कोशी प्रदेशका १४ जिल्ला र मधेश प्रदेशको सिराहा र सप्तरी गरी १६ जिल्ला हेर्छ—विराटनगरस्थित औषधी व्यवस्था विभाग (डिडिए)को कार्यलय । उक्त कार्यलयको निमित्त कार्यालय प्रमुख हुन्—३२ वर्षीय टेकेन्द्र मिश्र । पूर्वी नेपालको औषधी व्यवसाय, फार्मेसीको निरन्तर निगरानी र औषधीको अनुचित प्रयोगको रोकथाम र नियन्त्रणमा जिम्मेवारी उनको युवा काँधमा छ ।
वि.सं. २०४७ साल भदौ ६ गते ताप्लेजुङमा जन्मिएका हुन्, टेकेन्द्र । बुवा दधीराम र आमा कुमारी मिश्रका चार सन्तानमध्ये उनी कान्छा हुन् । पढाइमा सानैदेखिको अब्बल रहेका टेकेन्द्र पहाडी जिल्ला जन्मिएपनि उनी तराईमा हुर्किए । हल्दीवारी माविमा उनको शिक्षादीक्षा अगाडि बढ्यो ।
स्कुल जीवन त लाइफको सबैभन्दा रमाइलो समय भएको उनले सुनाए । ‘एकदमै केयर फ्री भनेर सम्झन्छु,’ उनी भन्छिन्, ‘कम उत्तरदायित्व, त्यतिबेला पढ्नुपर्ने एक मात्रै दायित्व हुन्थ्यो । अहिले सोच्दा त्यो लाइफको एउटा वेस्ट टाइम, वेस्ट मुमेन्टजस्तो लाग्छ ।’ एसएलसीमा विशिष्ट श्रेणीमा उत्तीर्ण गर्ने उनी झापा हल्दीवारीका एक्ला मेधावी विद्यार्थी थिए । वि.सं. २०६३ सालमा झापाको हल्दीवारी माविबाट ८४ प्रतिशत ल्याएर विशिष्ट श्रेणीमा उत्तिर्ण भएका हुन्, उनी ।
त्यसबेला हल्दीवारी माविबाट विशिष्ट श्रेणी ल्याउने उनी एक्ला थिए । विशिष्ट श्रेणीमा एसएलसी उत्तीर्ण गरेपछि उनले विद्यालयको नाम जिल्लाभरि चिनाइदिए । त्यसपछि उच्च शिक्षा पढन काठमाडौं आए । डिल्लीबजारस्थित रहेको एनआईसी कलेजबाट विज्ञान संकायमा प्लस टू उत्तीर्ण गरे । त्यसपछि उनी फार्मेसी पढ्न धरान आए । सन् २०१४ मा फार्मेसीको पढाइ सके । त्यसपछि उनले केही समय औषधी उद्योगमा काम गरे । क्वालिटी कन्ट्रोल अफिसर भएर एक वर्ष काम गरेपछि उनले शिक्षण पेशा रोजे ।
सानैदेखि शिक्षण पेशामा रुचि रहेको उनले सुनाए । त्यसपछि उनी झापाको दमकस्थित एचए, फार्मेसी पढाइ हुने कलेजमा अध्यापन गराउन थाले । करिब दुई वर्ष उनले त्यहाँ पढाए । अध्यापनसँगै लोकसेवाको तयारीमा पनि उनी जुटेका थिए । ‘पढाउँदा–पढाउँदै लोकसेवाको तयारी गरे । त्यही पढाएका कुराहरु लोकसेवामा आउने गथ्र्यो,’ उनले भने, ‘वि.सं. २०७२ सालमा धनकुटाबाट लोकसेवाको परीक्षा दिए । फार्मेसी सुपरभाइजर पाँचौ तहमा लिखितमा नाम निस्कियो ।’
तर, अन्तवार्तामा उनको नाम निस्किएन् । त्यसपछि फेरि अध्यापन कर्ममा फर्किए । लोकसेवाको एक पटक असफलताबाट हरेस खाएनन । त्यसपछि पुनः दोस्रो पटक वि.सं. २०७३ मा काठमाडौं आएर लोकसेवा दिए । लिखित र अन्र्तवार्ता दुवैमा एक नम्बरमा नाम निस्कियो ।
पहिलो पोस्टिङ सरुवा रोग अस्पताल
पहिलो नम्बरमा नाम निकाल्नेलाई सेवा गर्ने ठाउँ रोज्न पाइन्छ । त्यसैले उनले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल रोजे । पहिलो पोस्टिङ भएको अस्पतालमा उनले एक वर्ष तीन महिना सेवा गरे । सरुवा रोग अस्पतालमा सेवा गर्दागर्दै उनले अधिकृतका लागि लोकसेवा दिए ।
८ माघ २०७४ मा सातौं तहको अधिकृतमा नियुक्त भए । त्यसपछि सेवाकालीन तालिम सुरु भयो । सातौं सतहको पहिलो पोस्टिङ राष्ट्रिय औषधी प्रयोगशालामा भयो । करिब तीन वर्ष प्रयोगशालामा औषधीहरुको गुणस्तर चेकजाँच गर्ने काममा संलग्न रहे । यो राष्ट्रिय प्रयोगशाला औषधीको गुणस्तर मापन गर्ने नेपालको एक मात्र प्रयोगशाला हो ।
प्रयोगशालामा तीन वर्ष काम गरेपछि वि.सं. २०७७ सालमा औषधी व्यवस्था विभागमा सरुवा भयो । दुई वर्ष विभागमा काम गरेपछि ३० चैत २०७९ मा औषधी व्यवस्था विभाग विराटनगरमा निमित्त कार्यलय प्रमुखका रुपमा सरुवा भयो । अहिले उनी विराटनगरमा रहेर पूर्वी क्षेत्रको औषधी बजारको नियमनको जिम्मेवारी निभाइरहेका छन् । त्यसबाहेक १६ जिल्लाबाट आउने सेवाग्राहीको नवीकरण, दर्तालगायतका अन्य प्रशासनिक काम गर्नेुपर्ने दायित्व उनकै काँधमा छ ।
मिश्र ‘फर्मा आइडल’ पुस्तकका सह—लेखक पनि हुन् । उनले चार जना साथीहरुसँग मिलेर यो पुस्तक लेखेका हुन् ।
औषधीको अनुचित प्रयोग बढ्दैं
औषधी व्यवस्था विभाग विराटनगरको निमिक्त कार्यालय प्रमुख भएर एक वर्ष ६ महिनाको अवधिमा स्वास्थ्यको क्षेत्रमा थुप्रै काम गरेको उनले सुनाए । ‘औषधी ऐन कानुनले अधिकार धेरै दिएको छ । यो एकदमै पावरफूल ऐन हो,’ उनले भने । त्यसको कार्यन्वयनको पाटो
अलिक चुनौतीपूर्ण रहेको उनको अनुभव छ ।
प्रत्येक वर्ष औषधीको अनुचित प्रयोग गरी दुरुपयोग गर्नेको संख्या बढिरहेका कारण अदालतमा मुद्दा संख्या पनि बढ्दो क्रममा छन् । आर्थिक वर्ष २०७९/०८० मा औषधीको दुरुपयोग गर्ने विरुद्ध ४५ वटा मुद्दा अदालतमा दर्ता भएका छन् । यो संख्या प्रत्येक वर्ष बढ्दो क्रममा छ । चालु आर्थिक वर्षको कार्तिक १२ सम्म अदालतमा १८ वटा मुद्दा दर्ता भएका छन् ।
औषधी ऐन, २०३५ अनुसार औषधीको अनुचित प्रयोग गरेर बिक्री वितरण गर्नेलाई पाँच वर्षसम्म कैद सजाय र ५० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था रहेको छ । जुन जिल्लाबाट औषधीको अनुचित प्रयोग गरेको आरोपमा प्रतिवादी पक्राउ ग¥यो, त्यही जिल्लाको सम्बन्धित अदालतमा अभियोग लैजानुपर्ने हुन्छ । जसले गर्दा कम जनशक्ति भएको औषधी व्यवस्था विभागका लागि यो काम गर्न कठिनाइ हुने गरेको छ ।
अहिलेका युवापुस्तामा औषधीलाई लागु औषधका रुपमा प्रयोग गर्ने, अवैद्य रुपमा औषधी भित्र्याउने, खुल्ला सीमाको कारणले पनि औषधीको दुरुपयोग हुनेजस्ता समस्याहरु अहिले पूर्वमा छन् । विना दर्ताको औषधी भित्रिने, प्रतिबन्ध लगाएको औषधीको विक्री वितरण, लागूऔषध प्रयोगकर्ताले प्रयोग गर्ने ट्रामाडोललगायतका औषधीहरु एकदमै दुरुपयोग छ । कम जनशक्तिको बावजुद पनि आफूहरुले उक्त काम प्रभावकारी रुपमा गर्दै आएको उनले सुनाए ।
‘जिम्मेवारीबाट भाग्ने कुरा पनि भएन । भएको सीमित स्रोत साधन र जनशक्तिले औषधीको दुरुपयोगको रोकथाम र नियन्त्रणमा लागि परेका छौं । औषधीको अनुचित प्रयोग र रोकथाम र नियन्त्रणमा सबैको साथ सहयोगको खाचो रहेको छ,’ उनले भने, ‘यो रोक्न सबै स्टेक होल्डरहरु लागि परेमात्र यसको समस्या सावधान हुन्छ ।’ वडा तह र स्कुलदेखि नै सचेतना कामहरु गर्न सकेमा मात्रै औषधीको दुरुपयोग रोक्न सकिने उनले बताए ।