी र साइली तथा काकाले माइली छोरी विवाह गरेका थिए । जेठीका सन्तान थिएन्, माइली र साइँलीको निधनपछि ११ सन्तानको रेखदेखको जिम्मेवारी जेठीको जिम्मामा आइपर्‍यो । कुष्ठरोग लागेपछि छरछिमेकका मानिस नजिकमा आउँदैनथे ।

वि.सं. २०२८ सालमा यशोदाले पोखराको हरियो खर्क अस्पताल आएर औषधी लैजानुपर्ने भयो । तर, औषधी खाँदा निको हुनुभन्दा झन च्यापेजस्तो भयो । अर्काे वर्ष भने नयाँ खालको औषधी आएछ । हिँडडुल गर्न नसक्ने भएपछि उनलाई डोकोमा बोकाएर हरियोखर्क अस्पताल पुर्‍याइयो र भर्ना गरियो । छाला लाटो हुने, नसामा समस्या, औंला सोझो नहुने, हात बाङ्गो बनाउन नमिल्ने समस्या थिए ।

‘डोली चढेर जाने उमेरमा डोकोमा बसेर अस्पताल जानुपर्दा मन थामी नसक्नुभयो । अनुहार कुरुप थियो,’ उनी सम्झन्छिन् । हरियो खर्क अस्पतालमा अन्य २ जना कुष्ठरोगका बिरामीसँगै बस्ने व्यवस्था मिलाइयो । कुष्ठरोगकी बिरामी गौमाया थापाको नाक बिग्रिएको थियो । उनै थापाले राजभण्डारीलाई आमाको माया ममता अनुभूत गराइन् ।

नर्स मरियम पुनको सहयोगले यशोदाको एक्लोपनामा कम हुन्थ्यो । बिरामीलाई व्यस्त बनाउने उनीहरुले सक्ने काम लगाइन्थ्यो । यशोधाका हातखुट्टामा धेरै समस्या नभएकाले छिट्टै सुधार देखियो । बिरामीको हेरचाहमा पनि खटाइयो । हरियोखर्कका स्वास्थ्यकर्मीले सिकाएर पट्टी लगाउने, इन्जेक्सन लगाउने, औषधी दिने काम लगाएका थिए । बिरामीको उपचारमा पोखरा सिम्पानीमा रहेको साइनिङ अस्पतालका डा. ग्राहम हप्तामा एक पटक आउँथे भने कुष्ठरोगका बिरामीलाई रामबहादुर भण्डारीले पढाउने गर्थे ।

अस्पतालमा भएका अरु बिरामी कोहीको हात, कोहीको खुट्टा, कोहीको नाक थिएन । कहालीलाग्दो अवस्था थियो । यशोधाको कामबाट प्रभावित भएर हरियोखर्ककी नर्स बेलीबेटीले उनलाई नर्सिङ अध्ययनको प्रस्ताव गरिन् । सुरुमा यशोधालाई सक्दिनँ भन्ने लागेको थियो ।

आईएनएफको छात्रवृत्तिमा काठमाडौंको शान्त भवनमा वि.सं. २०३० सालमा नर्सिङ पढ्ने व्यवस्था मिलाइयो । त्यतिबेला यशोधाको शरीरबाट कुष्ठरोगको कीटाणु हटिसकेको थियो । तर, औषधीको इन्फेक्सन भने अनुहारमा देखिन्थ्यो । आनन्दवनबाट ल्याप्रोसी क्लिनिक द ल्याप्रोसी मिसन (टिएलएम) सञ्चालन हुन्थ्यो । त्यही उनले औषधी लिन्थिन् । ६ सेमेस्टर हुने नर्सिङको पहिलो सेमेस्टरमा उनले राम्रो गर्न सकिनन् । उनीसँगै अरु १९ जना नर्सिङ विद्यार्थी थिए ।

तर, उनले हिम्मत हारिनन्, मेहनत गर्दै गइन् । परिणाम उनले नर्सिङ पास गरिन् । नर्सिङ कोर्स पूरा गरेसँगै वि.सं. २०३३ देखि २०४७ सम्म उनले हरियोखर्क अस्पतालमा सिनियर स्टाफ नर्सका रुपमा काम गरिन् । त्यसपछि पारिवारिक समस्याले यशोदा काठमाडौं पुगिन् । त्यो समयमा उनले काठमाडौं १ वर्षजति स्वास्थ्यकै क्षेत्रमा काम गरिन् भने पछि उनले फरक क्षेत्रमा काम गरिन् ।

वि.सं. २०५८ सालमा फेरि नेपाल ल्याप्रोसी ट्रस्टमा ४ वर्ष काम गरिन् । त्यही वर्ष पुनः हरियोखर्क अस्पताल फर्किएकी उनले वि.सं. २०६२ सम्म नर्सिङ अफिसरका रुपमा काम गरिन् । यशोदाले इन्ट्रीगेसन, डिग्निटी, इकोनोमिक, एड्भान्स (आइडिया) को नेपाल महासचिव एक कार्यकाल र अध्यक्ष भएर १ कार्यकाल पूरा गरिन् ।

यशोदाले आइडियाको अध्यक्षका रुपमा न्यूयोर्कमा भएको न्युयोर्क इन्टरनेसनल ल्याप्रोसी इफेक्टेड वुमन्स कन्फरेन्समा पनि सहभागिता जनाएकी थिइन् । उनी न्युयोर्क, दिल्ली, आग्रा, चेन्नई र बंगलादेशका सम्मेलनमा सहभागी भएर कुष्ठरोगको अवस्थाबारे धारणा राख्न पाएकोमा खुसी व्यक्त गर्छिन् । दिल्लीमा भएको नर्सिङ सम्मेलन थप प्रभावकारी भएको उनको अनुभव छ । चाहे नर्सका रुपमा होस्, चाहे अभियन्ताका रुपमा कुष्ठरोगलाई जितेर पाएको नयाँ जीवन उनले पूर्ण रुपमा कुष्ठ रोगका बिरामीको सेवामा समर्पित गरिन् ।

उनले रोटरी सम्मान, सिद्धीसेतुली सम्मान, कुष्ठरोग निवारण संस्थाबाट सम्मान पाएकी छन् भने आइडियाको अध्यक्षका रुपमा मेडल हात पारिन् । आईएनएफको सहयोग, उपचारमा संलग्न स्वास्थ्यकर्मीको माया, ममता र उपचारबाट आफूले पुनःर्जीवन पाएको उनी बताउँछिन् ।

कुष्ठरोग संक्रमित बिरामीलाई हार नमान्न, अरु रोगजस्तै सामान्य ठान्न र शंका लाग्ने बित्तिकै स्वास्थ्यकर्मीलाई देखाउन उनको सुझाव छ । ‘हाम्रा पाला त उपचार निकै कठिन थियो,’ उनी भन्छिन्, ‘छिमेकीले थाहा पाए फर्केर समेत हेर्दैन्थे । अहिले त धेरै सहज छ । रोग लुकाउन हुन्न ।’ सम्पन्न र शिक्षित परिवार भएकै कारण उपचार पाएर आफूले पुनःर्जीवन पाएको उनी बताउँछिन् ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ