काठमाडौं—प्रतिनिधीसभाका सांसद रघुजी पन्तले अख्तियारमा फाइल भएपछि मन्त्री पदमा बस्न नमिल्ने बताएका छन् । सोमबार संसदको राज्यव्यवस्था समितिमा छलफलमा बोल्दैं उनले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत भ्रष्टाचारमा संलग्न रहेको आरोप लगाए ।
‘अख्तियारमा फाइल भएपछि मन्त्री पदमा बस्न मिल्छ ?,’ उनले प्रश्न गरे, ‘तपाईहरु त्यस्ता भ्रष्टाचारीलाई क्याबिनेटमा राख्ने अनि सुशासनको भाषण गर्ने कसले पत्याउँछ ? त्यही आक्रोशको परिणामको हो अस्तिको बालकुमारी घटना ।’
त्रिशुली अस्पतालको एमआरआई मेसिन खरिदमा ९ करोड भ्रष्टाचार भएको उनको भनाइ थियो । ‘त्रिशुली अस्पतालको ९ करोडको डिटेल भ्रष्टाचार छ । अखबारहरुमा छ, अझ उकेरा अनलाइनमा हेर्नुहोस् डिटेल छ । पढ्दाखेरि सनन हुन्छ,’ उनले थपे, ‘त्यो फाइल अख्तियारमा छ । फाइल अख्तियारमा भएपछि मन्त्रीले राजीनामा गर्नु पर्दैन् ।’
पन्तले आफू डेढ दुई महिनाको बीचमा चार पाच पटक वीर अस्पताल गएको बताए । त्यहाँ जाँदाखेरि तेस्रो तलामा डेन्टल शाखामा जाँदा चार पाँच पटक भीडसम्म ठोक्किएको अनुभव सुनाउँदैं उनले भने, ‘त्यो ठाउँबाट २११ जना कर्मचारी स्वास्थ्यमन्त्रीले एकै पटक हटाउनुभयो र ११ जना आफन्त राख्नुभयो जनशक्ति छैन ।’
उनले मन्त्री बस्नेतले कार्यकारी निर्देशक हटाएको र अदालतले पुनस्थापना गरेको कुरा पनि समितिमा बताए ।