अक्सफोर्ड युनिभर्सिटीले निपाह भाइरस विरुद्धको एक भ्याक्सिनको मानिसमा परीक्षण सुरु गरेको छ । अहिलेसम्म निपाह भाइरसको भ्याक्सिन नबनेकाले यो परीक्षणलाई चिकित्सा विज्ञानमा निकै महत्वका साथ हेरिएको छ ।
यदि यो परीक्षण सफल भएमा यो निपाह भाइरसको पहिलो भ्याक्सिन हुनेछ । चिकित्सकहरु औषधिका माध्यमबाट निपाह भाइरसका लक्षणहरु नियन्त्रण गर्ने कोशिस गर्दै आइरहेका छन् ।
समाचार एजेन्सी रोयटर्सकाअनुसार पछिल्लो हप्ता १८ देखि ५५ वर्ष उमेर समूहका ५२ जनालाई यो भ्याक्सिनको डोज दिइएको छ । अहिले भ्याक्सिनले सहभागीहरुको इम्युन सिष्टममा के असर भइरहेको छ भन्ने कुराको अध्ययन जारी छ ।
यो भ्याक्सिन पनि एस्टाजेनेकाको कोभिड—१९ को भ्याक्सिनहरुको डोजमा प्रयोग गरिएको प्रविधीमै आधारित छ ।
निपाह भाइरसको सम्भावित भ्याक्सिनको परीक्षण अक्सफोर्ड भ्याक्सिन ग्रुपको निगरानीमा भइरहेको छ । यो ग्रुपलाई सिईपीआई फण्ड दिइरहेको छ । सिईपीआई एक विश्व गठनबन्ध हो, जुन नयाँ संक्रामक रोगका विरुद्ध भ्याक्सिन बनाउने कार्यमा सहयोग गर्छ ।
अमेरिकी कम्पनी मोर्डनाले पनि निपाह भाइरसको भ्याक्सिन बनाउन काम सुरु गरेको थियो । सन् २०२२ मा मोर्डनाले युएस नेशनल इन्स्टिच्युट अफ एलर्जी एण्ड इन्फेक्सियन डिजिजसँग मिलेर भ्याक्सिन बनाउन सुरु गरेको थियो । तर, अहिलेसम्म यसको ट्रायल सुरु भएको छैन ।
निपाह भाइरस जनावरबाट फैलिने जुनोटिक इन्फेक्सन हो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)काअनुसार सन् १९९८ मा मलेसियाको सुंगई निपाह गाउँमा यो भाइरस पहिलो पटक पत्ता लागेको थियो । यही गाउँको नामबाट यो भाइरसको नाम निपाह राखिएको हो ।
त्यतिबेला यो भाइरसबाट सुगर पाल्ने किसान संक्रमित पाइएका थिए । विवरणहरुअनुसार मलेसियामा त्यो बेला घर पालुवा जनावरहरु कुकुर, बिरालो, घोडाबाट समेत यसको संक्रमण फैलिएको पाइएको थियो ।
मलेसियामा निपाह भाइरस देखिएकै वर्ष सिंगापुरमा पनि यो भाइरस फेला परेको थियो । त्यसपछि बंगलादेश, भारतलगायतका देशहरुमा पनि यो भाइरस देखिइसकेको छ ।
जनावरबाट मानिसमा र मानिसबाट मानिसमा सर्ने यो भाइरस संक्रमण हुँदा ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, चक्कर आउने, मांशापेशी दुख्ने, श्वासप्रश्वासमा कठिनाइ हुने र टन्सिलाइटिस हुनेजस्ता समस्या देखिन्छन् ।
-एजेन्सीको सहयोगमा