काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहालले वीर अस्पताल स्वास्थ्य क्षेत्रको आधार स्तम्भ भएकाले उपचारका क्रममा बिरामीले गुनासो गर्ने अवस्था नआउने गरी काम गर्न निर्देशन दिएका छन् ।
बिहीबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिस्ठान (न्याम्स)का पदाधिकारीको छलफलमा उनले वीर अस्पतालबाट जनताले प्राप्त गर्ने सेवाबाट देशको स्वास्थ्य चित्र देखिने भएकाले पनि वीर अस्पतालको सेवामा गुणस्तरीय र सुलभ हुनुपर्नेमा जोड दिए ।
वीर अस्पतालले माग गरेको स्रोतसाधन उपलब्ध गराउन सरकार प्रयासरत रहेको प्रधानमन्त्रीले बताए । ‘बिरामीलाई गुणस्तरीय सेवा दिनुहोला, उपचारका क्रममा उहाँहरूले गुनासो गर्ने अवस्था आउनु भएन,’ उनले भने । वीर अस्पतालले परम्परागत तवरले भन्दा पनि जनताले अनुभूत गर्ने गरी आफ्ना सेवा उपलब्ध गराउनुपर्नेमा उनले जोड दिए ।
कुलपति नियुक्ति प्रक्रियामा आफूले छलफल चलाएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सम्बन्धित क्षेत्रकै विज्ञ कुलपति हुने व्यवस्था गरिने विश्वास दिर्लाए ।
छलफलमा न्याम्सका उपकुलपति डा. भूपेन्द्रकुमार बस्नेतले अस्पतालमा बिरामीको चाप अत्याधिक रहेको जानकारी गराउँदै वीर अस्पताललाई आवश्यक स्रोत साधान उपलब्ध गराउन प्रधानमन्त्रीसँग आग्रह गरे ।