वीरेन्द्रनगर—सुर्खेतमा १२ पुसदेखि टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । सुर्खेतसहित भूकम्प प्रभावित जिल्लामा टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन हुने भएको हो ।
सुर्खेतमा टाइफाइट विरुद्धको खोप अभियान दुई चरणमा हुनेछ । खोप अभियान सञ्चालन गर्नका लागि आवश्यक औषधी र जनशक्ति व्यवस्थापनका सम्पूर्ण तयारीहरु पूरा भएको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख गणेशभक्त गौतमले बताए ।
‘पहिलो चरण १२ पुसदेखि १५ पुससम्म जिल्लाका लेकवेशी नगरपालिका, चिङ्गाड गाउँपालिका, चौकुने गाउँपालिका, पञ्चपुरी नगरपालिका र बराहताल गाउँपालिकामा सञ्चालन गरिनेछ,’ उनले भने, ‘दोस्रो चरण २१ पुसदेखि २५ पुससम्म वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका, गुर्भाकोट नगरपालिका र सिम्ता गाउँपालिकामा खोप अभियान सञ्चालन गरिनेछ ।’
टाइफाइडविरुद्ध खोप अभियानबाट सुर्खेतका १६ देखि ४५ वर्ष उमेर समूहका दुई लाखभन्दा बढी नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको छ ।
अभियानमा करिब दुई हजार स्वास्थ्यकर्मी तथा स्वयंसेवक परिचालन हुने जिल्ला जनस्वास्थ्य कार्यालयका खोप फोकल पर्सन उदय बिसीले बताए ।