वीरेन्द्रनगर—सुर्खेतमा विद्यालय आँखा स्वास्थ्य कार्यक्रम प्रभावकारी बन्दै गएको छ । विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको दृष्टि कमजोर हुँदा पढाइ समस्या भएपछि विद्यार्थीको आँखा जाँच गरेर चश्मा वितरण गर्न थालिएपछि कार्यक्रम प्रभावकारी बन्दै गएको हो ।
आँखाको दृष्टि परीक्षणपछि आई केयर फाउण्डेशन र नेपाल रेडक्रस सोसाइटी सुर्खेत आँखा अस्पतालको सहयोग विद्यालय आँखा स्वास्थ्य कार्यक्रम सञ्चालनमा रहेको छ ।
विद्यालय आँखा स्वास्थ्य कार्यक्रमअन्तर्गत सुर्खेतको लेकवेशी नगरपालिकामा रहेका ५० वटा विद्यालयमा अध्ययनरत आठ हजार बढी विद्यार्थीको आँखाको दृष्टि परीक्षण गरिएको थियो । जसमध्ये ९० जना विद्यार्थीको आँखाको पावर कमजोर रहेको र चश्मा प्रयोग गर्नुपर्ने अवस्था पहिचान भएको छ ।
आई केयर फाउण्डेशनको सहयोगमा हाल उनीहरु सबै विद्यार्थीलाई विद्यालयमै पुगेर निःशुल्क चश्मासमेत वितरण गरिएको छ । पहिलो चरणमा प्रत्येक विद्यालयका एक/एक जना शिक्षकलाई आँखाको दृष्टि परीक्षण सम्बन्धि तालिम दिइएको थियो । तालिम प्राप्त शिक्षकले विद्यार्थीको आँखाको दृष्टि परीक्षण गरेपछि दोस्रो चरणमा हरेक विद्यार्थीको आखाँको पावर अनुसारको चश्मा बनाएर वितरण गरिएको छ ।
आँखाको दृष्टि कमजोर रहेका लेकवेशीका सबै विद्यार्थीहरुलाई कक्षाकोठामा बस्दा शिक्षकले वोर्डमा लेखेको अक्षर देख्न समस्या भएको थियो ।
लेकवेशी नगरपालिका–९ स्थित खाँडदेवी माध्यमिक विद्यालय चौरासेमा कक्षा–८ मा ध्ययनरत १३ वर्षीया सुस्मिता आचार्यले निःशुल्क चश्मा पाएकोमा खुसी व्यक्त गरिन् । ‘आँखाको गेडी दुख्ने र चाँडै थाक्ने, एकछिन पढ्ने बित्तिकै मधुरो देख्ने, टाउको दुख्ने र आँशु बग्ने समस्या थियो,’ उनले भनिन्, ‘धेरै पढ्दा मधुरो देखेर किताबलाई आँखा नजिकै लैजाने गथ्र्ये तर चस्माको प्रयोगले सहज भयो ।’
सुस्मिताको दायाँ आँखाको नशा खुम्चिएको कारण पनि आँखा कमजोर बन्दै गएको हो । सानो उमेरमा आँखा पाक्दा घरपरिवारले फरक औषधि प्रयोग गरिदिएकाले आफ्ना आँखा कमजोर बनेको उनले बताइन् ।
आँखाको दृष्टि कमजोर भएका विद्यार्थीबाट जवरजस्ती सिकाइ गुणस्तर खोज्नु आफ्नो पनि कमजोरी रहेको भन्दै विद्यालय आँखा स्वास्थ्य कार्यक्रमपछि आफ्नो पनि आँखा खुलेको लेकवेशी नगरपालिकाका शिक्षक बताउँछन् ।
‘विद्यार्थी पछाडि बस्यो, किन लेखेन ? भनेर गाली गथ्र्यौ । उसले राम्रोसँग अक्षर नै नदेखे कसरी पढ्न र लेख्न सक्छ भन्ने कुरा अहिले थाहा भएको छ,’ सरस्वती माध्यमिक विद्यालयका शिक्षक चन्द्र खड्काले भने, ‘जबरजस्ती शैक्षिक गुणस्तर खोज्नु हाम्रो पनि कमजोरी रहेछ । अहिले आएर हाम्रो पनि आँखा खुल्यो ।’ उनले आगामी वर्षहरुमा विद्यार्थी भर्ना गर्दा हरेक विद्यार्थीको सुरुमै आँखाको दृष्टि परीक्षण गरेर सोही अनुसार अघि बढ्नुपर्ने धारणा व्यक्त गरे ।
जीवनज्योती माध्यमिक विद्यालय दशरथपुरका प्रधानाध्यापक तीर्थप्रसाद पौडेलले विद्यालय आँखा स्वास्थ्य कार्यक्रमले विद्यार्थीको स्वास्थ्यप्रति गम्भीर बनाएको भन्दै पढाइभन्दा पहिले विद्यार्थीको स्वास्थ्य अवस्थामा ध्यान दिन जरुरी रहेको बताए ।
विद्यालय आँखा स्वास्थ्य कार्यक्रम प्रभावकारी रहेको भन्दै यसलाई निरन्तरताका लागि नगरपालिकाले पनि जोड दिने गरेको लेकवेशी नगर प्रमुख उमेशकुमार पौडेलले बताए । ‘आँखा कमजोर हुदाँ जीवन त जसोतसो चल्छ, तर अध्ययन, अध्यापनमा निकै चुनौती हुन्छ,’ उनले भने, ‘त्यसैले विद्यार्थी पढ्नुभन्दा पहिले मानसिक तथा शाररिक रुपमा पनि स्वस्थ्य हुनुपर्छ, यसमा सजिलै आँखा देख्नु पहिलो महत्वपूर्ण कुरा हो ।’
स्कुल पढ्दा आँखा कमजोर हुनुको पीडा आफुले पनि भोगेको भन्दै विद्यार्थीलाई चस्मा अनिवार्य प्रयोग गर्न जरुरी रहेको उनको भनाइ छ । ‘जीवनको सबैभन्दा ठुलो कुरा पढाइ हो, त्यही पढाइमा आँखा बाधक बन्दा परिस्थिती असहज हुन्छ,’ उनले थपे, ‘चस्माको मुल्य भन्दा विद्यार्थीको समस्या पहिचान गर्नु ठुलो कुरा हो । यस्ता कार्यक्रममा नगरपालिका आवश्यक सहयोग गर्न तयार छ ।’
आँखा स्वास्थ्य कार्यक्रम कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेल्नु भएका नेपाल रेडक्रस सोसाइटी सुर्खेत शाखा सभापति रामलाल आचार्यले विद्यालय तथा समुदायमा आधारित सेवामूलक गतिविधी जारी रहेको बताए । ‘बालबालिकाले चश्माको सिसा कोर्ने, भाँच्ने, फुटाउने जस्ता काम गर्न सक्छन्,’ उनले भने, ‘त्यसैले चश्माको सुरक्षा र मर्मत–सम्भारमा पनि अभिभावकले उत्तिकै ध्यान दिन जरुरी छ ।’