२०८१ मंसीर १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमहिला हिंसामा जागिर गएका विजय चिकित्सा शिक्षा आयोगका उपाध्यक्षका कम्प्युटर अपरेटर नियुक्त

महिला हिंसामा जागिर गएका विजय चिकित्सा शिक्षा आयोगका उपाध्यक्षका कम्प्युटर अपरेटर नियुक्त


काठमाडौं—चिकित्सा शिक्षा आयोगका कार्यकारी उपाध्यक्ष डा. अन्जनीकुमार झाले कार्यस्थलमा यौन दुर्व्यवहारजस्तो संवेदनशील मुद्धामा आफैले कारवाही गरेका एक जनालाई आयोगको कम्प्युटर अपरेटरमा नियुक्त गरेका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)मा कार्यस्थलमा यौन दुर्व्यवहार गरेको पाइएपछि जागिर गुमाएका विजयकुमार झालाई डा. अन्जनीले आफ्नै सचिवालयमा रहने गरी कम्प्युटर अपरेटर (सुब्बा सरह)मा नियुक्ति दिएका हुन् ।

विजय तिनै हुन्—जो एनएचआरसीमा तालिम अधिकृत रहँदा सहकर्मीमाथि दुर्व्यवहारका कारण दुई पटक कारवाहीमा परेका थिए । पहिलो पटक उनलाई डा. अन्जनीले नै निलम्ब गरेका थिए भने दोस्रो पटक छानविनबाट दोषी पाइएपछि जागिरबाटैं निष्काशनमा परेका थिए ।

आयोगका सदस्यसचिव कृष्णप्रसाद काप्रीले विजयलाई कम्प्युटर अपरेटरमा नियुक्त गरेको पुष्टि गरे । उनले विजयको निवेदन आएको, तालिम लिएको तथा अन्य प्रमाणपत्रका आधार योग्य पाइएपछि नियुक्ति दिइएको बताए । ‘उपाध्यक्षज्यूले नै राम्रो काम गर्ने अपरेटर छ भनेकै कारणले उहाँलाई राखिएको हो,’ काप्रीले भने, ‘हामीलाई उहाँको विगतको विषयमा थाहा भएन् ।’

यसअघि उपाध्यक्षको सचिवालयमा नेपाल सरकारका स्थायी कर्मचारीले काम गर्दै आएका थिए । तर, डा. अन्जनी उपाध्यक्ष नियुक्त भएलगतै विजयकुमारलाई ल्याउनकै लागि कार्यकारी परिषद्बाट प्राविधिकको अस्थायी दरबन्दी स्वीकृत गराएका थिए । सोही दरबन्दीमा उनले विजयकुमारलाई मंसिर तेस्रो साताबाट काम गर्ने गरी नियुक्ति दिलाएका हुन् ।

आयोगको वेवसाइटमा कर्मचारी विवरणको ३२ औं नम्बरमा विजयकुमारको नाम कम्प्युटर अपरेटरका रुपमा उल्लेख छ ।

कसरी गएको थियो विजयकुमारको जागिर ?

१ मंसिर २०७६ मा मदिरा सेवन गरेर कार्यलय परिसरमै दुर्व्यवहार गरेको उजुरी परेपछि एनएचआरसीका तत्कालीन अध्यक्ष डा. अन्जनी (अहिलेका आयोगका उपाध्यक्ष)ले नै ४ मंसिरदेखि १७ मंसिरसम्म विजयकुमारलाई निलम्बन गर्नुका साथै दुई महिना (मंसिर र पुस) को तलब रोक्ने निर्णय गरेका थिए ।

त्यतिबेला हेल्थआवाजलाई प्राप्त अधिकृत विजयकुमारको तलब रोक्का तथा निलम्बन पत्रमा परिषद्को कर्मचारी प्रशासन विनियमावली १०.३ बमोजिम निलम्बन गरिएको र सोही विनियमअनुसार दुई महिनाको तलब रोक्का गरिएको उल्लेख थियो । पत्रमा आइन्दा कार्यलय समयमा पुनः यस्ता मर्यादा विपरित कार्य दोहोरिएको पाइएमा विनियमको १०.६ बमोजिम भविष्यमा परिषद्को सेवाको लागि अयोग्य ठहरिने गरी बर्खास्त गर्ने गरी कारवाही हुने चेतावनी समेत दिइएको थियो । विजयकुमारलाई निलम्बन र तलब रोक्का गरेको पत्रमा तत्कालीन समयमा एनएचआरसीका कार्यकारी अध्यक्ष रहेका डा. झा आफैले हस्ताक्षर गरेका थिए ।

त्यतिबेला निलम्बनको कारवाही भोगेका विजयकुमार पुनः एक महिला सहकर्मीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि वि.सं. २०७८ चैतमा निलम्बनमा परेका थिए । निलम्बनसँगै एनएचआरसीले उनीमाथि छानविन गर्न स्वतन्त्र छानविन समिति गठन गरेको थियो ।

छानविन समितिले उनले ‘कार्यस्थलमा यौन दुर्व्यवहार’ गरेको प्रतिवेदन दिएको थियो । छानविनबाट समेत दोषी पाइएपछि विजयकुमारलाई एनएचआरसीको वोर्डले विभागीय कारवाही गरेर जागिरबाटै हटाएको थियो ।

एनएचआरसीको आफूलाई जागिरबाट हटाउने निर्णय विरुद्ध उनी प्रशासकीय अदालत गएका थिए । तर, प्रशासकीय अदालतले एनएचआरसीको वोर्डको निर्णयलाई सदर गरिदिएको थियो ।

यो पनि पढ्नुहोस्

महिला सहकर्मीमाथि दुर्व्यवहारको आरोपमा स्वास्थ्य अनुसन्धान परिषद्का अधिकृत निलम्बनमा

एनएचआरसी यौन दुर्व्यवहार प्रकरण : छानविन समिति बनाइयो, आरोपित निलम्बनमा


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ