काठमाडौं—काठमाडौं मेडिकल कलेज (केएमसी) र त्यहाँ अध्ययनरत आवासीय चिकित्सकहरुबीच ८ बुँदे सहमति भएको छ । बुधबार बालकुमारी वार्तापछि कलेज प्रशासन र रेजिडेन्सी गरिरहेका विद्यार्थीहरुबीच ८ बुँदे सहमति भएसँगै डा. विषद दाहालको निलम्बन कलेज प्रशासनले फिर्ता लिएको हो ।
यसअघि १२ पुसमा डा. दाहाललाई केएमसीलाई एक महिना निलम्बन गरेको थियो । उसले डा. दाहालले रेजिडेन्सी चिकित्सकले पालना गर्नुपर्ने कर्तव्य पालना नगरेको र अनुशासनको उल्लंघन गरेको ठहर गर्दै पिजी कार्यक्रमका कुनै पनि गतिविधीमा सहभागी हुन नपाउने गरी एक महिना निलम्बन गरेको थियो ।
डा. दाहाललाई निलम्बन गरेपछि केएमसीका रेजिडेन्स चिकित्सकहरु आन्दोलनमा उत्रिएका थिए । यससँगै उनमाथि गरिएको कारवाही फिर्ता लिन शिक्षा मन्त्री अशोक राईले केएमसीलाई पत्र नै लेखेका थिए भने काठमाडौं विश्वविद्यालयले समेत निलम्बन फिर्ता गर्न भनेको थियो ।
तर, केएमसी प्रशासनले उनीमाथिको निलम्बन फिर्ता नगर्ने अडान राख्दैं आएको थियो । दुवै पक्षबीचको वार्तापछि ८ बुँदे सहमति भएपछि कलेज प्रशासन डा. दाहालको एक महिना निलम्बन फिर्ता गर्न राजी भएको हो । उनीमाथिको निलम्बन फिर्ताअघि मंगलबार दाहालले कलेज प्रशासनलाई पत्र लेख्दैं आफ्ना कारण उत्पन्न परिस्थितीप्रति आत्माआलोचना गरेका थिए ।
८ बुँदे सहमतिअनुसार नियमित बैठक बसेर स्वास्थ्य शिविरमा हुने कमी कमजोरी सुधार गर्ने, अर्को व्यवस्था नभएरसम्म २ हप्तामा तीन पटक निःशुल्क स्वास्थ्य शिविर गर्ने, महिनामा एक पटक र बढीमा दुई पटकसम्म स्टे क्याम्प गर्ने, सिपाघाटस्थित सामुदायिक अस्पतालमा आवासीय चिकित्सक नखटाने, केएमसी सामुदायिक अस्पताल दुवाकोटको ईएनटी, साइक्रयाटिक, अप्थाल्मोलोजी र डर्माटोलोजीको रोष्टर आवश्यकताअनुसार परिमार्जन गर्ने उल्लेख छ ।
यसैगरी, ८१ जना आवासीय चिकित्सकले स्वास्थ्य शिविरमा सहभागी नहुने भनेर दिएको निवेदन खारेज हुने, १२ पुसबाट आवासीय चिकित्सकले घोषणा गरेका सम्पूर्ण विरोधका कार्यक्रम फिर्ता लिने उल्लेख छ । यस्तै, सहमतिको एउटा बुँदामा १२ पुसबाट उत्पन्न असहज परिस्थितीप्रति आवासीय चिकित्सकले दुःख व्यक्त गरेका छन् ।
सहमतिपत्रमा कलेजका तर्फबाट सहायक प्राचार्य डा. पावना कायस्थ र आवासीय चिकित्सकका तर्फबाट डा. विजय केसीले हस्ताक्षर गरेका छन् ।