काठमाडौं—नक्कली डाक्टर बनेर बिरामीमा उपचार संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयले आइतबार साँझ नक्कली डाक्टर बनेर बिरामीको उपचारमा संलग्न सम्बुद्ध भट्टाचार्यलाई बसुन्धरास्थित धौलागिरी हिमाल पोलिक्लिनिकबाट पक्राउ गरेको हो ।
विराटनगर—२ स्थायी घर भएर काठमाडौंको बाँसबारीमा बस्दैं आएका ४० वर्षीय सम्बुद्ध आफूलाई डा. एस भट्ट आचार्यका रुपमा चिनाउथे ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयका सूचना अधिकारी रवीन्द्र रेग्मीकाअनुसार उनले नक्सालस्थित वी केयर र धौलागिरी हिमाल पोलिक्लिनिकमा बिरामीलाई उपचार गर्दै आएका थिए । उनले वी केयरमा ६ सय ३० जना र धौलागिरीमा ३० जनाभन्दा बढीको उपचार गरेको अनुसन्धानबाट खुलेको छ ।
नेपाल मेडिकल काउन्सिलबाट लिइने दर्ता नम्बर पनि उनले अरुकै प्रयोग गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । सम्बुद्धबाट प्रहरीले नेपाल चिकित्सक संघको आजीवन सदस्यता पत्र, त्रिवि शिक्षण अस्पतालको परिचय पत्र दुई वटा र नेपाल मेडिकल काउन्सिलको एक रजिष्ट्रेशन कार्ड पनि प्रहरीले बरामद गरेको छ ।
यसबाहेक प्रहरीले उनीबाट इन्डाक्राइनो सोसाइटी, नेपाल मेडिसिटी हस्पिटलको सम्मान पत्रलगायतका अरु थुप्रै नक्कली कागजातहरु पनि फेला पारेको छ ।
उनले बिरामीलाई विश्वासमा पार्न त्रिवि शिक्षण अस्पताल र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्वद्ध भनेर लेखिएको भिजिटिङ कार्ड समेत प्रयोग गर्ने गरेका थिए । प्रहरीकाअनुसार उनले विपीबाट एमडी गरेको नक्कली प्रमाणपत्र समेत बनाएको पाइएको छ ।